Skip to content

सपना सीए, विपना— थाहा छैन

दुई
साताअघि चार्टर्ड एकाउन्टेन्ट (सीए) पढाइको अन्तिम नतिजामा ३ दसमलव ११
प्रतिशत विद्यार्थीमात्रै उर्त्तीण भएपछि सीए अध्ययनरत नेपाली विद्यार्थीको
जमात आश्चर्यमा डुबेको थियो ।
लक्ष्मीनगर क्षेत्रमा सीए अध्ययनरत
विद्यार्थीहरू आ-आफ्ना मनका गुम्फनहरू फेसबुक र ट्विटरमा पोख्न तल्लिन थिए,
विस्मयबोधक चिन्हसहित ।
 सीएको सबै
तहमा रहेका ३२ हजार विद्यार्थीमा १२ हजारभन्दा बढी नेपाली विद्यार्थी छन्,
जो लक्ष्मीनगर क्षेत्रमा अस्थायी वासिन्दा बनेर आफ्ना सपना हुर्काउनमा
तल्लिन छन् ।
 नेपाली गाउँघर वा
सहरमा रहेका आफन्तजनका सपनामा जोडिएर चार्टर्ड एकाउन्टेन्ट बन्न आएका
हजारौं विद्यार्थीका निम्ति ‘३ प्रतिशत उर्त्तीण’को भूतले यसरी तर्साएको छ,
जो अझै होशमा फिरिसकेका छैनन् ।
धेरैलाई यो हिसाब-किताब थाहा छैन— उच्च
माविको पढाइपछि सीए बन्ने सपना लिएर लक्ष्मीनगर आउने विद्यार्थीले मासिक
औसतमा १० हजार भारु खर्च गरिरहेका छन् । यो हिसाबले १२ हजार विद्यार्थीको
वाषिर्क खर्चमात्रै झन्डै २ अर्ब रुपैयाँ हुने गरेको छ । यसरी
तथ्य-तथ्यांकमा सीए विद्यार्थीको पढाइमार्फत अबौर्ं नेपाली रुपैयाँ
बाहिरिने विषय समाचार बन्नसक्ने भए पनि यी विद्यार्थीले बेहोरेको पीडा र
मनोदशाको हिसाब-किताब भने यहाँ नसोचेको सूचांकमा आउन सक्छ । अर्को ‘नसोचेको
परिणाम’ पनि लक्ष्मीनगरका विद्यार्थीमाझ छँदैछ, यो वर्ष ५ जना सीए
प्रत्याशी विद्यार्थीले कारण नखुलेकै अवस्थामा आत्महत्या गरेका छन् । केही
विद्यार्थी आफ्नो पढाइ र नतिजामा निराश बनेर घर फिरेका छन् भने
लक्ष्मीनगरमा चुरोट/खैनीको अम्मली बढ्नेहरूका बारे स्वयम् विद्यार्थीका
अगुवा बन्नेहरूले सम्झाइ-बुझाइ अभियान थालिरहेका छन् । ३ सयभन्दा बढी
ट्युसन सेन्टर रहेको लक्ष्मीनगर क्षेत्रमा कसैले कसैको गतिविधिमा निगरानी
गर्न असम्भव रहेको स्थानीय विद्यार्थी स्वयम् बताउँछन् ।
सीए अध्ययनरत विद्यार्थी विमल अधिकारीका
अनुसार भारतमा चार्टर्ड एकाउन्टेन्ट पढाइ पुरा गरेपछि अन्तर्राष्ट्रिय
स्तरमा आफूलाई स्थापित गराउन सकिन्छ भन्ने बुझाइ धेरैमा छ । भारतमा ६३ औं
वर्षगाँठ मनाइसकेको सीए विषयको अध्ययन-अध्यापनले यो अवधिमा अन्तर्राष्ट्रिय
मान्यता र स्तरीकरणको प्रशस्तै अभ्यास गरेको छ, तर नेपालमा १८ वर्षको
इतिहास रहेको सीए विषयले अझै केही मुलुक बाहेकमा मान्यता जुटाउनसकेको छैन ।
