Skip to content

आइक्यानको २४औँ बार्षिकोत्सव तथा तेश्रो दिक्षान्त समारोह सम्पन्न, ३२ जना चार्टर्ड एकाउन्टेन्टहरु दीक्षित !

  • सिए सरोकार सम्बाददाता
नेपाली लेखा व्यवसायीहरुको नियमनकारी निकाय नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान)को २४औँ बार्षिकोत्सव तथा तेश्रो दीक्षान्त समारोहकाबीच आइक्यानबाट उतिर्ण सिएहरुमध्ये कुल ३२ जना सिएहरु दीक्षित भएका छन् । नेपाल सरकारका अर्थमन्त्री विष्णुप्रसाद पौडेलको प्रमुख आतिथ्यमा सम्पन्न भएको उक्त समारोहमा अर्थमन्त्री पौडेलले दीक्षित सबै सिएहरुलाई बधाई दिँदै देशको समृद्धिमा युवा चार्टर्ड एकाउन्टेन्टहरुको भूमिका उल्लेखनीय हुने बताउनुभयो ।
चार्टर्ड एकाउन्टेन्टहरुबाट जनताले ठुलो अपेक्षा राखेको स्मरण गराउँदै उहाँले सो अपेक्षा पूरा गर्न आइक्यान र सिएहरुले खेलेको भूमिका प्रशंसनीय रहेकोसमेत बताउनुभयो । लेखा प्रणाली र लेखापरिक्षण देशको बिकाससँग सम्बन्धित विषयसमेत रहेकाले र लेखापरीक्षणका माध्यमबाट सुशासनलाई अझ सुदृढ बनाउन सकिने भएकाले देशको बिकास, समृद्धि र सुशासनका लागि सम्पूर्ण सिएहरुले आफ्नो काम प्रभावकारी रुपमा गर्नुपर्नेमा समेत उहाँले जोड दिनुभयो ।
बिकास निर्माणका कामहरुमा लेखापरिक्षकले मात्र नभई जनस्तरबाट पनि परिक्षण भइरहेको हुने हुनाले जनताको परिक्षणलाई समेत ध्यान दिएर जनताका सुझावहरुलाई समेत ख्याल गरी आफ्नो काम गर्न उहाँले सबै लेखापरिक्षकहरुलाई आग्रहसमेत गर्नुभयो ।
‘देशको समृद्धिका लागि सुशासन महत्वपूर्ण हुन्छ । र सुशासनका लागि लेखापरिक्षकहरुले गर्ने लेखापरीक्षणको भूमिका पनि उतिकै महत्वपूर्ण हुन्छ ।’ कार्यक्रममा सम्बोधन गर्दै मन्त्री पौडेलले भन्नुभयो, ‘सुशासनको महत्वपूर्ण जिम्मेवारी चार्टर्ड एकाउन्टेन्टहरुको काँधमा छ । यो जिम्मेवारीलाई तपाईंहरुले पूरा गर्नुहुनेछ भन्ने अपेक्षा सबैको छ।’
नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाले गरिरहेको भूमिकाको प्रशंसा गर्दै मन्त्री पौडेलले अन्तराष्ट्रिय स्तरमै देशको प्रतिनिधित्व गर्ने कुरामा थप सशक्त भएर लाग्नसमेत मन्त्री पौडेलले अनुरोध गर्नुभयो । ‘हामी भूगोलले सानो हौंला । तर आफ्नो विधामा नेपालका सिएहरु अन्तराष्ट्रिय स्तरमै नेतृत्व गर्ने क्षमता राख्छन् ।’ अर्थमन्त्री पौडेलले भन्नुभयो, ‘आफ्नो सो क्षमता र सामर्थ्य अव अन्तराष्ट्रिय स्तरमै प्रमाणित गर्ने बेला भएको छ ।’
आइक्यानको हरेक काममा अर्थमन्त्रालयको साथ र सहयोग हुने बताउँदै अर्थमन्त्री पौडेलले मन्त्रालय आइक्यानसँग सधैं सहकार्य गर्न तयार रहेकोसमेत बताउनुभयो । उहाँले मन्त्रालय र आइक्यानबीचको सम्बन्धलाई थप बस्तुपरक, जीवन्त प्रभावकारी, र परिणाममुखी बनाउन सिएहरुको भूमिका आवश्यक रहेकोसमेत बताउनुभयो।
समारोहमा आइक्यानबाट उतिर्ण सिएहरुलाई प्राध्यापक डाक्टर सुरेशराज शर्माले सपथ खुवाउनु भएको थियो भने समारोहमा अर्थमन्त्री पौडेलले चार्टर्ड एकाउन्टेन्सीका विभिन्न तहहरुमा उत्कृष्ट अंकसहित उतिर्ण हुने विद्यार्थीहरुलाई पदक तथा प्रमाणपत्र प्रदान गर्नुभएको थियो । साथै उक्त समारोहमा आइक्यानमा कार्यरत कर्मचारीहरुबाट यसबर्ष उत्कृष्ट हुन सफल कर्मचारीहरुलाई नगदसहित प्रमाणपत्रसमेत वितरण गर्नुभएको थियो । कार्यक्रममा सनास्थाका अध्यक्ष सिए. मदन शर्माले मायाको चिनो प्रदान गर्नुभएको थियो भने सिए. युद्धराज ओलीले कार्यक्रममा उपस्थित सबैलाई धन्यवाद प्रकट गर्नुभएको थियो ।
नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) लेखाव्यवसायीहरुको नियमनकारी निकाय हो । संस्थाले नेपालमा चार्टर्ड एकाउन्टेन्सीका विद्यार्थी भर्ना गर्ने, परिक्षा लिने तथा नेपालका सम्पूर्ण रजिष्टर्ड अडिटर तथा चार्टर्ड एकाउन्टेन्टहरुलाई नियमन गर्ने काम गर्दछ ।

प्रतिक्रिया दिनुहोस्