Skip to content

बैंकर र सीएलाई बिमामा जान सजिलो, कार्यकारी प्रमुखको तलब सीमा पनि बढाइयो

काठमाडौँ – बैंक तथा वित्तीय संस्थाका अनुभवी उच्च तहका व्यक्तिहरूलाई बिमा कम्पनीमा काम गर्न जान सजिलो भएको छ । बिमा कम्पनीहरूको उच्च व्यवस्थापनमा योग्य र सक्षम व्यक्तिहरू काम गर्न आऊन् भन्ने उद्देश्यले बिमा समितिले संस्थागत सुशासनसम्बन्धी निर्देशिका परिमार्जन गर्दै यस्तो व्यवस्था गरेको हो । बिमा समितिले ‘संस्थागत निर्देशिकासम्बन्धी निर्देशिका ०७३’ मा उक्त व्यवस्था गरेको छ । समितिले यही भदौ १ गतेदेखि लागू हुने गरी उक्त निर्देशिका कार्यान्वयनमा ल्याएको छ ।
नयाँ व्यवस्थाअनुसार बिमा, व्यवस्थापन, लेखा, वित्त, अर्थशास्त्र, वाणिज्यशास्त्र, कानुन, गणित, तथ्यांकशास्त्र वा इन्जिनियरिङ विषयमा स्नाकोत्तर उपाधि हासिल गरेको र बिमा क्षेत्रमा कम्तीमा पाँच वर्षको अनुभव भएको व्यक्ति प्रमुख कार्यकारी अधिकृत (सीईओ) बन्न योग्य हुने छ । यसअघि उक्त पदका लागि स्नाकोत्तर गरेर बिमा क्षेत्रमा कम्तीमा १० वर्षको अनुभव भएको व्यक्ति हुनुपर्ने व्यवस्था थियो ।
यसैगरी बैंक तथा वित्तीय क्षेत्रमा कम्तीमा ८ वर्षको अनुभव भएका व्यक्ति पनि अब बिमा कम्पनीमा सीईओ बन्न पाउने छन् । तर, बैंक तथा वित्तीय संस्था र बिमा गरी दुवैमा काम गरेको व्यक्ति भएरमा न्यूनतम ७ वर्ष अनुभव भएका व्यक्ति पनि सीईओका लागि योग्य हुने छन् । यस्तो अवस्थामा उक्त व्यक्तिसँग बिमा कम्पनीमा उच्च व्यवस्थापनमा रहेर कम्तीमा एक वर्ष काम गरेको अनुभव हुनुपर्ने छ । यस्तै चार्टर्ड एकाउन्टेन्टलाई पनि बिमा कम्पनीमा सीईओ बन्न बाटो खुला गरिएको छ । ‘स्नातक उत्तीर्ण चार्टर्डले एकाउन्टेन्सी वा सोसरह योग्यता भएको व्यक्ति पनि तोकिएको अन्य मापदण्ड पूरा भएको अवस्थामा सीईओ बन्न योग्य हुनेछन्,’ निर्देशिकामा उल्लेख छ ।
बिमा कम्पनीहरूको उच्च व्यवस्थापनमा राम्रा र दक्ष व्यक्तिको अभाव भएकाले त्यो समस्या समाधानका लागि संस्थागत सुशासनसम्बन्धी निर्देशिकामा केही लचिलो व्यवस्था गरिएको बिमा समितिका अध्यक्ष फत्तबहादुर केसीले बताए । ‘खासगरी बैंक तथा वित्तीय संस्थाका उच्च तहका व्यक्तिहरूलाई बिमा क्षेत्रमा आकर्षित गर्न खोजेका हौं,’ उनले भने, ‘यसले बिमा कम्पनीको उच्च व्यवस्थापनमा योग्य र सक्षम जनशक्ति आपूर्ति गर्न मद्दत पुग्ने छ ।’ यस्तै अब बिमा कम्पनीमा सञ्चालक बन्नका लागि कम्तीमा स्नातक सम्मको अध्ययन अनिवार्य गरिएको छ । यसअघि सञ्चालकहरूका लागि न्यूनतम योग्यता तोकिएको थिएन । कम्पनीहरूको संस्थागत सुशासनका सुधार ल्याउने उद्देश्यले सञ्चालक योग्यता तोकिएको समितिले जनाएको छ ।
यस्तै कार्यकारी प्रमुखको तलब सीमा पनि बढाइएको छ । नयाँ व्यवस्थाअनुसार बिमा कम्पनीका सीईओले तल्लो तहको कर्मचारीको भन्दा २५ गुणा बढीसम्म तलब लिन पाउने छन् । तर, त्यसका लागि सीइओमा विशेष किसिमको दक्षता/क्षमता हुनुपर्ने छ । यसअघिको व्यवस्थाअनुसार सीईओले तल्लो तहको कर्मचारीको तबलभन्दा बढीमा १५ गुणासम्म मात्र सुविधा लिन पाउँथे ।
  • कान्तिपुर दैनिकबाट 

प्रतिक्रिया दिनुहोस्