
सीएहरू आन्दोलित हुनुपर्ने मुख्य कारण दर्तावाल लेखापरीक्षकलाई सीए बनाउने मुद्दाले हो। दर्तावाल लेखापरीक्षक जसलाई रजिस्र्टर्ड अडिटर (आरए) पनि भनिन्छ, उनीहरू आफूहरूलाई नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आईक्यान) ले सीए बनाउनुपर्ने मागमा उत्रिएका छन्। उनीहरूले सीए पढ्दा गर्नुपर्ने फिल्ड वर्क (आर्टिकलसिप) गर्नुनपर्ने, लेखापरीक्षणको इजाजत स्थगन गर्नुनपर्ने र सीएको अन्तिम परीक्षामा आफूहरूले विश्वविद्यालयमा पढेका विषयमा छुट पाउनुपर्ने माग गर्दै आएका छन्। यो मागलाई स्थापित गर्ने प्रक्रियास्वरूप आईक्यान परिषद्ले पनि केही कदम चालिसकेको छ। तर यो कुरा सीएहरूलाई मान्य छैन्। त्यसैले उनीहरू आन्दोलित बनेका हुन्।
सर्वमान्य सिद्धान्त र अन्तर्राष्ट्रिय मापदण्डले पनि सीए बन्ने ‘सटकर्ट’ बाटोलाई वर्जित गरेको छ। तर आरएहरू आफ्ना माग पूरा गराउन जुनसुकै विधि प्रयोग गर्न पनि पछि नपरेको विगतको इतिहासले देखाइसकेको छ। यसपालि पनि उनीहरू आफ्ना एजेन्डा सफल पार्न आईक्यान परिषद्मा लागिपरेका छन्। त्यसमध्ये सबैभन्दा गतिलो हतियार हो– चार–तीन–दुईको चंगुल। जुन चंगुलमार्फत आरएहरूले डेढ दशकदेखि आईक्यान परिषद्बाट आफ्ना एजेन्डा सजिलै पारित गर्दै आएका छन्।
के हो चार–तीन–दुईको चंगुल ?
आईक्यानको सर्वोच्च समिति ‘आईक्यान परिषद्’ मा १७ जना सदस्यमध्ये चारजना आरएबाट चुनिने व्यवस्था छ र तीनजनालाई सरकारले मनोनयन गर्छ। बाँकी १० जना सीएबाट निर्वाचिन हुने व्यवस्था छ। आरए र मनोनीत सदस्यबाट अध्यक्ष–उपाध्यक्ष बन्न पाउँदैनन्। अर्थात् आईक्यानको अध्यक्ष बन्न सीए नै हुनुपर्छ। आफूहरू अध्यक्ष–उपाध्यक्ष बन्न नपाउने भएकाले आफूले चुन्ने नेतृत्वका लागि उनीहरू आफ्नै पक्कडको सदस्य रोज्छन्। आफूअनुकूलको काम गरिदिने उम्मेदवारका लागि उनीहरू एक ढिक्का हुन्छन्। मनोनीतहरू पनि धरैजसो आरए नै हुन्छन् या आरएप्रति सदासयता राख्ने हुन्छन्। किनकि धेरै आरए सरकारी सेवामा छन्। उनीहरूको सरकारी सेवामा राम्रो पक्कड छ। त्यसैले परिषद्मा आरएका चारजना र मनोनीतका तीनजनाको सधैं एकमत देखिन्छ। बहुमत पु¥याउन अब आरएहरूले दुईजना सीए सदस्यलाई आफूतर्फ ताने पुग्छ। ती दुईजना सीएलाई उनीहरूले अध्यक्ष र उपाध्यक्षको प्रलोभन दिन्छन् र आफ्नो पक्कडमा पार्छन्।
परिषद्मा १० सीए सदस्य त हुन्छन्। तर अध्यक्ष–उपाध्यक्ष बन्ने प्रलोभनमा दुई सीएले ‘सीएको क्याम्प’ छाडिसकेका हुन्छन्। बाँकी आठ सीए सदस्य एकै ढिक्का बने पनि बहुमत पुग्दैन। त्यसमाथि अध्यक्ष–उपाध्यक्ष बन्न दुई वा दुईभन्दा बढी सीए आपसमै लडाइँ गरिरहेका हुन्छन्। सीएमै विभाजन देखिन्छ। त्यसैले जसले आरएलाई फकाउन सक्छ, उसैले नेतृत्व पाउने परिपाटी छ। यो क्रम डेढ दशकदेखि चलिरहेको छ। अहिलेको नेतृत्व पनि यस्तै परिपाटीबाट चुनिएका हुन्। त्यसैले परिषद्ले आरएको हितमा निर्णय गर्दैन भनेर कोही सीए विश्वस्त हुने वातावरण छैन।
