Skip to content

सीए आकर्षण र अवसर

भक्तपुरका विकेश श्रेष्ठ मङ्गलवार नेपाल चार्टर्ड एकाउण्टेण्ट्स संस्था
(आईक्यान)मा भेटिए । भक्तपुरको सानोठिमीस्थित एसओएस उच्च माविबाट विज्ञानमा
प्लस टू गरेका उनी आईक्यानसम्म आइपुग्नुलाई संयोग मान्छन् । उनी कक्षा १२
को परीक्षा सक्नेबित्तिकै डाक्टर बन्ने उद्देश्यले एमबीबीएसको तयारीमा जुटे
। तर, छात्रवृत्तिमा नाम ननिस्केपछि ३० देखि ४० लाख रुपैयाँ शुल्क तिरेर
एमबीबीएस पढ्नुको साटो उनले सीए पढ्ने सोच बनाए । ‘अब म भविष्यमा उत्कृष्ट
चार्टर्ड एकाउण्टेण्ट बन्ने सोचका साथ सीए अध्ययन गर्न आएको हुँ,’ प्लस
टूमा ७९ दशमलव ४ प्रतिशत अङ्क हासिल गरेका उनले भने । नेपालका लागि नयाँ र
प्रशस्त अवसर भएको विषयका रूपमा सीए रोजेको उनले बताए ।
भर्खर व्यवस्थापन सङ्कायबाट कक्षा १२ को परीक्षा उत्तीर्ण गरेका इलामका
भीम भण्डारीले चार्टर्ड एकाउण्टेण्ट बन्ने उद्देश्यले सीए कोर्स पढ्ने सोच
बनाएका छन् । अन्य क्षेत्रको तुलनामा यसमा बढी सम्भावना देखेर सीए पढ्ने
सोच बनाएको उनले बताए । ‘यो विषय गाह्रो भए तापनि मेहनत, धैर्य र लगनशीलता
भए सफल भइन्छ,’ उनले भने । विकेश र भीमजस्तै सयौं विद्यार्थी आईक्यानमा
नयाँ भर्नाका लागि आएको संस्थाका प्राविधिक निर्देशक परमानन्द अधिकारीले
बताए ।
आईक्यानअन्तर्गतको सीए
सीए स्वाध्ययनमूलक कोर्स हो । त्यसैले, चार्टर्ड एकाउण्टेण्ट बन्नका
लागि कुनै औपचारिक कक्षामा भर्ना हुनुपर्दैन । स्वाध्ययन, व्यावहारिक ज्ञान
र प्रयोगात्मक क्रियाकलापका आधारमा यो पाठ्यक्रम पूरा गर्न सकिन्छ । तर,
विद्यार्थीले कक्षा लिनुपर्ने आवश्यकता ठानेमा आईक्यानको सम्बन्धनप्राप्त
‘कोचिङ संस्था’हरूमार्पmत कक्षा लिन सक्ने आईक्यानका निर्देशक अधिकारी
बताउँछन् । सीए कोर्सलाई क्याप वान, क्याप टू र क्याप थ्री गरी तीन भागमा
विभाजन गरिएको छ । त्यसअन्तर्गत क्याप टूमा २ वर्ष अवधिसम्म सैद्धान्तिक
अध्ययन हुन्छ । क्याप थ्रीमा ३ वर्ष अवधिको सैद्धान्तिक र व्यावहारिक दुवै
विधिबाट प्रयोगात्मक अध्यापन (आर्टिकलशिप) गर्नुपर्ने व्यवस्था छ । ‘क्याप
वान’ आधारभूत तह हो । जुनसुकै सङ्कायबाट प्लस टू उत्तीर्ण गरेका विद्यार्थी
पनि यो तहमा भर्ना हुन सक्छन् । क्याप टू पढ्नका लागि क्याप वान उत्तीर्ण
गर्नैपर्छ । आफूअन्तर्गत भर्ना भएका सीए पढ्ने विद्यार्थीहरूलाई आईक्यानले
विभिन्न सुविधा उपलब्ध गराइरहेको छ । तर, यसले औपचारिक रूपमा कोचिङ कक्षा
भने सञ्चालन गर्दैन ।
आईक्यानले डिसेम्बर १ बाट मे अन्तिमसम्म जुन ब्याच (समूह) र जुन १ देखि
नोभेम्बर अन्त्यसम्म डिसेम्बर ब्याचका रूपमा वर्षमा दुईपटक परीक्षा लिने
