काठमाडौँ । नेपाल चार्टड एकाउन्टेन्ट्स संस्था (आइक्यान)को आगामी काउन्सिलका लागि चुनावी दौड सुरु भएको छ । विभिन्न समूह बनाएर सिएहरु चुनावी मैदानमा लागिसकेका छन् । आफ्नालाई जिताउनेमात्र होइन, अरुलाई पछार्नेसम्मका खेलहरु सुरु भइसकेका छन् । बसुन्धारा, पुतलीसडक, दरबारमार्ग लगायतका ठाउँमा खुलेरै चुनावी ‘अड्डा’हरु जम्न थालिसकेका छन् । कोहि मतदातालाई फोन गर्न व्यस्त छन्, कोहि अरुलाई पछारेर आफुलाई राम्रो देखाउन व्यस्त छन् । कोहि केहि राम्रा एजेन्डाहरु प्रस्तुत गरेर फरक ढंगले चुनावी माहोल तताईरहेका छन् । जे होस्, चुनाव मज्जासँग नै सुरु भइसकेको छ ।
को को उठ्दैछन् ?
यसपालीको आइक्यानको चुनावमा पनि राम्रै प्रतिष्पर्धा हुने देखिएको छ । १० पदका लागि हुने चुनावमा करिव २० उम्मेदवारको चर्चा छ । जसमा अन्तिमसम्ममा १६ देखि १७ जना चुनावमा उठ्ने आंकलन गरिएको छ । अव हेरौं को को चुनावमा उठ्दैछन् ? कसको माहोल बन्दैछ ? कसको बिग्रिंदै छ ?
१. आउँदो चुनावमा उठ्ने व्यक्तिको पहिलो नम्बरको नाम युद्धराज ओली हुन् । उनी हाल उपाध्यक्ष छन् । अव अध्यक्ष हुन उनले चुनाव जित्नुपर्छ । आइसीएआइसँग भेदभावपूर्ण एमआरए गरेको, आरएलाई सिए बनाउनेगरी बाहिरिएको प्रतिवेदनमा संयोजकको भूमिका खेलेको लगायतका आरोप लगाएर उनलाई पछार्ने खेल सुरु भइसकेको छ । यसरी उनीविरुद्ध लाग्नेहरुमा अघिल्लो चुनावमा उनका कोर भोटर मानिएका सिए पनि छन् । यद्यपी उनले चुनाव जित्ने कुरा लगभग पक्कापक्की छ । आजसम्म आइक्यानको उपाध्यक्षले चुनाव हारेको रेकर्ड छैन । सिनियरहरुको भोट उपाध्यक्षलाई राम्रोसँग आउँछ । यद्यपी पूर्व अध्यक्षहरुको भोट बिथोल्न उनीविरुद्ध केहि गुटगत रुपमै लागिसकेका छन् । यद्यपी उनी बलिया उम्मेदवार हुन् र उनको जीत लगभग निश्चित रहेको बुझ्न गाह्रो छैन ।
२. दोश्रो नम्बरमा चुनावको सबैभन्दा राम्रो तयारी गरेका अर्का उम्मेदवार हुन् सुरेन्द्र श्रेष्ठ । उनी अहिले पनि काउन्सिल सदस्य छन् । हालको काउन्सिलमा आइक्यानका मुद्धाहरुलाई जोडदार रुपमा उठाएका उनलाई आइक्यानका प्रोडक्टहरुको निकै राम्रो साथ छ । यतिसम्मकि छुट्टै सचिवालय नै बनाएर सुरेन्द्रको पक्षमा चुनावमा लाग्ने तयारी सिएहरुको सार्है राम्रो समूहले गरेको छ । यसै पनि आइक्यानको सेन्टिमेन्ट भोट सुरेन्द्रलाई जाने पक्का छ । यस अर्थमा पनि उनी सार्है बलिया उम्मेदवार हुन् । यद्यपी अघिल्लो चुनावमा चुनावी हिसाब बिगार्दा क्षेत्र गोपाल ध्वजु हारेको अपजश उनले पाएका थिए । ध्वजु यसपाली पनि उठ्ने हुनाले उनले केहि फरक ढंगले पनि चुनावमा लाग्नुपर्ने देखिन्छ ।
