Skip to content

बढ्यो क्रेज, बढेन परिणाम

सञ्जय पन्थी :काठमाडौं, ५ पुस- नेपालमा चार्टर्ड एकाउन्टेन्ट संस्था (आईक्यान) ले
स्वायत्त शैक्षिक संस्थाको आधिकारिक मान्यता पाएको १४ वर्ष बितिसकेको छ ।
डेढ दशकदेखि आफैं परीक्षा सञ्चालन गरिरहेको आईक्यानले १९१ जनालाई चार्टर्ड
एकाउन्टेन्ट (सीए) बनाउन सक्यो ।


यो अवधिमा १५ हजार १६३ विद्यार्थी विभिन्न तहमा भर्ना भएका छन् । आईक्यानमा दुई वा तीन (क्याप वान, क्याप टु र फाइनल ईयर) तहको अध्ययन पूरा
गरेपछि सीए उत्तीर्ण हुन सकिन्छ । दस जोड दुई गरेका विद्यार्थी क्याप
वानदेखि परीक्षामा सहभागी हुनुपर्ने हुन्छ भने स्नातक गरेका विद्यार्थी
क्याप टुमा भर्ना हुन सक्छन् । सन् १९९९ मा सरकारले ऐन ल्याएर स्वायत्त संस्थाका रूपमा आईक्यानलाई आधिकारिक
मान्यता दिएपछि पहिलोपटक २००४ मा १ विद्यार्थीले मात्र सीए ‘फाइनल इयर’
उत्तीर्ण गरेका थिए । त्यसयताका वर्ष यो संख्यामा केही वृद्धि भएको छ । आईक्यानका प्राविधिक निर्देशक रामचन्द्र अधिकारी नेपालको आर्थिक उन्नतिसँगै
सीए अध्ययन गरेका विद्यार्थीका लागि अवसर थपिएको बताउँछन् । “देशमा अवसरका
दृष्टिले उचित रूपमा सीए उत्पादन भएका छन्,” उनी भन्छन् । नेपालमा विदेशबाट सीए अध्ययन गरेका विद्यार्थी दोब्बर रहेको आईक्यानको
तथ्यांकमा छ । भारतको चार्टर्ड एकाउन्टेन्ट संस्था (आईक्यान) मा अध्ययन
गर्ने विद्यार्थीको संख्या अहिले पनि उल्लेख्य छ । आईक्यानबाट उत्तीर्ण
विद्यार्थीलाई पनि नेपालमा आईक्यानले रजिस्टर्ड गर्दै आएको छ । विदेशमा अध्ययन गरेका सीएले ‘चार्टड एकाउन्टेन्ट’ सदस्यका लागि भने
परीक्षा दिएर उत्तीर्ण हुनपर्छ । विदेशमा अध्ययन गरेर नेपालका कर्पोरेट
संस्थामा काम गर्ने सीए पनि छन् । तर, त्यस्ता कति सीए छन् त भन्ने
आधिकारिक तथ्यांक आईक्यानसँग नरहेको निर्देशक अधिकारी बताउँछन् ।
‘क्याप वान’बाट अध्ययन सुरु गर्ने विद्यार्थीलाई निरन्तर परीक्षा उत्तीर्ण
गर्दा पनि सीए हुन कम्तीमा साढे ४ वर्ष लाग्छ । स्नातक उत्तीर्ण भएर
‘क्याप–टु’ बाट अध्ययन थाल्नेहरूले ४ वर्षमा फाइनल इयर सक्छन् । सीएका
विभिन्न तहको परीक्षा उत्तीर्ण हुन सबै विषयमा न्यूनतम ५० प्रतिशत अंक
ल्याउनुपर्छ । तहगत परीक्षामा कुनै एक विषयमा मात्रै सोभन्दा कम अंक आएमा
सबै विषयको पुनः परीक्षा दिनुपर्ने हुन्छ । एउटा विषयमा असफल भएपछि सबै विषयको परीक्षा पुनः दिनुपर्ने भएकाले पनि
