Skip to content

सतिश चन्द्र लाल पनि आइक्यानको चुनावमा उठ्दै ! हरि सिलवाल भन्छन्, `माहोल बुझ्दैछु, फिक्स्ड छैन´

  • सिए सरोकार सम्बाददाता
काठमाडौँ । नेपाल चार्टड एकाउन्टेन्ट्स संस्था (आइक्यान)को आगामी काउन्सिलका लागि चुनावी दौड सुरु भएको छ । चुनावमा उठ्ने १८ पात्रबारे सिए सरोकारले यस अघि नै जानकारी दिइसकेको छ । उम्मेदवारहरुको भीडमा जित्ने सम्भावनाको नाटरिसकेका सतिश चन्द्र लालदेखि एक्यानमा ‘टेष्टेड’ क्यान्डीडेट हरि कुमार सिलवालसम्मले चुनावमा उठ्ने तयारी गरेको पाइएको छ । लालले आगामी चुनावमा आफ्नो उम्मेद्वारी हुने भन्दै चुनावी क्याम्पियन सुरु गरिसकेका छन् भने हरि कुमार सिलवाल अहिले माहोल बुझिरहेको र केहि समयपछि आफु उठ्ने कि नउठ्ने भन्ने ‘फिक्स्ड’ हुने बताउँछन् ।
सतिश चन्द्र लालको सम्भावना कति ?
सतिश चन्द्र लाल जित्ने सम्भावना भएका उम्मेदवार हुन् । तर त्यति बलिया उम्मेदवार भने उनी होइनन् । उनको फितलो तयारी, नयाँ पुस्तासँग कम सम्पर्क लगायतका कुराले उनलाई चुनाव त्यति सहज भने पक्कै छैन । पूराना सिए लालले आफु चुनावमा उठ्ने भन्दै सोको जानकारी आफु निकटका सिएहरुलाई गराईसकेका छन् । उनले चुनावमा नजिते पनि केहि सिनियरका भोट र अन्य केहि भोट भने नमज्जासँग काट्ने देखिएको छ । यसपालीको चुनावमा उठ्नेहरुमध्ये पूराना सिए भएकाले उनलाई सिनियरहरुको बलियो साथ भए उनी चुनाव जित्ने सिएमा पर्ने सम्भावना भने जिवितै छ ।
मेरो फिक्स्ड छैन : सिलवाल 
यता एक्यानमा अध्यक्ष रहँदा सार्है आशा गरिएका तर खासै काम गर्न नसकेका, एकोहोरो सबैलाई पेलेर काम गर्न खोजेको लगायतका आरोप लागेका सिलवाल पनि आइक्यानको चुनावमा उठ्ने चर्चा छ । तर उनले आफ्नो उम्मेद्वारी ‘फिक्स्ड’ नभएको बताएका छन् । ‘चुनाव आउन धेरै समय बाँकी छ । म माहोल हेर्दैछु । समय आएपछि के गर्ने भन्ने निर्क्योल निकालौंला । अहिले केहि साथीहरुले उठ्नुपर्छ भन्नुभएको छ ।’ सिए सरोकारसँग कुराकानी गर्दै सिलवालले भने, ‘चुनाव त जेठ तिर हुन्छ, अहिले नै के को हतार छ र ?’
यसो त चुनाव जित्न सिलवाललाई ‘साइकल चलाएजस्तो’ सजिलो छैन । एक्यानमा अध्यक्ष रहँदाको कमजोर पर्फर्मेन्स, सबैलाई प्वाक्क-प्वाक्क बोलेर बिच्काइहाल्ने बानी, पेलेर काम गराउन खोज्ने धमिलो छवि, उनका लागि भारी पर्ने देखिएको छ । एक्यानमा रहँदा उनीबाट वाक्क, दिक्क, प्याक्क भएकाहरुले उनको नेगेटिभ मार्केटिङ सुरु गरिसकेका छन् । केहि सिएहरुले त ‘काउन्सिलमा आइक्यानका प्रोडक्ट धेरै पार्नुपर्छ, हरि सिलवालले हार्नुपर्छ’ भन्ने अभियान नै समेत सुरु गरिसकेका छन् ।
आइक्यानबाट सिए उतिर्ण हुनेहरुबाट उनलाई निकै कम भोट जाने निश्चित छ । कर्पोरेट क्षेत्रमा काम गरिरहेकाहरुले सिलवाललाई भोट हाल्ने सम्भावना निकै कम छ । सिनियरहरुको भोट त उनलाई खासै नजाने लगभग निश्चित छ । उनले भोट आशा गरेको मुम्बइ ग्यांगलाई यसपाली युद्धराज ओलीलाई जिताउनुपर्ने बाध्यता छ । सँगै सोहि ग्रुपको भोट बैंकबाट जित्न सुजन काफ्ले लागेका छन् । मुम्बई ग्यांगको केहि भोट सन्तोष लम्साललाई पनि जाने पक्का छ । मुम्बई ग्रुपका केहि भोट अमन उप्रेतीले अनि लैजानेछन् । यसरी हेर्दा सिलवाललाई उक्त समूहको ‘रहलपहल’ भोटमात्र आउने देखिन्छ । यद्यपी चुनाव न हो ! निकै चलाख खेलाडी र आफ्नो काम जसरी पनि गर्ने छवि बनाएका सिलवालले अन्तिम २ अर्थात ९-१० तिर भाग्यले साथ दिए चुनाव नाजित्लान् भन्न भने सकिन्न । यद्यपी उनी कमजोर क्यान्डीडेटका रुपमा छन् भन्ने तथ्य बुझ्न गाह्रो छैन । यहि कारण अहिले उठ्ने भनेर हल्ला चलाएर पछी सिलवाल चुनाव उठ्दैनन् भन्ने चर्चा पनि नेपाली सिए क्षेत्रमा छ ।

प्रतिक्रिया दिनुहोस्