Skip to content

टेलिकमको प्रबन्ध निर्देशक सिए बुद्धीप्रसाद आचार्य अर्को विवादमा : एडीएसएस नेटवर्क टेण्डरमा चलखेल

काठमाडौं–नेपाल टेलिकमले आह्वान गरेको एडीएसएस नेटवर्क सम्वन्धी टेण्डरको पारदर्शितामाथि प्रश्न उठेको छ । टेलिकमकै प्रबन्ध निर्देशक सिए बुद्धिप्रसाद आचार्य र कर्मचारी अशोक थापाले बढी रकम बोलकबोल गर्नेलाई ठेक्का दिन लागेको आरोप लागेपछि पारदर्शितामाथि प्रश्न उठेको हो ।
प्रबन्ध निर्देशक आचार्य र थापासहित अन्य केही कर्मचारीको मिलेमतोमा बढी रकम कबोल गर्नेलाई ठेक्का दिलाउने काम भैरहेको टेलिकमको उच्च स्रोतले बतायो । स्रोतले यस्तो खेलमा करोडौं रकमको चलखेल हुने दावी गरेको छ ।
हरेक ठेक्कामा आव्हान गरेको सर्तअनुसार सबैभन्दा कम रकम बोलकबोल गर्ने कम्पनीलाई ठेक्का दिनुपर्ने व्यवस्था हुन्छ । तर, टेलिकमको जागिरवाट बिदा हुन लागेका आचार्यले जाँदाजाँदै आफू मातहतका कर्मचारीसमेतलाई हातमा लिएर बढी कबोल गर्ने कम्पनीलाई यो ठेक्का दिन लागेका हुन् ।
टेलिकमले केही समयअघि आव्हान गरेको ‘एनडीसीएल ११/०७२–०७३’ नम्वरको टेण्डरमा सबै प्रक्रिया पुरा गरेका कम्पनीलाई पन्छाएर पारदर्शितामाथि प्रश्न उठने गरी कम्पनी छनोट गर्ने अन्तिम तयारी भएको स्रोतको दाबी छ । अख्तियार समेत आफ्नो पक्षमा रहेको हबला दिँदै आचार्यले टेण्डर पर्ने कम्पनीबाट ‘एडभान्स’ लाभ प्राप्त गरिसकेको टेलिकमकै उच्च स्रोतको दावी छ ।
टेण्डर आव्हान गर्नुपूर्व नै अहिले टेण्डर पर्नसक्ने कम्पनीको क्षमता अनुसारको मापदण्ड बनाइएको र अन्य कम्पनी सो मापदण्डमा नपरुन भन्ने योजना बनाइएको दावी पनि स्रोतले गरेको छ । आचार्य र थापा यसअघि पनि विभिन्न कामका विवादमा तानएका पात्र हुन् ।
पूर्वयोजना अनुसार रकम लेनदेन गरि आफू मातहतको कम्पनीलाई ठेक्का दिने तयारी भएको कर्मचारी स्रोत बताउँछ । ‘टेलिकमलाई कमाउ धन्दाको अखडा भ्रष्ट कर्मचारीले हरेक गतिविधीमा सिन्डिकेट ढंगले काम गर्ने गरेका छन् ।’ एक सिनियर अफिसरले भने ।
टेलिकमले जम्मा एक हजार एक सय किमि एडीएसएस केवल सप्लाइका लागि आव्हान गरेको यो टेण्डरमा छनोट हुने कम्पनीले पाँच वर्षभित्र २५ हजार किलो मिटर एडीएसएस केवल सप्लाइ गरिसकेको हुनुपर्ने र ग्राहकवाट युजर सर्टिफिकेट लिएको हुनुपर्ने प्रावधान राखिएको छ ।
यो केवल सप्लाइका लागि यस्तो प्रावधान नै आवश्यक नपर्ने र सप्लाई गरेका कम्पनीले पनि ग्राहकवाट सर्टिफिकेट बनाउन सम्भव नरहेको स्रोतको दावी छ ।
आर्थिक लाभका आधारमा आफूले रुचाएको कम्पनीलाई टेण्डर दिने पूर्वनिर्धारित योजनाकै कारण यस्तो प्रावधान बनाइएको स्रोतको दावी छ । यो टेन्डरमा भारत र चीनका ९ वटा कम्पनीले सहभागिता जनाएका छन् । दुई भारतीय र सात चिनियाँ कम्पनी कम्पनी टेण्डर प्रक्रियामा छन् ।
प्रवन्ध निर्देशक बुद्धिप्रसाद आचार्यको प्रतिक्रिया आउन बाँकी छ । उनको प्रतिक्रिया लिने कोसिस जारी छ ।

  • रातोपाटी 

प्रतिक्रिया दिनुहोस्