किनकि विगतमा सीएहरूले सीएलाई भन्दा आरएका हितमा निर्णयहरू गरेको इतिहास साक्षी छ। डेढ दशकअघि लेखा क्षेत्रमा ‘एक व्यक्ति एक पेसा’ लागू गराउने एजेन्डामा सीएहरूको कुनै विरोध भएन। तर आरएहरूको छाता संगठन नेपाल अडिटर्स एसोसिएसन (अडान) ले मानेन। किनकि धरैजसो आरएहरू निजामती सेवा वा अन्य व्यवसायमा थिए÷छन्। उनीहरूले एकैसाथ दुवै पेसा सम्हाल्दै आएका छन्। ‘एक व्यक्ति एक पेसा’ लागू गरे उनीहरूको एक पेसा गुम्न सक्थ्यो। त्यसैले सक्दो विरोध गरे। पछि उनीहरूले यो व्यवस्था पर सार्ने शर्तमा अध्यक्ष–उपाध्यक्षलाई भोट दिए। नभन्दै त्यसयता आरएका हकमा ‘एक व्यक्ति एक पेसा’ पर सर्दै आएको छ। अहिले पनि ‘एक व्यक्ति एक पेसा’ लागू नगराउने शर्तमै आफ्ना भोट दिँदै आएका छन्।
त्यति मात्र हैन, प्राविधिक दक्षता नपुग्ने भएकाले ठूला उद्योग–व्यवसायको लेखा परीक्षण आरएले गर्न नपाउने व्यवस्था छ। उनीहरूले आफ्नो शर्तमा अध्यक्ष–उपाध्यक्ष चयन गर्ने भएकाले अहिले एक अर्ब रूपैयाँसम्मको कारोबार हुने निकायको लेखापरीक्षणसमेत गर्न पाउने व्यवस्था लागू गराउन सफल भइसकेका छन्।
आईक्यानले सीए बनाउनुपर्ने आन्दोलन आरएहरूले एक दशकअघि पनि गरेका थिए। उनीहरूकै मागबमोजिम तत्कालीन परिषद्ले सीए अध्ययनमा पढ्नुपर्ने तीन तहमध्ये पहिलो दुई तह छुट हुने व्यवस्था गरिदियो। तीन वर्ष आर्टिकलसिप गर्नुपर्ने प्रावधानलाई एक वर्षमा झारिदियो। आरएले सीए हुन चाहेमा एक वर्ष आर्टिकलसिप गरेर अन्तिम तहको परीक्षा दिए पुग्छ। यही सरल व्यवस्थाबाट केही आरएले पढेर सीए बनिसकेका छन्। तर फेरि आरएहरूलाई यो प्रक्रिया पनि जटिल हुन थालेको छ। उनीहरूले फेरि नयाँ माग थप्दै सीए बन्ने बाटो ‘सर्टकट’ गर्न खोजिरहेका छन्।
को हुन् आरए ?
खासमा आरए भनेका महालेखा परीक्षकको कार्यालयबाट अनुभवका आधारमा लेखापरीक्षणको इजाजत पाएका मध्यमस्तरीय लेखा व्यवसायी हुन्। सुरुवाती दिनमा मुलुकमा लेखा क्षेत्रमा दक्ष जनशक्ति सीएहरू थिएनन्। ठूला कम्पनीको लेखापरीक्षण गर्न विदेशबाट सीए फर्म ल्याइन्थ्यो। तर साना कम्पनीका लागि विदेशबाट दक्ष जनशक्ति ल्याउन सम्भव थिएन। त्यसैले २०५९ सालसम्म महालेखाले लेखापरीक्षणको जनशक्ति पूर्ति गर्न विश्वविद्यालय अध्ययन गरेर केही लेखापरीक्षणमा अनुभव हासिल गरेकालाई आरएको इजाजत दिन्थ्यो। तर जब आईक्यानको स्थापना भयो र यसले सीए उत्पादन, प्रवद्र्धन्, क्षमता अभिवृद्धि र तिनको नियमन गर्ने जिम्मेवारी पायो, महालेखाले अनुभवका आधारमा लेखा व्यवसायीको इजाजत दिने प्रक्रिया बन्द गरिदियो। त्यसबेलासम्म लेखा व्यवसायीको इजाजत पाइसकेका करिब नौ हजार आरए आईक्यानको नियमनभित्र पर्ने प्रावधान राखियो। आरएहरू ‘ख’ देखि ‘घ’ वर्गसम्मको इजाजत पाएका छन्। ‘क’ वर्गको इजाजत पाउँदैनन्, जुन सीएले मात्र पाउँछन्।
माग सम्बोधन गरे के हुन्छ ?
