
मुलुकभर अहिले निर्वाचनको माहोल बनेको छ । हरेक ठाउँमा चुनावको चर्चा छ । मानिसले सबै कुरालाई चुनावसँग जोडेर हेर्न थालेका छन् । जस्तो कि, सडक पिच गर्ने, ढल निकास गर्ने, गाउँमा अस्पताल बनाउने, टोलमा खानेपानी पुर्याउने वा आमाको हराएको नागरिकताको प्रतिलिपि निकाल्ने कुरासम्म चुनावलाई जोडेर हेर्न थालिएको छ । सरकारले बजेट ल्याउने कि नल्याउने, ल्याएमा कस्तो र कत्रोसम्म पाउने, बजेटको कार्यान्वयन कसरी गर्नेजस्ता तर्क निर्वाचन अभियान चलिरहँदा बहसका ‘हटकेक’ विषय बनेका छन् । निर्वाचनलाई जोडेर बहस गरिने अर्को विषय भनेको सेयर बजार हो । चुनावपछि सेयर बजारले कुन बाटो समात्ला वा सेयर बजारलाई निर्वाचनले कस्तो फरक पार्ला ? निर्वाचन र सेयर बजारबीच कस्तो सम्बन्ध हुन्छ ? यस्तै विषयमा नेपाल इन्भेष्टमेन्ट बैंकको सहायक कम्पनी एनआइबिएल क्यापिटलका महाप्रबन्धक मेखबहादुर थापाले यसरी बताए:मेखबहादुर थापा महाप्रबन्धक, एनआइबिएल क्यापिटल
निर्वाचनको सकारात्मक प्रभाव
स्थानीय तहको निर्वाचनले सेयर बजारमा सकारात्मक प्रभाव पर्नुपर्ने हो । यसले मानिससँग भएको पैसालाई औपचारिक वित्तीय प्रणालीमा ल्याउन सहयोग गर्छ । त्यस्तै, सरकारी खर्च बढाउन पनि सहयोग गर्छ । आर्थिक वर्षको अन्त्य पनि नजिकिँदै गएकाले सरकारी खर्च बढाउन दबाब सिर्जना हुन्छ । यसले पनि वित्तीय प्रणालीमा पैसा बढ्न जाने र त्यसको प्रभाव सेयर बजारमा पर्न सक्ने देखिन्छ । वित्तीय प्रणालीमा पैसा बढी भयो भने बैंकको ब्याजदर केही घट्न सक्छ । केही समयअघिको तुलनामा अहिले नै ब्याजदर घट्न थालिसकेको छ । ब्याजदर घटेपछि सेयर बजारमा पनि लगानीकर्ताको आकर्षण बढ्न पुग्छ । त्यसले मागको चाप बढाउने र सेयर बजार उकालो लाग्न सहयोगी भूमिका खेल्न सक्छ ।
दोस्रो चरणको निर्वाचनबारे सन्देह
दोस्रो चरणको निर्वाचन हुने कि नहुने भन्ने स्पष्ट भइसकेको छैन । यहीबीचमा सरकार परिवर्तनको विषयले लगानीकर्तालाई अझै सन्देह बढाइदिएको छ । संविधान संशोधन गर्ने कुरा पनि सँगसँगै उठिरहेको छ । यस्ता राजनीतिक मुद्दाको स्पष्ट टुंगो लाग्न बाँकी रहुन्जेलसम्म सेयर बजार पर्ख र हेरकै अवस्थामा बस्छ कि जस्तो देखिन्छ । त्यसकारण अरू सबै कुरा सहज भए पनि राजनीतिक वातावरण सुधार नभएसम्म मानिसको मनोबल धेरै बढ्न सक्दैन । त्यसको मतलब ठूलो आकारमा बजार बढिहाल्न अहिलेको परिस्थितिले सहयोग नगर्न सक्छ । तथापि, बजार अहिलेको बिन्दुबाट घट्ने सम्भावना पनि देखिन्न । केही समय अहिलेकै अवस्थामा सामान्य उतारचढाव भइरहने देखिन्छ ।
चुनाव भए बजार बढ्छ
दोस्रो चरणको निर्वाचन पनि अहिलेजस्तै सहज अवस्थामा भयो भने केही हदसम्म बजार बढाउने अनुमान गर्न सकिन्छ । कति माथि जान्छ, अहिले नै आँकलन गर्न सकिन्न । अहिले सेयर बजारका धेरैजसो आधार सकारात्मक नै देखिन्छन् । त्यसमा राजनीतिक वातावरण सुधारियो भने पक्कै पनि बजारलाई उकालो लाग्न सहयोग गर्छ भन्न सकिन्छ । यदि दोस्रो चरणको निर्वाचन भएन र अन्योल बढ्न थाल्यो भने त्यसवेला उल्टो प्रभाव पर्न सक्छ । ‘अन्योल नै जोखिम हो’ भन्ने गरिन्छ । राजनीतिक अन्योलले जोखिम बढ्ने सम्भावना देखियो भने अहिलेको अवस्थामा पनि बजार कायम रहन सक्दैन । सेयर बजारमा अर्को ओरालो यात्रा सुरु हुन्छ ।
निर्वाचन र सेयर बजारको सम्बन्ध