३. अघिल्लो चुनावमा ‘मुख छुच्छो’ बनाउँदा हार बेहोरेका उम्मेदवार हुन् क्षेत्र गोपाल ध्वजु । आइक्यानका निकै बलिया मानिएका चुनावी खेलाडीहरुको साथ पाएर पनि उनले अन्तिम समयमा थोरै मतले पराजय भोग्नुपरेको थियो । कसैका बारेमा गरेको अनावश्यक टिप्पणीका कारण उनीविरुद्ध मतदान स्थलमै उनलाई हराउने खेल भएको थियो । यसपाली उनी निकै संयमित भएर चुनावी प्रचारप्रसारमा छन् । अघिल्लो चुनाव उनका लागि ठुलै सिकाइ बनेको छ । यसपाली पनि उनको साथमा राम्रै चुनावी खेलाडीहरु छन् । तर यसपाली आइक्यानको सेन्टिमेन्ट भोट पाउने कुरामा भने उनी कमजोर छन् । यसका दुई कारण छन्- उनको चुनाव प्रचार प्रसार गर्नेहरु अव आइक्यान-आइसीएआइ भन्नु हुँदैन भनेर लागिरहेका छन् भने अर्कोतर्फ आइक्यानकै उम्मेदवारहरुको संख्या यसपाली अघिल्लो चुनावमा भन्दा बढी हुनेछ । अघिल्लो पटकको पराजयबाट धेरै कुरा सिकेर उअनेल यसपाली राम्रै गरेका छन् ।
४. हेम काफ्ले आगामी चुनावका लागि अर्का उम्मेदवार हुन् । उनी पनि आइक्यानबाट नै सिए पास भएका व्यक्ति हुन् । आइक्यानको सेन्टिमेन्ट पनि तान्ने र सबैलाई मिलाउन पनि सक्ने उम्मेदवार हुन् काफ्ले । तर उनका लागि चुनाव सहज भने छैन । अघिल्लो पटक अच्युतराज जोशीले हारेका थिए, एक्यानको चुनावमा पनि उनले समर्थन गरेको ग्रुपको उम्मेदवार अध्यक्षमा पराजित हुनुपर्यो । उनको भोट बैंक त्यहि हो, त्यसकारण उनलाई चुनाव जित्न सहज छैन भन्ने विश्लेषण धेरैको छ । यद्यपी उनको ग्रुपबाट अर्को बागी नउठेको खण्डमा भने उनले चुनाव जित्छन् । तर उनकै समूहबाट अर्को एक उम्मेदवारले चुनावमा उठ्ने रहर र लविङ दुवै गरेका छन् ।
५. आगामी चुनावमा उठ्ने अर्का उम्मेदवार हुन् अमन उप्रेती । यसअघि एक्यानको चुनावमा पराजय भोगेपछि उनको भोट बैंकपनि तितरबितर भएको छ । यसो त उनलाई जिताउन भन्दा पनि हराउन सक्रिय हुनेहरु बढी छन् यतिबेला । यद्यपी ठुलो सिए फर्मबाट उठ्न लागेकाले उनलाई केहि सहज पक्का हुनेछ । तर उनलाई पनि उही भोट बैंकबाट अर्को उम्मेदवार खडा हुने डर छ । सबैलाई मिलाएर लैजान सके उनको जीत निश्चित छ । त्यो भन्दा पनि महत्वपूर्ण कुराचाहिं उनलाई जसरी पनि हराउनुपर्छ भन्दै हिंडेकाहरुलाई उनले बसाउनुपर्ने चुनौती छ ।
