Skip to content

‘टिके काउन्सिल’ खडा गर्ने ‘दुष्प्रयास’को यसरी भयो ‘च्याप्टर क्लोज’ ! अन्तत: हुने भयो आइक्यानको चुनाव !

  • सिए सरोकार सम्बाददाता
काठमाडौँ । सिएहरुको मतदानको अधिकारलाई खोसेर सर्वसहमतिका नाममा चुनाव नगर्ने र आफ्ना मान्छेहरुलाई जवर्जस्ती काउन्सिलको सदस्य बनाउने ८ पूर्व अध्यक्षहरुको सपना चकनाचुर भएको छ । यसअघि १६ जना उम्मेदवारहरुले ८ पूर्व अध्यक्षहरुले गरेको निर्णय मान्ने प्रतिबद्धता जनाएपनि १६ सिएहरुले सो प्रतिबद्धता पत्रमा हस्ताक्षर गरिसकेपछि ८ पूर्वअध्यक्ष मध्येका केहिले अनेक बखेडा झिक्ने, आफ्ना उम्मेदवारहरु जसरी पनि पार्नुपर्ने लगायतका अडान लिने गरी पूर्व निर्धारित प्रतिबद्धताहरुमा अनेक ‘क्राइटेरिया’ थप्न थालेपछि अन्तत: उम्मेदवारहरु बिच्किए र परिणामस्वरूप सिएहरुले चुनावमै जाने निर्णय गरेका हुन् । मंगलबार आइक्यानमा बसेको उम्मेदवार र पूर्व अध्यक्षहरुको बैठकमा सहमतिमा जाउँ भन्नेहरुको संख्या कम भएपछी अन्तत: चुनावको बाटो रोजिएको हो ।
आइक्यानमा मंगबारको बैठकमा के भयो ?
उम्मेदवारहरुमाथि पूर्व निर्धारित प्रतिबद्धताविपरित गएर धोका भएको भन्दै चुनावमै जान केहि सिएहरुले सुझाएका थिए । उम्मेदवारहरुसहित पूर्वअध्यक्षहरुको बैठकमा यस्तो कुरा निस्किएपछी आइक्यानका पूर्वअध्यक्ष टंक पनेरु र नरेन्द्र भट्टराईले को को चुनावमा जाने, को को सहमतिमा जाने भनेर सोधेका थिए । उक्त बैठकमा हालका उपाध्यक्ष युद्धराज ओली (जोसंग उपाध्यक्ष भएकै कारण सहमति नगरौं, चुनावमा जाउँ भन्ने नैतिक आधार थिएन) सतिश चन्द्र लाल (जसले चुनाव जित्ने सम्भावना नगन्य छ), सन्तोष काफ्ले (चुनावी अभ्यासमा नयाँ छन्, के गर्ने के नगर्ने नै थाहा छैन) र राम चन्द्र खनाल (जोचाहिं सहमति भएपनि काउन्सिलमा पुग्थे, चुनाव भएपनि जित्ने पक्कापक्की छ)  मात्र सहमतिमा जान तयार भएका थिए भने जय नारायण प्रतिहस्तसहितका केहि सिएहरुले चुनावमा गए पनि हुन्छ, सहमति गरेपनि हुन्छ भनेका थिए । यसरी चुनावमा गए पनि हुन्छ, सहमति गरेपनि हुन्छ भन्नेमध्ये धेरैचाहिं लगभग हारिन्छ भन्ने सोच बोकेर बसेकाहरु थिए । बाँकीले भने चुनावमै जानुपर्ने बताएका थिए । चुनावमै जानुपर्छ भन्नेहरुमध्ये धेरै चुनाव जित्ने सम्भावना अधिक भएकाहरु नै थिए । सो बैठकमा केहि उम्मेदवार र केहि पूर्व अध्यक्षहरुसमेत उपस्थित थिएनन् ।
‘एक त स्थिति सहज भएको छ । अर्कोतर्फ सहमतिका नाममा सबै पूर्वअध्यक्षहरुका आ-आफ्नै उम्मेदवारहरु देखिए । हामीले जुन विश्वास पूर्व अध्यक्षहरुलाई गरेर प्रतिबद्धता पत्रमा हस्ताक्षर गरेका थियौं, नतिजा त्यसको विपरित आउने भयो । त्यसपछि हामीले चुनावमै जाने निर्णय गर्यौं । सिधा भन्दा ८ जना पूर्व अध्यक्षहरुमध्ये कोहि पनि इमान्दार देखिनुभएन ।’ एक उम्मेदवारले सिए सरोकारसँग भने, ‘त्यसमाथि सिए सरोकारले दिएको ‘टिके काउन्सिल’को उपमा साच्चै सार्थक हुने देखियो । सहमति गर्ने भन्दा पनि टिका लगाएर नै पठाउने गरी काम भयो । त्यसमाथि टिकेको उपनाम लिएर बदनाम हुनुभन्दा त चुनावमै गएर बरु हार्न ठिक ठानियो ।’
बैठकमा उपस्थित एक अर्का उम्मेदवारहरुले पनि पूर्वअध्यक्षहरुले नै अनेक बहानाबाजी गरेर आफ्ना मान्छे काउन्सिल सदस्य बनाउने र आफुहरुलाई रोक्न खोजेपछि आफुहरुले पनि पूर्वनिर्धारित प्रतिबद्धता नमानेको दाबी गरेका छन् । ‘जसको १० भोट पनि आउंदैन, उसलाई सिनियर भनेर काउन्सिल सदस्य बनाउने अनि हामी चुनाव लगभग जित्ने पक्कापक्की भएकाहरुलाई बाहिर राख्नेगरी काम भयो । जनमतको खिल्ली उडाउने काम मेरा शुभचिन्तक र भोटरमाथि पनि अन्याय हो भनेर मैलेचाहिं चुनाव मै जाने भनिदिएँ ।’ उनले भने । ‘अनि आफैंले हस्ताक्षर गरेको कुरा अहिले आएर मान्दिन भन्दा इथिकल भयो त ?’ हाम्रो प्रश्नमा ती सिएले भने, ‘अनि पहिला सहमति गरौँ भन्ने पछी आफ्ना मान्छेमात्र काउन्सिलमा लैजाउँ भन्ने केहि पूर्वअध्यक्षहरुको कामचाहिं इथिकल भयो त ?’

अव चुनाव कहिले हुन्छ ? कसरी हुन्छ ?
‘केहि समय अघिको काउन्सिल बैठक बुधबार ‘म्याचुअर्ड’ हुँदैछ । त्यसपछि पोष्टल ब्यालोट पठाउने काम सुरु हुने बुझिएको छ । अव छिट्टै नै चुनावको नयाँ कार्यविधि पास भई चुनाव सम्पन्न हुनेछ । संभवत: केहि दिनमा चुनावको अर्को मिति सार्वजनिक हुनेछ ।’ आइक्यानको उच्च स्रोतले भन्यो, ‘सिएहरुले नमिल्ने कुरा गर्नुभयो । अव चुनाव गर्नुको विकल्प देखिएन । सरकारले पो कहिले चुनाव गर्न दिन्छ भन्ने कुरा महत्वपूर्ण छ । तर यदि फिजिकल चुनाव भएन भने अव अनलाइनबाट नै भएपनि चुनाव हुन्छ । र त्यसको तयारीमा आइक्यान लागिसकेको छ ।’

प्रतिक्रिया दिनुहोस्