- सिए सरोकार सम्बाददाता
काठमाडौँ । सामाजिक संजालमा कुनै पनि सिए फर्मले फेसबुक पेज खोल्न नपाउने बाध्यकारी व्यवस्था हुँदा हुँदै पनि सिए फर्महरुले त्यसलाई अटेरी गरेको पाइएको छ । आइक्यानले जारी गरेको, ‘GUIDELINES ON MARKETING PROFESSIONAL SERVICES BY PROFESSIONAL ACCOUNTANTS IN PUBLIC PRACTICE’ अन्तर्गतको गाइडलाइन्समा स्पष्ट यससम्बन्धि व्यवस्था हुँदा हुँदै पनि विभिन्न सिए फर्महरुले आइक्यानको यो व्यवस्थालाई अटेर गर्दै आफुखुसी गरेको पाइएको छ । यसले एकातर्फ आइक्यानको नियमको धज्जी उडेको छ भने अर्कोतर्फ आइक्यानको नियम नै नमान्ने सिए फर्महरुलाई पनि किन कारवाही हुँदैन भन्ने प्रश्न उठेको छ ।
अधिकांसलाई थाहै छैन, कोहि थाहा पाएर पनि टेर्दैनन
यसो त आइक्यानले यस्तो पनि नियम बनाएको छ भनेर धेरैलाई थाहा नै छैन । ‘तपाईंले फर्मका नाममा फेसबुक पेज खोल्नुभएको रहेछ, यो काम त आइक्यानले बर्जित गरेको छ नि ?’ भन्ने हाम्रो प्रश्नमा एक सिए भन्छन्, ‘लौ ! त्यस्तो पनि नियम छ र ?’ हामीले नियमबारे जानकारी दिएपछी उनले भने, ‘यो गाइडलाइन्स आइक्यानको वेव साइटमा कतै भेटिन । म अहिले नै मेरो पेज अनपब्लिश गर्छु ।’ यता कतिपय सिएहरुले भने यसबारे थाहा पाएर पनि अटेरी गरिरहेका छन् । ‘अरुले पनि गरेका छन् भनेर उनीहरुले आइक्यानको नियमको अटेरी गरिरहेका छन् ।
‘आइक्यानको गाइडलाइन्स, कि परिवर्तन गरौँ, कि मानौं’
यसो त २१औं शताब्दीको यो युगमा र त्यसमा पनि सामाजिक संजालको यो युगमा फेसबुक पेज खोल्दा केहि नबिग्रिने तर्क कतिपय सिएहरुको छ । ‘तर कानुन आखिर कानुन हो । त्यसलाई कि परिवर्तन गर्नुपर्छ, कि मान्नुपर्छ ।’ भन्ने सर्वमान्य सिद्धान्तले आजको मितिमा विभिन्न सिए फर्महरुले गरेको काम गलत हो र त्यसउपर सजाय हुनुपर्छ भन्ने कुरामा कुनै दुईमत छैन । आवश्यकता र समयअनुसार यस्ता गाइडलाइन्सहरु परिवर्तन हुनुपर्छ भन्ने कुरामा आ-आफ्ना तर्क र बहस होलान्, तर नियमनकारी निकायले जारी गरेको गाइडलाइन्स नै मान्दिन भन्नुचाहिं पक्कै पनि गलत हुने जानकारहरुको तर्क छ ।
प्रतिक्रिया दिनुहोस्