निर्वाचनले राजनीतिक स्थायित्व दिन्छ । निर्वाचन भएमा र अहिलेको राजनीतिक अस्थिरता कायम रहेन भने अझ बढ्न सक्छ । त्यसकारण निर्वाचन र सेयर बजारबीचको सम्बन्ध स्थापित भएको हो । यसको मतलब सेयर बजारको सम्बन्ध सीधा निर्वाचनसँग नभई राजनीतिक स्थायित्वको प्रश्नमा आधारित रहन्छ । निर्वाचन नभए पनि राजनीतिक अस्थिरता हुन्न थियो भने अहिलेजस्तो सेयर बजारमा निर्वाचनको ठूलो प्रभाव पनि हुन्न थियो । तर, नेपालमा राजनीतिक अन्योल छ । विकसित मुलुकका राजनीतिक घटनाक्रमले सेयर बजारलाई प्रत्यक्ष रूपमा ठूलो प्र्रभाव नपार्नुको मूल कारण नै राजनीतिक स्थायित्व हो । राजनीतिक स्थायित्व नभएका ठाउँमा पनि आर्थिक नीतिको तर्जुमा गरिएको छ र सबै सरकारले त्यही आर्थिक नीतिको खाकाभित्र बसेर काम गर्ने गर्छन् । तर, हाम्रो देशमा कोही पनि मान्छे चुपचाप बस्न सक्दैनन् । यसले भोलिको दिनमा बन्द–हडताल होला, अन्य राजनीतिक दुर्घटना हुन सक्लान् । त्यस्ता क्रियाकलापले सेयर बजारलाई असर पार्छ ।
लगानीकर्ताको मनोबल
बजार सधैँ आधारभूत पक्षलाई हेरेर चल्दैन । लगानीकर्ता पनि तपाईं–हामीजस्तै मान्छे हुन् । मान्छेको मनोबललाई धेरै कुराले प्रभावित पार्छ । त्यसकारण मनोबल बढ्ने र घट्ने भइरहन्छ । लगानीकर्ताको मनोबल कमजोर पार्ने थुप्रै कुुरामध्ये राजनीतिक वातावरण पनि एउटा हो । लगानीकर्ताको मनोबलमा हुने फेरबदलले सेयर बजारमा अल्पकालीन उतारचढावको सिर्जना गराउँछ । दीर्घकालमा यसको प्रभाव कम हुन सक्छ ।
बजारको परिदृश्य
सामान्यतया हामीले बजारको अल्पकालीन परिदृश्यलाई नै हेर्नुपर्छ । अहिलेको अवस्थामा लगानीकर्ताले अल्पकालीन परिदृश्यलाई नै बढी ख्याल गरिरहेको हुन सक्छ । राजनीतिक संक्रमण वा अनिश्चयको समयमा अधिकांश लगानीकर्ताले बजारमा अल्पकालीन कारोबार बढाउँछन् । दोस्रो चरणको निर्वाचन सकिएपछि दीर्घकालीन रूपमा पनि सोचविचार गर्ने अवस्था बन्न सक्छ । त्यसपछि पनि प्रदेश निर्वाचन, संघीय निर्वाचनजस्ता कुराले बजारमा नयाँ मुभमेन्ट आई नै रहन्छन् ।
स्थायित्व कहिले ?
मुलुकमा समग्र राजनीतिक र आर्थिक स्थायित्व नभएको अवस्थामा सेयर बजारको स्थायित्व खोज्न सकिन्न । बरु, यसमा लगानीकर्ताले सुरक्षा उपायको कत्तिको प्रयोग गर्न सक्छन् र बजारबाट कति धेरै लाभ प्राप्त गर्न सक्छन् भन्ने महत्वपूर्ण हुन्छ । किन्ने र बेच्ने समय कसरी छिनोट गर्न सक्छ र उतारचढावबाट कसरी फाइदा लिन सक्छ भन्ने सम्बन्धित लगानीकर्तामा निर्भर रहन्छ । तर, बजारमा उतारचढाव जहिले पनि कायम नै रहन्छ । तत्काल बजारमा स्थायित्वको संकेत मिलेको छैन । किनकि, अहिले पनि कुनै वेला अत्यन्त आशावादी र कुनै वेला अत्यन्त निराशावादी घटनाक्रम निरन्तर दोहोरिइरहेको अवस्था छ । यसले बजारलाई निरन्तर प्रभाव पारिरहन्छ ।
जोखिम घटाउने उपकरण छैन
विकसित वा राजनीतिक स्थायित्व भएका मुलुकमा जस्तो सेयर बजारको जोखिम घटाउन नेपालमा पर्याप्त उपकरण छैनन् । जस्तो कि, नेपालमा ‘फ्युचर्स मार्केट’, ‘अरू डेरिभेटिभ्स’ हुन्थ्यो भने ‘हेजिङ’ गर्न मिल्थ्यो । छोटो वा लामो समयको पोजिसनमा बसेर आफ्नो जोखिम घटाउन सकिन्थ्यो । तर, नेपालमा त्यस्ता उपकरण उपलब्ध छैनन् । त्यसले हाम्रो बजारमा जोखिम पनि बढी छ र प्रतिफल पनि बढी छ । त्यसलाई घटाउने विकल्प छैनन् । लगानीकर्ताले जोखिम व्यवस्थापन गर्न सके भने कमाउँछन्, सकेनन् भने गुमाउँछन् । प्राविधिक पक्षभन्दा लगानीकर्ताको मनोबल आँकलन गर्ने र परिस्थितिको सही मूल्यांकन गर्न सक्ने लगानीकर्ताले अहिलेको बजारबाट बढी लाभ लिन सक्ने अवस्था छ ।
प्रतिक्रिया दिनुहोस्