Skip to content

कोभिड महामारी कम भएपछि सार्वजनिक कार्यक्रममा आइक्यानको सक्रियता, ‘२५औँ बर्षगाँठमा दर्जनौं कार्यक्रम…’

काठमाडौँ । कोभिड महामारी कम भएपछी नेपाली लेखाव्यवसायीहरुको नियमनकारी निकाय नेपाल चार्टर्ड एकाउन्टेन्टस संस्था (आइक्यान) सार्वजनिक कार्यक्रममा सक्रिय भएको छ । कोभिड महामारीका कारण २५औँ एनिभर्सरीको अवसरमा आयोजना हुने भनिएका पूर्व निर्धारित कार्यक्रमहरु प्रभावित भएपछि महामारी कम भएसँगै आइक्यान पुन: सक्रिय भएको हो ।
यसैबीच आइक्यानले ठाउँठाउँमा विभिन्न कार्यक्रमहरुको आयोजना गरेको छ । संस्थाको भूमिका तथा गतिविधिबारे संस्थाले देशभर विभिन्न खालका अन्तरक्रियाहरु गरिरहेको छ भने प्रदेश तथा स्थानीय तहमा सार्वजनिक वित्तीय व्यवस्थापनका आयामहरुबारे दुई ठाउँमा कार्यशाला गोष्ठीसमेत सम्पन्न गरेको छ । स्थानीय तहमा देखिएका विभिन्नखाले वित्तीय व्यवस्थापनका चुनौती र त्यसमा समाधानका विषयमा आइक्यानको आयोजनामा पोखरा र बिराटनगरमा भव्य कार्यक्रम सम्पन्न भएको छ ।
यस्तै आइक्यानले २५ औँ बर्षको अवसरमा यस्तै कार्यक्रम अन्य प्रदेशमा पनि आयोजना गर्ने भएको छ । ‘छिट्टै अन्य ठाउँमा पनि यो खाले कार्यक्रम पनि गर्दैछौँ । हाम्रो रजतोत्सवको अवसरमा अन्य कार्यक्रमहरु पनि संचालनको तयारीमा छौं ।’ आइक्यान अध्यक्ष सिए युद्धराज ओलीले भने- ‘कोरोना महामारीका कारण भनेको जसरी, भनेको समयमा कार्यक्रमहरु गर्न नपाएपनि हामी पुन: सक्रिय भएका छौँ ।’
यस्तै आइक्यान अध्यक्ष ओलीका अनुसार २५ औँ बर्षगाँठको अवसरमा आइक्यानले यसपटकको ‘कन्भोकेसन’ पनि भव्य रुपमा मनाउने भएको छ । कोरोना महामारीकै कारण केहि समय अगाडी गर्ने भनिएको आइक्यानको कन्भोकेसन रोकिएको थियो । त्यस्तै लेखाव्यवसायीहरुको सम्मेलन, विभिन्न सरोकारवालाहरुकोसँगको अन्तरक्रिया लगायतका कामको तयारीमा पनि आइक्यान सक्रिय भएर लागेको देखिएको छ । 
आइक्यानले यसपटक २५औँ एनिभर्सरी मनाउँदैछ । संस्थाको रजत उत्सव बर्ष भएकाले पनि आइक्यानले यो बर्षलाई विशेष कार्यक्रम गरी मनाउँदैछ ।

प्रतिक्रिया दिनुहोस्