- सिए सरोकार सम्बाददाता
काठमाडौँ । ‘बल्ल बल्ल पास गरेर पाएको डिग्री उल्लेख गरेर आफ्नो नामको अगाडी सिए लेख्न पनि नपाउनु ?’ प्रश्न हुन सक्छ । हाम्रो पहिचान नै यहि हो, किन नलेख्ने ?’ अर्को तर्क हुन सक्छ । तर नामको अगाडी सिए लेख्न आइक्यानले जारी गरेको गाइडलाइन्सले बर्जित गरेको छ । तर यो नियमको बरिष्ट सिएहरुले नै धज्जी उडाइरहेका छन् । आइक्यानले जारी गरेको, ‘GUIDELINES ON MARKETING PROFESSIONAL SERVICES BY PROFESSIONAL ACCOUNTANTS IN PUBLIC PRACTICE’ अन्तर्गतको गाइडलाइन्समा स्पष्ट यससम्बन्धि व्यवस्था हुँदा हुँदै पनि विभिन्न सिएहरुले आइक्यानले जारी गरेको गाइडलाइन्स विपरित आफ्नो नामको अगाडी सिए झुण्ड्याएका छन् ।
यसो त आइक्यानले सिए फर्मको नाममा समेत पेज खोल्न बर्जित गरेको छ । तर राजु सिवाकोटी, कोमल चित्रकार लगायतका बरिष्ट सिएहरुले पनि आइक्यानको यो गाइडलाइन्सलाई अटेरी गर्दै आएका छन् । यसो त यो नियम अटेर गर्नेहरुमा बरिष्टदेखि भर्खरका सिए फर्महरु पनि छन् । तर गाइडलाइन्स बनाउने आइक्यानले आफुले जारी गरेको गाइडलाइन्स पालना भएको छ कि छैन भन्ने कुरा ख्याल गरेको छैन ।
यसो त २१औं शताब्दीको यो युगमा र त्यसमा पनि सामाजिक संजालको यो युगमा फेसबुक पेज खोल्दा केहि नबिग्रिने तर्क कतिपय सिएहरुको छ । कतिपयले आफ्नो पहिचान नै सिए भएकाले सिए लेख्न पाउनुपर्छ भन्नेसमेत तर्क गर्छन् । ‘तर कानुन आखिर कानुन हो । त्यसलाई कि परिवर्तन गर्नुपर्छ, कि मान्नुपर्छ ।’ भन्ने सर्वमान्य सिद्धान्तले आजको मितिमा विभिन्न सिए फर्महरुले गरेको काम गलत हो र त्यसउपर सजाय हुनुपर्छ भन्ने कुरामा कुनै दुईमत छैन । आवश्यकता र समयअनुसार यस्ता गाइडलाइन्सहरु परिवर्तन हुनुपर्छ भन्ने कुरामा आ-आफ्ना तर्क र बहस होलान्, तर नियमनकारी निकायले जारी गरेको गाइडलाइन्स नै मान्दिन भन्नुचाहिं पक्कै पनि गलत हुने जानकारहरुको तर्क छ ।
तर आइक्यानको सबैभन्दा बढी हित चिताउने कोहि सिएले आइक्यानको परिक्षा छिट्टै हुनुपर्यो भनेर लेखेकै आधारमा स्पष्टीकरण सोध्ने आइक्यानसँग यसरी आफ्नै गाइडलाइन्सको धज्जी उडाउनेहरुलाई कारवाही त के तपाईं यसो नगर्नुस् भन्ने आँटसमेत आइक्यानका उच्च तहका अधिकारीले नराख्ने गरेको आरोप बरिष्ट सिएहरुले नै लगाउँदै आएका छन् ।
प्रतिक्रिया दिनुहोस्