नेपालको सीए पढाइलाई भारतमै समेत मान्यता नदिएको अवस्थाका अगाडि आफूलाई
अन्तर्राष्ट्रिय बजारमा बिक्री गराउन पनि नेपाली विद्यार्थी भारत आउने
गरेको विमलको बुझाइ छ । नेपालमा आइक्यान बोर्ड अन्तर्गत सीए अध्ययन तथा
परीक्षाको प्रबन्ध भए पनि नेपालको पढाइलाई अष्ट्रेलिया, सिंगापुरजस्ता केही
मुलुकले मात्रै मान्यता दिएका छन् ।
‘नेपालको पढाइलाई अन्तर्राष्ट्रिय बजारमा
मान्यता दिलाउने र नेपालमै हामीले पढ्ने अवसर पाउने हो भने यहाँसम्म आएर
अनेक मानसिक र आर्थिक तनाव बेहोर्नैपर्ने थिएन,’ सीए अन्तिम वर्षमा
अध्ययनरत प्रवेश आचार्य भन्छन्— ‘तर हामी भने अरुलाई दोष देखाएरै आफ्नो समय
र अवसर गुमाइरहेका छौं ।’ लक्ष्मीनगर क्षेत्रमा बढेको विकृति र नेपाली
विद्यार्थीमाझ बढ्दो नैराश्यताबारे   अहिलेसम्म कसैले विचार नगरेको
प्रवेशको भनाइ छ ।
केही अघि झन्डै ५ वर्षको लगातारको खर्च र
मिहिनेतपछि चार्टर्ड एकाउन्टेट -सीए) उर्त्तीण गर्न सफल एक दर्जनभन्दा बढी
नेपाली विद्यार्थीले लक्ष्मीनगरमा आयोजित एक समारोहको खबर पनि उत्तिकै
निराशाजन्य थियो । ‘सीए पढ्नका लागि यता नआउनु भनेर तपाईको मिडियामार्फत
खबर लगिदिनुस् है । ५ वर्षको पढाइ अवधिमा झन्डै १० लाख भारु खर्च भएको छ,’
बाँके घर भएका सुवास पौडेलको भोगाइ थियो— ‘तर अहिले न यता जागिर पाइन्छ, नत
नेपाल गएरै केही हुनसक्ने अवस्था छ ।’ उनका अनुसार भारतीय चार्टर्ड
एकाउन्टेन्ट कोर्सको संसारभर मान्यता छ भने नेपालको पढाइको त्यो स्थान छैन ।
फेरि सीए उर्त्तीण भएर नेपाल गए पनि नेपाल बोर्ड -आइक्यान) बाट कर र
कानुनसम्बन्धी ३ वटा पेपर परीक्षा दिएपछि मात्रै यताको पढाइले मान्यता पाउन
सक्छ । ‘तर हामीजस्ता डिग्री हातमा लिएर पनि काम नपाइरहेका सीए जनशक्तिको
संख्या नेपालमा ६ सयभन्दा बढी छ,’ धनगढीका अर्का सफल सीए सरोज पन्तको
गुनासो थियो ।
काठमाडौं धोबीघाटवासी पल्लवी यादव पनि सीए
पढाइमा लक्ष्मीनगर आएको दुई वर्ष भैसकेको छ । यस बीचमा यो विषयमा बढेको
प्रतिस्पर्धा र बढ्दो विद्यार्थीको संख्या हेरेर उनी पनि अत्तालिने गर्छिन्
। ‘नेपालको पढाइलाई बाहिर मान्यता छैन,’ उनी भन्छिन्— ‘एकातर्फ मान्यता
भएको पढाइ गर्न र अर्कातिर अलिक दक्षतायुक्त ज्ञान लिन म आएकी हुँ ।’ उनले
भने पढाइ पुरा भएपछि नेपालमै गएर कामको खोजी गर्ने योजना बनाएकी छिन् ।  
