Skip to content

‘आरएलाई सिए बनाउने हो भने ओभरसियरलाई इन्जिनियर बनाइदिउँ, अनि स्टाफ नर्शलाई डाक्टर’

  • सिए सरोकार सम्बाददाता 
काठमाडौँ । रजिस्टर्ड अडिटरहरुलाई सहज बाटोबाट सिए बनाउने विषयमा आइक्यान काउन्सिलमा समेत छलफल उठेसँगै यो विषयमा चौतर्फी चर्चामा छ । एक्यानका पूर्वउपाध्यक्ष दीपक पाण्डेले यस विषयलाई लिएर कडा प्रतिक्रिया दिएका छन् । यस्तो विषयमा आइक्यानका पार्सदहरु र एक्यानका पदाधिकारीहरु मौन बस्नुले आफुलाई दुखी तुल्याएको भन्दै यो प्रकरणलाई रहस्यमय भएको प्रतिक्रिया दिएका छन् ।
‘नेपाल चार्टर्ड एकाउन्टेन्टस संस्था (ICAN)का आरए सदस्यलाई केहि सामान्य प्रक्रिया पुर्याएर चार्टर्ड एकाउन्टेन्ट्स (सि.ए)को मान्यता दिने गरि प्रक्रिया अगाडी बढेको हल्ला जानकारीमा आएको छ । समग्र लेखाव्लायवसायलाई चिरकालीन असर पर्ने यस प्रकारको निर्णय हुनु अगाडी अध्ययन प्रतिबेदन सार्बजनिक गरेर यसमाथि सम्पूर्ण सदस्यको राय लिएर मात्र अघि बढियोस् । यस बिषयमा बिगत केहि दिनदेखि सामाजिक संजालमा तिब्र बहस चलिरहेको बेलामा समग्र सिए समुदायको हितको लागि जिम्मेवार ACAN र यसैको लागि सपथ लिएका एक्यानका जिम्मेवार पदाधिकारीहरु यस बिषयमा बहस अगाडी बढाएर नेतृत्व लिनुको सट्टा चिर निन्द्रामा बस्नुले अझ यस प्रकरणलाई रहस्यमय बनाएको छ । यसको लागि ACAN आफै तत्पर भई सदस्यहरुलाई जागरण गराउनुपर्ने ठाउँमा ठिक बिपरित सदस्यहरुको तर्फ बाट प्रश्नचिन्ह खडा गर्दा समेत मौन बस्नुले अझै दुखी तुल्याएको छ ।’ उनले सामाजिक संजालमा लेखेका छन् । 
‘सिएको अध्ययनमा विद्यार्थीको आकर्षण बढिरहेको बेलामा सिएको लागि भूमिका र नयाँ क्षेत्र खोजिनुपर्ने बेलामा अझ संकुचित गर्दै जानुले नयाँ सिए तथा सिए अध्ययन गर्दै गरेकाको भविष्य अन्योल पार्नुका साथै यस क्षेत्रको लागि ठुलो अभिसापको रुपमा रहने कुरामा कसैको दुईमत छैन होला । नेपालको लेखा व्यवसायमा आरएको भूमिकालाई नजर अन्दाज गर्न सक्ने स्थिति नभए पनि सिधै आरए सदस्यलाई कर्म काण्डी प्रक्रिया पूरा गरेर सिएको तक्मा दिनु के उचित होला ? यदि यस्तै प्रथाको बिकास गर्दै जाने हो भने, ओभरसियरलाई इन्जिनियर बनाइदिउँ अनि HA/CMA/Staff Nurse आदिलाई डाक्टर बनाईदिउँ । त्यसपछि यी पेशाको गरिमा के रहला? उनीहरुको क्षमता र अनुभवको आधारमा केहि सुबिधा थप गर्ने कुरालाई स्वीकार गर्न सकिएला तर आरएलाई सिधै सिए बनाउने कुरा कुनै पनि तरिकाले स्वीकार गर्न सकिदैन ।’ उनले लेखेका छन् ।
आइक्यानका पार्सद र एक्यानका कार्यकारिणी सदस्यहरुलाई समेत प्रश्न गर्दै उनले भनेका छन्, ‘सिएको मतले निर्वाचित हुनुभएका ICAN पार्षद सदस्य तथा ACAN कार्यकारिणी समितिका सदस्यको यस सम्बन्धमा धारणा के हो ? के उहाँहरु यस निर्णयसहित ICAN, ACAN र सिए पेशाको गरिमालाई खाडलमा हाल्न तयार हो ? यस सम्बन्धमा ICAN तथा ACAN को सदस्यको हैसियतले सम्बन्धित सबैको प्रतिक्रिया जान्न इच्छुक छु । सायद यो चाहना मेरोमात्र नभएर समग्र लेखा ब्यबसायको हित चाहने साथीहरुको पनि हो । आशा छ, सम्बधित सबैले जिम्मेवारपूर्ण तरिकाले आफ्नो भूमिका निर्बाह गर्दै यो पेशाको गरिमा तथा मर्यादा सधै कायम गरिरहनु हुनेछ ।’

प्रतिक्रिया दिनुहोस्