Skip to content

अन्तत: ४ दिन लगाएर हुने भयो आइक्यानको चुनाव, तर सीडीओ भन्छन्-‘भीडभाड भए ठाउँको ठाउँ चुनाव रोक्छु…’

  • सिए सरोकार सम्बाददाता
काठमाडौँ । कोरोना महामारीका बीच गरिएको आंशिक निषेधाज्ञाकैबीच आइक्यानको चुनाव हुने भएको छ । झन्डै ७ हजारको संख्यामा दर्तावाल लेखापरिक्षक र झन्डै २ हजारको हाराहारीमा रहेका चार्टड एकाउन्टेन्टहरुमध्ये झन्डै २ हजार दर्तावाल लेखापरिक्षक र झन्डै ११ सय सिएहरु सो चुनावमा भौतिक रुपमा उपस्थित हुने भएका छन् । बाँकी भोट पोष्टलमार्फत आइसकेका छन् ।
४ दिनसम्म जम्मा भएर चुनाव गर्ने गरी आउँदो शुक्रबार, शनिबार, आइतबार र सोमबार चुनाव हुने भएको हो । आइक्यानले दिएको जानकारी अनुसार आउँदो शुक्रबार र शनिबार दर्तावाल लेखापरिक्षकहरुको चुनाव हुनेछ भने आउँदो शनिबार र आइतबार सिएहरुको चुनाव हुनेछ । आइक्यानका अनुसार यसका लागि जिल्ला प्रशासन कार्यालयले अनुमति दिइसकेको छ । एक पटकमा २५ जना सहभागी हुने र ४ वटा बुथ राखी चुनाव हुने भनिएको छ ।आइक्यानले अनावश्यक भीडभाड नगर्ने र सबै मतदाताले डबल डोज खोप लगाईसकेको उल्लेख गर्दै जिल्ला प्रशासन कार्यालयसँग अनुमति लिएको छ । जवकि सबै मतदाताहरुले डबल डोज खोप लगाईसकेको कुरा भने सत्य होइन । चुनाव आइक्यान परिसरमै हुनेछ । स्वास्थ्य मापदण्ड पालना गर्नका लागि आइक्यानले सुरक्षा स्थिति पनि कडा पार्ने तयारी गरेको छ ।
मापदण्डको पालना होला ?
चुनाव गर्नैपर्ने भएकाले अनुमति लिन आइक्यानले जिल्ला प्रशासन कार्यालयमा २ पेज लामो निवेदन दिएको छ। जसमा चुनावमा भीडभाड नहुने, भौतिक दुरी कायम गरिने जस्ता कुराहरु उल्लेख गरिएका छन्। तर व्यवहारिक रुपमा चुनावमा यो सम्भव नभएको धेरैको तर्क छ । एक पटकमा २५ जना सहभागी गराएर आधा घण्टाको ब्रेक गर्नेगरी अनुमति लिइएको छ। तर भोट हाल्न गएका मान्छे गफमै रमाउने र वरपरका ठाउँहरुमा अत्याधिक भीड हुने सम्भावना बढेको छ । कोरोना महामारीकै बेलामा कुनै प्रशासनले यति धेरैमान्छे जम्मा हुनेगरी अनुमति नै दिएको यो पहिलोपटक हो ।
भीडभाड गरे भने ठाउँको ठाउँ चुनाव रोक्छु : ललितपुरका सीडीओ
यता ललितरका प्रमुख जिल्ला अधिकारी ढुण्डी प्रसाद निरौलाले आफुले चुनाव गर्न अनुमति दिएको स्वीकारेका छन् । तर उनले ६ दिन लगाएर चुनाव हुने भनिएको र सोहि अनुसार अनुमति दिएको बताएका छन् । तर चुनाव हुने भनेको ४ दिन हो। र २ दिनको समय मतगणनाका लागि छुट्याईएको हो । ‘भीडभाड भयो, र कोरोना संक्रमण भयो भने त्यसको जिम्मा कसले लिन्छ ?’ हाम्रो प्रश्नमा प्रजिअ निरौलाले भने, ‘भीडभाड भए तत्काल चुनाव रोक्न लगाउँछु । पढेलेखेका चार्टड एकाउन्टेन्टहरुको चुनाव उहाँहरुले सबै नीति नियममा बाँधिएर नै गर्नुहुन्छ भन्ने छ । तलमाथि भए प्रशासनले एक्सन लिन्छ ।’

प्रतिक्रिया दिनुहोस्