Skip to content

चलचित्र निर्माता बनेका सिए टिएन आचार्य भन्छन : सबै वर्गले श्री ५ अम्बरे मन पराएका छन्

पेसाले
लेखापरीक्षक टिएन आचार्य अहिले चलचित्र निर्माताका रूपमा परिचित छन् ।
उनले निर्माण गरेको फिल्म श्री ५ अम्बरे हाल देशभरका चार दर्जनभन्दा बढी
हलमा प्रदर्शन भइरहेको छ । शुक्रबारदेखि थप केही हलसहित दोस्रो सातामा
प्रदर्शन हुन लागेको श्री ५ अम्बरेको सफलताले उनी निकै हौसिएका छन् । सानैदेखि चलचित्र हेर्न हुरुक्कै
हुने गर्दथे उनी । त्यही मोहले गर्दा निर्माता बनेका आचार्य नेपाल विद्युत्
प्राधिकरण बोर्डका पूर्वसदस्य हुन् । नागरिक लगानी कोष, स्थानीय विकास
मन्त्रालय, वित्तीय आयोग सदस्य हुँदै हाल नेपाल एयरलाइन्स सञ्चालक समित र
एमाओवादी केन्द्रीय लेखापरीक्षण आयोगको सदस्यसमेत रहेका उनीसँग श्री ५
अम्बरेबारे गरिएको कुराकानी :
राजनीतिक तथा लेखापरीक्षण कार्यमा सक्रिय तपाईंलाई फिल्म निर्माण गर्ने सोच कसरी आयो ?
म सानैदेखि फिल्म हेर्न हुरुक्कै हुन्थँे । कुनै दिन फिल्म बनाउन पाए
हुन्थ्यो भन्ने थियो । भाइ दीपक पहिलादेखि नै टेलिफिल्म, फिल्म
खेल्ने–बनाउनेमा थियो । उसले मलाई श्री ५ अम्बरेको स्क्रिप्ट सुनायो । त्यो
स्टोरीले मेरो मन छोयो । अनि दीपा बस्नेत, जीवनसाथी बस्नेतजीहरूसँग मिलेर
फिल्म बनायौँ ।
तपार्इं आफैं क्रान्तिकारी
पार्टीमा संलग्न हुनुहुन्छ, तर फिल्म भने देशबाट उन्मूलन भइसकेको राजतन्त्र
झल्काउने नामको छ नि, के भन्नुहुन्छ ?

नेपाली जनताले देशबाट श्री ५ हटाइसकेका छन् । तर पनि हाम्रो टोल, गल्ली,
गाउँसहरमा श्री ५ बन्ने सपना देख्ने, चाहना राख्ने तथाकथित ठालुहरूको कमी
छैन । तर, हाम्रो फिल्म सडकमा अपहेलित जीवन बिताउन बाध्य नेपालीको कथामा छ ।
हामीले सडक बालबालिकादेखि युवायुवतीसम्मको दिनचर्या, जीवनशैली, सपना, सोच र
लक्ष्यबारे धेरै समय रिसर्च गरेर स्क्रिप्ट तयार पारेका हौँ । ताकि राज्य
आफ्नो सडकनागरिकबारे सोच्न बाध्य होस् भन्ने हाम्रो मनसाय हो । यसका साथै
फिल्ममा हामीले कमर्सियल सबै खजाना समावेश गरेका छौँ । त्यही कारण फिल्म
हिट भएको छ ।
अहिले फिल्म प्रदर्शन भइरहेको छ, प्रतिक्रिया कस्तो पाउनुभएको छ ?
एकदमै राम्रो रेस्पोन्स आइरहेको छ । समीक्षक, बुद्धिजीवी वर्गदेखि लिएर
निम्न मध्यम वर्गले समेत श्री ५ अम्बरे एकदम मन पराएका छन् । फिल्ममा
हामीले सडकयुवाको कथा प्रस्तुत गरेका छौँ । विवशताले सडकमा जीवन बिताइरहेको
अम्बरे प्रतिनिधि पात्र हो । ऊ राजा बन्न चाहन्छ । यो एउटा सपनाको कथा हो ।
जो–कोही मानिसले पनि आफ्नो लक्ष्य लिएको हुन्छ । त्यो लक्ष्यमा पुग्न उसले
कति संघर्ष गर्छ, समाजले उसलाई कसरी हेर्छ भन्ने यावत् कुरा हाम्रो
फिल्ममा छ । त्यसैले सबै वर्गका दर्शकले मन पराएका छन् ।
दीपाजीको निर्देशनमा फिल्म बनाउँदा कस्तो अनुभव भयो ?
दीपाजी एकदम ट्यालेन्ट हुनुहुन्छ । मैले उहाँको पहिलो फिल्म अन्तराल हेरेको
थिएँ । त्यो फिल्ममा युवालाई सन्देशका साथै आमदर्शकलाई भरपुर मनोरञ्जन
प्रस्तुत छ । सोहीअनुरूप उहाँले श्री ५ अम्बरेमा पनि निकै मिहिनेत
गर्नुभएको छ । उहाँ, जीवनसाथीजी, कलाकार, प्राविधिक, गायक, संगीतकार सबैको
कामदेखि म निकै खुसी छु । हाम्रो मिहिनेतको फल हो– श्री ५ अम्बरे ।
अबको तपाईंको योजना के छ ?
अब हामी अर्काे फिल्म बनाउँदै छौँ । त्यसको लोकेसन फाइनल गर्न म आगामी साता
मलेसिया जाँदै छु । वैदेशिक रोजगारीमा जाने नेपालीको कथाव्यथामा बन्नेछ
हाम्रो फिल्म । सबै कुराको प्रबन्ध मिलाएपछि हामी सुटिङ सुरु गर्नेछौँ ।
श्री ५ अम्बरेबारे दर्शकलाई केही भन्न मन लागेको छ कि ?
कला र व्यापारको संयोजन गर्नु निकै गाह्रो काम हो । तर, हामी हाम्रो
प्रयासमा सफल भएका छौँ । यसमा तपार्इंहरूको साथ अपरिहार्य छ । त्यसैले
आमनेपाली दाजुभाइ दिदीबहिनीलाई एकचोटि श्री ५ अम्बरे हेरिदिन र आफूलाई
लागेको प्रतिक्रिया व्यक्त गरिदिनुहुन आग्रह गर्छु ।
नयाँ पत्रिकाबाट

प्रतिक्रिया दिनुहोस्