पल्लवीजस्तै भविष्यको योजनामा ढुक्क बन्न
नसकिरहेका इटहरीका पदम थापा पनि भर्खरै सीए उर्त्तीण सफल विद्यार्थी हुन् ।
‘यति खर्च र मिहिनेत गरेर पढियो, तर अहिले आएर अब के गर्ने होला भन्ने
भैरहेको छ,’ पदमले भने । भारतीय कम्पनीहरूमा काम पाइगए पनि मासिक २५ हजार
रुपैयाँभन्दा बढीको काम फेला नपर्ने र लामो समय प्रशिक्षण कालमा
बिताउनुपर्ने कठिनाइ पनि यी विद्यार्थीसामु छ । त्यसमाथि नेपालमा झन्डै ८
हजार ‘रजिष्टर्ड अडिटर’ले लेखापरीक्षणको बजार ओगटिरहेका बेला यो
प्राक्टिसलाई तुरुन्त हटाएमा मात्रै शैक्षिक रूपमा सक्षम जनशक्तिले काम
पाउन सक्ने सीए उर्त्तीणहरूको भनाइ र बुझाइ छ ।
लक्ष्मीनगरमा नेपाली विद्यार्थीको बढ्दो
चाप देखेर व्यावसायिक अर्थमा आफ्नो केन्द्र -ट्युसन) विस्तार गरेको प्राइम
सीएका प्रबन्धक गोविन्द पोखरेलका बुझाइमा ठूला सपना देखाएर मात्रै भारतमा
नेपाली सीए विद्यार्थी तानिरहनुको उति अर्थ हुँदैन । सीए विद्यार्थीका
निम्ति लक्ष्मीनगरमा मात्रै ३ हजारभन्दा बढी ट्युसन/कोचिङ केन्द्र रहेका
छन् । ‘यहाँ आएको पहिलो महिनामै १ लाख भारु तत्काल खर्च हुने गर्छ,’ उनले
भने— ‘अरु तनाव र समस्याबारे पनि सुरुमै अवगत हुनु राम्रो हुन्छ ।’
सीए विद्यार्थीको समस्या बुझ्ने नाममा
कहिले अर्थमन्त्री शंकर कोइराला, कहिले माओवादी नेता सीपी गजुरेलसम्म
लक्ष्मीनगर सीए जगतमा पुगिरहन्छन् । तर विद्यार्थीको समस्या, चासो र
चिन्ताभन्दा बढी आफ्नै राजनीतिको डम्फु बजाएर उनीहरू पाखा लाग्छन् ।
विद्यार्थी प्रतिनिधि विमल अधिकारीका बुझाइमा, अबका दिनमा भने सीए पढ्न
भनेर लक्ष्मीनगरमा छोराछोरी पठाउने बाबुआमाले यताको बिग्रँदो शैक्षिक र
सामाजिक वातावरणबारे पनि ध्यान दिनु बुद्धिमानी हुनेछ । यहाँ बढेको
दुव्र्यसन, असामाजिक स्थिति र विग्रहका माझ छोराछोरी राम्रैगरी पढाइमा
जुटेका छन् अथवा अरु नै कुलतको बाटोमा हिँड्दैछन्— बुझबुझारथ गर्नु उपयुक्त
हुनेछ । काठमाडौं वा नेपालका अन्य गाउँ-सहरमा बसेर छोराछोरी पढाउन
पैसामात्रै पठाइरहने तर अरु वस्तुस्थिति नबुझ्ने हो भने देखेको सपनाको
उपलब्धि पनि शैक्षिक नतिजाजस्तै ३ प्रतिशतमा सीमित हुनेछ । यो
लक्ष्मीनगरवासी नेपाली विद्यार्थीको सुझावसमेत हो ।
ORIGINALLY PUBLISHED HERE:
– See more at: http://ekantipur.com/np/2070/10/22/full-story/383693.html#sthash.W7Q9xSKk.dpuf

प्रतिक्रिया दिनुहोस्