नेपाली लेखा व्यवसायीहरुको नियमनकारी निकाय नेपाल चार्टर्ड एकाउन्टेन्टस् संस्था (आइक्यान)को काउन्सिलले केहि समय अगाडी आइक्यानको पार्षद् हुनका लागि संस्थाको सदस्य भएको १५ बर्ष पुग्नुपर्ने व्यवस्था पास गर्यो । औपचारिक स्वीकृतिका लागि नियमानुसार सो व्यवस्था अर्थ मन्त्रालयमा पठायो । त्यसपछि सुरु भएको छ यस सम्बन्धमा तर्क, चर्चा परिचर्चा र बहस ।
आइक्यानले गरेको व्यवस्थाले नेतृत्व तहमा पुग्न खोज्ने युवाहरुलाई जरुर बाटो बन्द गरिदिएको छ । तर उमेरहदभित्र परिपक्वता हुन्छ भन्ने तथ्यलाई तर्क बनाएर आइक्यानले गरेको यस्तो व्यवस्थाले परिपक्व काउन्सिल बनआउनु आइक्यानको उद्देश्यको भन्ने दाबी अहिलेको आइक्यानको नेतृत्वमा देखिन्छ । यो व्यवस्था लागु भए १५ बर्ष पुगेका तर काम नगर्ने, गफ मात्र चुट्ने, अरुलाई सिध्याउनमात्र लागि पर्ने, बनभोज, साइकिलीङमा मात्र ध्यान दिने १५ बर्ष पुगेका सिएहरु काउन्सिलमा जाने र आइक्यानको हित चाहाने, भिजन भएका नवयुवाहरु नेतृत्वमा नपुग्ने खतरा त छँदै छ, यसले आइक्यानलाई साँचो अर्थमा नियामक बनाउनुपर्छ भन्ने भिजन भएकाहरु ओझेलमा पक्कै परेका छन्।
तर यी तथ्य, तर्क र बहसका बीच आइक्यानमा नमिठो राजनीतिको दुर्गन्धको आभास हुनेगरी काम भइरहेको देख्न गाह्रो छैन । अर्थमन्त्रालयबाट सो निर्णय उल्टाएर आइक्यानको स्वायत्तामाथि प्रहार गर्ने उद्देश्य बोकेर बरिष्ट भनिएकाहरु नै लागि परेको देखिन्छ । र उनीहरु धेरै हदसम्म सफल हुँदै गर्दा माहोल झन् गरम भएको छ । पछिल्लो ताजा स्थितिको अपडेट हेर्ने हो भने सो व्यवस्था हालका लागि लागू नगर्न भनी केहि ठुला भनिएका सिएहरुले अर्थमन्त्रीलाई कन्भिन्स्ड गराईसकेका छन् भने आइक्यानको नेतृत्व स्वायत्तता जोगाउन लागिरहेको छ ।
विभिन्न खालका नियमहरु बनाउँदा त्यसका राम्रा पक्ष र नराम्रा पक्ष दुवै हुन्छन् । तर आइक्यानले गरिसकेको व्यवस्थामाथि धावा बोल्नु भनेको मुर्खतासिवाय केहि हुँदैन । आइक्यानले काम गरेन, आफ्ना मान्छेहरुलाई जोगायो, गलत गर्नेहरुलाई कारवाही गरेन भन्ने आलोचनाका बीच तथ्य यस्तो पनि हो कि आइक्यानको विकल्प खोज्नुपर्छ भनेर यसअघिका सरकारहरुले समेत अर्को निकायको तयारी गरिसकेका थिए ।
अहिले आइक्यान जुर्मुराएको छ । फलानो संघको अध्यक्षको श्रीमती भएकै कारण मनपरी गर्न छुट हुनुपर्छ भनेर तर्क गर्नेहरुलाई आइक्यानको पछिल्ला केहि कारवाहीका श्रीन्खलाले झापड हानेको छ । आइक्यानको अध्यक्ष एकपटक भएपछी पटकपटक मनपरी गर्न पाइन्छ भन्ने तर्कलाई गलत सावित गर्दै आइक्यानका पूर्वअध्यक्षविरुद्ध अनुशासनको कारवाही गर्ने प्रक्रिया अगाडी बढेको छ । यो बेलामा आइक्यानले पास गरिसकेको एजेन्डामा अनावश्यक बहस गरेर त्यसलाई उल्टाउन खोज्नु गलत मात्र होइन मुर्ख्याईसमेत हुन्छ ।
प्रतिक्रिया दिनुहोस्