आईक्यानले आरएका माग पूरा गर्ने हो भने ‘ख’ वर्गको इजाजत प्राप्त गरेर १५ वर्षको अनुभव भएको र विश्वविद्यालयबाट स्नातकोत्तर गरेकाले सीएको अन्तिम परीक्षामा सहभागी हुन पाउनेछन्। ती आरएले सीएका अन्य विद्यार्थीजस्तो आठवटै कठिन विषयको परीक्षा दिनुपर्ने छैन। २ देखि ४ वटासम्म विषय छुट दिने तयारी भइरहेको छ। आईक्यानको रेकर्डअनुसार ‘ख’ वर्गको इजाजत प्राप्त गरेका करिब १५ सय आरए छन्। तीमध्ये स्तानकोत्तर गरेर १५ वर्षको अनुभव भएकाहरू अत्यन्त न्यून छन्। विभिन्न अध्ययनअनुसार यस्ता मापदण्ड पूरा भएका आरएहरू हाल एक सयजना पुगनपुग होलान्। त्यसमध्ये सबै सीए पढ्न इच्छुक नहुन पनि सक्छन्।
त्यसमाथि सीए अन्तिम तहको चारवटा विषयलाई ‘कोर’ विषय मानिन्छ, जुन विषयहरू आईक्यान परिषद्ले चाहेर पनि छुट दिन सक्दैन। त्यो चार विषय पास गर्नु भनेको सीए बन्ने सम्भावना ९० प्रतिशत निश्चित हुनु हो। सीए पढ्ने २० देखि ३० वर्षसम्म उमेर समूहका ९० प्रतिशतभन्दा बढी विद्यार्थी यही विषय उत्तीर्ण हुन नसकेर अध्ययन छाड्ने गर्छन्। सीए अध्ययनको अर्को एक महत्त्वपूर्ण विशेषता के हो भने यसमा सबै विषय एकैपटक पास गर्नुपर्छ। कुनै एक विषयमा फेल भए फेरि अर्कोपटक सबै विषयको परीक्षा दिनुपर्छ। त्यसैले पनि सीए अध्ययनलाई संसारकै गाह्रो विषय मानिन्छ।
त्यसमाथि स्नातकोत्तर गरी १५ वर्षको अनुभव हासिल गरिसक्दा उमेरले न्यूनतम चालीस वसन्त पार गरेको हुन्छ। त्यो उमेरका सबै आरएले सीए उत्तीर्ण गर्न सक्ने कुनै निश्चित छैन। पाँचदेखि बढीमा १० प्रतिशतले मात्र उत्तीर्ण गर्न सक्लान। १० जना आरएहरू सीए होलान्। यो भनेको १० हजार सीए विद्यार्थी र हाल २५ सयको हाराहारीमा रहेका सीएका तुलनामा अत्यन्त नगन्य संख्या हो। त्यसैले आरएहरू सीए बन्दैमा मुलुकको लेखा व्यवसाय चौपट हुन्छ, जसरी कोकोहोलो गर्नु त्यति उचित देखिँदैन।
तर मुख्य कुरा आरएहरू सहज बाटोबाट सीए बन्न दिने भन्ने मात्र पनि होइन। परिपाटीको हो। पारिपाटी खराब बस्छ र यो पेसाको मर्यादामा आँच आउँछ भन्ने हो। त्यसैले पनि सीएहरूले आन्दोलनका साथ खबरदारी गरिरहेका हुन्। जे होस्, अरू बेला फुटको राजनीति गर्ने सीएहरू पनि यो मुद्दामा एकजुट भएका छन्। यो मुद्दाले सीएबीच एकताको महत्त्व झल्काएको छ । आईक्यानले आरएका माग पूरा गर्ने हो भने ‘ख’ वर्गको इजाजत प्राप्त गरेर १५ वर्षको अनुभव भएको र विश्वविद्यालयबाट स्नातकोत्तार गरेकाले सीएको अन्तिम परीक्षामा सहभागी हुन पाउनेछन्।(सिए सुरेश निरौलाको लेख यो समसामयिक विषयमा निकै जानकारीमूलक र महत्वपूर्ण देखिएकाले अन्नपूर्ण पोस्टबाट साभार गरिएको हो ।- सम्पादक)
प्रतिक्रिया दिनुहोस्