६. अवको चुनाव जितेर उपाध्यक्ष बन्ने दाउमा छन् पियुष आनन्द । उनी युद्धराज ओलीकै बेलामा पनि उपाध्यक्ष उठेका थिए । तर अन्तिम समयमा आएर ओलीलाई साथ दिने सहमति बनेको थियो । यसपाली उनी चुनाव उठ्ने भनेकै अवको उपाध्यक्ष बन्नका लागि हो । उनी न बलिया उम्मेदवार हुन्, न कमजोर । निकै चलाखीपूर्ण चुनावी खेल खेल्ने उम्मेदवारका रुपमा चिनिएका पियुषले धेरैअघि देखि नै चुनावी तयारी गरेकाले उनका लागि चुनाव जितकै अवसर बन्ने लगभग निश्चित छ ।
७. राम चन्द्र खनाल आइक्यानको अवको चुनावको उम्मेदवार हुन् । उनी हाल कुमारी बैंक लिमिटेडमा कार्यरत छन् । निकै मिझासिला स्वभावका भएका कारण र उनलाई धेरै रुचाउने विद्यार्थीहरु पनि अहिले सिए भइसकेको स्थितिमा उनलाई चुनावी दौड सहज नै बन्ला भन्ने धेरैको अपेक्षा छ । तर जति मेहेनत उनले चुनावमा गर्नुपर्ने हो, त्यति गरेका छैनन् । जुन हदसम्म चुनावी तयारी हुनुपर्ने हो, उनको तयारी कमजोर छ । त्यसैले उनको जीत त्यसै भन्न सकिने अवस्था छैन । तर धेरैको बुझाईचाहिं उनीचाहिं साच्चै काउन्सिल सदस्य हुनुपर्ने मान्छे हो । तर राजनीति त भोटको छ, नेता बन्न कहाँ सजिलो छ र ?
८. आइक्यानको चुनावमा सार्है बाठा खेलाडी भएर पनि यस अघि हार व्यहोरेका उम्मेदवार हुन् नील सारु । यसपालीको चुनावमा उठेर, जितेर अहिलेको राजनीतिक वातावरण यहि रहे आइक्यानको अध्यक्षसम्म हुने दाउ छ सारुको । उनी सार्है टिमवर्कमा खेल्ने खेलाडी हुन् । त्यसैले पनि उनी चुनाव जित्ने ठुलो सम्भावना बोकेका सिए हुन् । तर एक्यानको चुनावमा कोहि एक व्यक्ति विशेषविरुद्ध संस्थागत रुपमै लागेको भन्दै उनका केहि नजिकका सिएहरु उनीसँग रिसाएका छन् । यसअघि पनि झिनो मतले हारेका उनलाई केहि भोटकै चुनौतीको विषय नबन्ला भन्न सकिन्न । यद्यपी उनी बलिया उम्मेदवार भने जरुर हुन् ।
९. यसअघि पराजय भोगेर यसपाली फेरी चुनावमा उठ्न लागेका उम्मद्वार हुन् सुजन काफ्ले । यसअघि आफ्नैले धोका दिंदा नमिठो हार व्यहोरेका काफ्लेले अघिल्लो चुनावमा आफ्ना मान्छेहरु कति रहेछन् भन्ने पनि बुझे । यसपाली पनि उनका लागि चुनाव त्यति सहज छैन । तर अघिल्लो पटक चुनावमा धोका दिएकाहरुले साथ दिएको खण्डमा उनलाई चुनाव जित्न गाह्रो पनि छैन । उनले आफ्ना भनिएका र पराइ भएकाहरुलाई कतिको मिलाउन सक्छन् भन्ने कुरा महत्वपूर्ण कुरा हो ।
१०. आइक्यानबाट सिए उतिर्ण भएका तर आइक्यानको सेन्टिमेन्ट बिनै चुनाव जित्छु भनेर लागेका उम्मद्वार हुन् सन्तोष लम्साल । यसअघि एक्यानको चुनावमा महासचिवमा ‘चिट्ठा’ परेर जितेका लम्सालको भोट बैंक पनि निकै राम्रो छ । उनी आइक्यानका पूर्व अध्यक्ष प्रकाश लम्सालका क्यान्डीडेट हुन् । यहि कारण पनि उनलाई चुनाव जित्न त्यति गाह्रो नपर्ला । तर यसअघि लम्सालकै क्यान्डीडेट भनिएका सुजन काफ्लेले पनि चुनाव हारेका थिए । प्रकाश लम्सालको खेल खेल्ने तरिकाले उनलाई सकारात्मक रुपमा साथ दिए उनी जित्छन् । प्रकाश लम्सालले उल्टो खेलिदिए भने उनले टाउकै फोडे पनि चुनाव आफ्नो पोल्टामा पार्न सक्दैनन् ।