थारै विद्यार्थी सफल भएका हुन् । केही विद्यार्थी भने परीक्षाको यो
मूल्यांकन प्रणाली नै ठीक नभएको बताउँछन् । क्यान अध्ययनका लागि कुनै विशेष
कलेज नभएकाले विभिन्न इन्टिच्युटमा अध्ययन गर्नुपर्ने र आईक्यानमा परीक्षा
लिइने पद्धति पनि गलत भएको उनीहरूको ठहर छ । आईक्यान निर्देशक अधिकारी भने मेहनती विद्यार्थीले मात्र अध्ययन गर्न सक्ने
विषय रहेकाले कम पास भएको बताउँछन् । “क्याप वान र टुमा भर्ना भएका अधिकांश
विद्यार्थीले बीचैमा परीक्षा छाड्ने भएकाले उत्तीर्ण हुने संख्या कम रहेको
हो,” उनले भने, “अन्य तहमा भन्दा क्याप तीनमा धेरै विद्यार्थी असफल
हुन्छन् ।” क्यानले ६–६ महिनामा परीक्षा लिन्छ । आईक्यानबाट अध्यापनका लागि
सम्बन्धन लिएका मुलुकभर २० इन्स्टिच्युटले सीएको ट्युसन कक्षा लिने गरेका
छन् । नेपालमा स्वदेश तथा विदेशमा अध्ययन गरेका करिब हजार सीए छन् । उनीहरू बैंक
तथा वित्तीय संस्था, कर्पोरेट हाउस, गैरसरकारी संस्था र अन्तर्राष्ट्रिय
गैरसरकारी संस्थासहित सरकारी कार्यालयमा कार्यरत छन् । यद्यपि, नेपालमा आधिकारिक रूपमा कति सीए कार्यरत छन् भन्ने यकिन तथ्यांक
नरहेको क्यानका निवर्तमान अध्यक्ष नवराज बुर्लाकोटी बताउँछन् । “नेपालमा
सीए अध्ययन हुुनुअघि विदेशबाट सीए अध्ययन गरेर आएका अग्रज सीए ४ सयजति
छन्,” उनले भने । नेपालमा उत्तीर्ण प्रतिशत कम हुनुमा यो विषय अध्यापन
गराउने इन्स्टिच्युटको पनि कमजोरी रहेको उनको भनाइ छ । सीएमा विज्ञान विषय लिएर एमबीबीएस र इन्जिनियर अध्ययन गर्ने सोच बनाएका
विद्यार्थी पनि आकर्षण हुने क्रम बढेको बुर्लाकोटीले बताए । “राम्रा
विद्यार्थी आएकाले आगामी दिनमा उत्तीर्ण प्रतिशत पनि बढन् सक्छ,” उनले भने । आफ्ना सन्तानलाई डाक्टर, इन्जिनियर बढाउन चाहने अभिभावक पनि केही वर्षयता
सीएतिर ‘डाइभर्ट’ हुन थालेका छन् । “सीएलाई डाक्टर, इन्जिनियरको विकल्पका
रूपमा लिने गरिएको छ,” बुर्लाकोटी भन्छन् ।

कारोबार दैनिकको यस खबरमा आइक्यान हुनु पर्ने ठाउँमा ‘क्यान’ भनेर लेखिएको छ जुन कुरालाइ लिएर केहि बिधार्थीहरुले सामाजिक संजालमा यस समाचारको बिरोध समेत गरेका थिए।ठुलाभनिएका  मिडियाहरुमा सिए बारे जान्ने पत्रकारको अभाव रहेको भन्दै केहि बिधार्थीहरुले यस समाचारका सम्पादकमाथि पनि असन्तुस्टी ब्यक्त गरेका थिए।

प्रतिक्रिया दिनुहोस्