
- सिए सरोकार सम्बाददाता
काठमाडौँ- मकवानपुरमा जन्तीबस दुर्घटना हुँदा २ जनाको निधन । सिए विद्यार्थीहरु सुर्य न्यौपाने र अनिशा भट्टको विवाहका लागि मंगलबार भक्तपुरबाट जन्ती बोकेर हेटौंडातर्फ जादैं गरेको बा ४ ख २२१७ नम्बरको बस दिउँसो १ः४५ कान्तिलोक मार्ग अन्तर्गत मकवानपुरको गढी गाउँपालिका-२ चैनपुर डाँडामा दुर्घटना भएको हो । उक्त दुर्घटनामा २ जनाको घटनास्थलमै मृत्यु भएको र १९ जना घाइते भएको प्रहरीले जनाएको छ ।
जिप्रका मकवानपुरका डीएसपी यज्ञ प्रसाद भट्टराईले दिएको जानकारी अनुसार मृत्यु हुनेमा नुवाकोट घर भई बालाजु बस्ने बिकास धमला र भक्तपुर घर भएका नवराज परियार रहेका छन् । उनिहरुको घटनास्थलमै मृत्यु भएको जनाइएको छ । धमला आइक्यानका विद्यार्थी हुन् ।

घाइतेमध्ये १३ जनाको हेटौंडा अस्पताल र ६ जनाको चुरे हिल अस्पतालमा उपचार भइरहेको डीएसपी यज्ञप्रसाद भट्टराईले सिए सरोकारलाई जानकारी दिए । घाइतेमध्ये सरोज कंडेल पनि सिए विद्यार्थी हुन् । बस सडकबाट २० मिटर तल खसेर रुखमा अड्किएको छ । बसमा चालक सहित २९ जना यात्रु रहेको बताइएको छ । वाणिज्य बैंकमा कार्यरत अनिशा भट्ट र सिए फाइनल अध्ययन गरिरहेका सूर्य न्यौपानेको विवाहको दिन यस्तो घटना भएको हो ।

यता आफ्ना विद्यार्थी निधन भएकोमा सीसीएमए कलेजले पनि दुख व्यक्त गरेको छ । भारतमा आफ्नी आमाको उपचार गराईरहेका सीसीएमएका प्रबन्ध निर्देशक दीपेश कुमार थपलियाले आफ्नो विद्यार्थीको निधनले आफु गहिरो शोकमा परेको बताएका छन् । यहि दुखद घटनाका कारण मृत आत्माको चीर शान्तिको कामना गर्दै सीसीएमए फाल्गुन ३० गते बन्द गराइनेसमेत उनले जानकारी गराएका छन् ।
प्रतिक्रिया दिनुहोस्