११. हालका एक्यानका अध्यक्ष आनन्द शर्मा वाग्लेका पार्टनर कुनाल कायल पनि यसपाली चुनावमा उठ्नेछन् । खास उठ्ने चर्चा आनन्द वाग्लेकै पनि छ, तर उनले यसअघि सार्वजनिक रुपमै आफु एक्यानको अध्यक्ष भएकाले यसपाली चुनावमा नउठ्ने बताईसकेका छन् । कुनाल कायलका लागि चुनाव जित्न त्यति गाह्रो छैन । उनको भोट बैंक सार्है राम्रो पनि छ । तर पछिल्लो समय उनी अध्यक्ष भएको कम्पनीले सिएहरुलाई कोरोना बीमाको दाबी भुक्तानी गर्दा सार्है दुख दिएको भन्दै थुप्रै सिएहरु उनीप्रति रुष्ट छन् । अर्कोतर्फ आरएलाई सिए बनाउने कुरामा पनि एक्यानको सहमति छ भनेर आइक्यानले दाबी गरेपछि अहिले वाग्लेप्रति धेरै सिएहरु शंकालु बनेका छन् । यसको असर कुनाल कायललाई नपर्ला भन्न सकिन्न । यद्यपी बलिया उम्मेदवारहरुको लिष्ट निकाल्दा उनको नाम पनि आउँछ ।
१२. यसपालीको चुनावमा सदावहार उम्मेदवार भास्कर लाला पनि उठ्दैछन् । आइक्यानको अध्यक्ष बन्न बिगत लामो समयदेखि कसरत गरिरहेका उनी यसपाली पनि चुनाव उठ्दैछन् । गत चुनावमा नमिठो हार व्यहोरेका उनी यसपाली राम्रो तयारी गरिरहेका छन् ।
१३. आइक्यानको कार्यकारी निर्देशक हुँदा अन्तिम समयमा अनियमितताको आरोपसमेत लागेका बिनय प्रकाश श्रेष्ठ पनि यसपाली आइक्यानको चुनावमा उठ्दैछन् । उनलाई चुनाव जित्न खास सहज अवस्था छैन । यद्यपी केहि समय यता उनले सार्है मेहेनत गरिरहेका छन् ।
१४. रजनीश दाहाल अवको चुनावका अर्का क्यान्डीडेट हुन् । उनी बलिया उम्मेदवार हुन् । तर उनका कतिपय पूर्वसहकर्मीहरु जोडबलसँग उनलाई हराउन लागिपरेका छन् । हेरौं यो युद्धमा उनले बाजी मार्छन् कि उनका विरोधीले ।
१५. यस अलावा सीएससीबाट एक जना उम्मेदवार उठ्नेछन् । जो उठे पनि ती उम्मेदवारका लागि खास गाह्रो छैन चुनाव जित्न । तर खेल न हो, अघिल्लो चुनावमा पनि सीएससीका सिएहरु बाँडीएकै हुन् ।
१६. सिए भरत रिजालको समूहबाट हेम काफ्ले बाहेक कुनै उम्मेदवार पनि उठ्ने चर्चा छ ।
१७. यसअघि एक्यानको चुनावमा पराजित भएका जेएन प्रतिहस्त पनि चुनाव उठ्ने चर्चा छ भने प्राय उठिरहने र हारिरहने प्रमोद स्वर्णकार पनि चुनाव उठ्ने चर्चा छ ।
१८. पोखरा कार्यक्षेत्र भएका सिए सुजन श्रेष्ठ पनि आशन्न चुनावका उम्मेदवार हुन् । किरण डंगोल लगायतको टिमको उनलाई साथ छ ।
प्रतिक्रिया दिनुहोस्