गरेको छ । तर, सीए तालीम लिन चाहनेले वर्षैभरि कुनै पनि समयमा भर्ना हुन
पाउँछन् । सीएमा एउटा तहको सबै विषयको परीक्षा एकैपटक उत्तीर्ण गर्नुपर्छ ।
कुनै एउटा मात्र विषयमा अनुत्तीर्ण भए पनि पुनः सबै विषयको परीक्षा
दिनुपर्छ, ब्याक पेपरको परीक्षा दिने व्यवस्था छैन । सबै विषयको कुल
प्राप्ताङ्क कम्तीमा ५० प्रतिशत हुनुपर्ने प्रावधान छ । हालसम्म आईक्यानले १
सय ७३ जना सीए उत्पादन गरेको छ । भारतमा अध्ययन गरेर आएका समेत गरेर
नेपालमा अहिले करीब ८ सय जना सीए रहेको आईक्यानको तथ्याङ्क छ । भारतबाट सीए
पढेर आएका विद्यार्थीले नेपालमा अभ्यास गर्नका लागि आईक्यानले सञ्चालन
गर्ने दुईओटा विषयको परीक्षा दिनुपर्ने व्यवस्था छ ।
सीएको तालीम लिनेले ५ वर्षमा व्यावहारिक तथा अन्य गरी जम्मा २ हजार २ सय
पूर्णाङ्कको परीक्षा दिनुपर्छ । तीनओटै तहमा ग्रूप वान र ग्रूप टूको
विभाजन गरिएको छ । सीएको क्याप वानमा ‘फण्डामेण्टल अफ एकाउण्टिङ’,
‘फण्डामेण्टल अफ इकोनोमिक्स’, ‘बिजनेश कम्युनिकेशन म्याथम्याटिक्स एण्ड
स्ट्याटिष्टिक्स’, ‘म्यानेजमेण्ट एण्ड अर्गनाइजेशन रिलेशन्स’ र
‘फण्डामेण्टल अफ इन्फर्मेशन टेक्नोलोजी’को अध्ययन तथा तालीम हुन्छ । क्याप
टूमा ‘एडभान्स एकाउण्टिङ, अडिट एण्ड इन्स्योरेन्स’, ‘कर्पोरेट एण्ड अदर ल’,
‘फाइनान्सियल ल’, ‘कष्ट एण्ड म्यानेजमेण्ट एकाउण्टिङ’, ‘बिजनेश
कम्युनिकेशन एण्ड मार्केटिङ’ र ‘इनकम ट्याक्स एण्ड भ्याट’को अध्ययन तथा
तालीम हुन्छ । क्याप थ्रीमा ‘एडभान्स फाइनान्सियल रिपोर्टिङ’, ‘एडभान्स
फाइनान्सियल म्यानेजमेण्ट’, ‘एडभान्स अडिट एण्ड इन्स्योरेन्स’, ‘कर्पोरेट
ल’, ‘म्यानेजमेण्ट इन्फर्मेशन एण्ड कण्ट्रोल सिष्टम’, ‘एडभान्स कष्ट एण्ड
म्यानेजमेण्ट एकाउण्टिङ’लगायत विषयमा विभिन्न सङ्घसंस्थामा गई ३ वर्षको
तालीम लिनुपर्छ । विश्वभर सीए अध्ययन गर्नेहरूले लगभग एउटै कोर्स अध्ययन
गर्नुपर्छ ।
भारतको आईसीएआईअन्तर्गतको सीए
आईक्यान र द इन्ष्टिच्युट अफ चार्टर्ड एकाउण्टेण्ट्स अफ इण्डिया
(आईसीएआई)को सीए कोर्सका अधिकांश विषय समान छन् । तर, कर तथा वाणिज्य
कानूनका दुई विषयमा फरक विषयवस्तु अध्ययन गर्नुपर्छ । नेपालमा पढ्ने
विद्यार्थीले नेपालको कानूनी व्यवस्था पढ्छन् भने भारतमा पढ्ने
विद्यार्थीले भारतका बारेमा पढ्छन् ।
आईसीएआईको साढे चारवर्षे कोर्सलाई तीन भागमा विभाजन गरिएको छ । पहिलो
तह– सीपीटी, दोस्रो तह– आईपीसीसी र तेस्रो तह– सीए फाइनल कोर्स नामकरण
गरिएको छ । पहिलो तह ६ महीना, दोस्रो ९ महीना र तेस्रो तहमा ३ वर्ष अध्ययन
गर्नुपर्ने प्रावधान छ । आईसीएआईले पनि नेपालमा अध्ययन गर्ने विद्यार्थीको
परीक्षा नेपालकै डीएभी स्कूलमा लिने व्यवस्था मिलाएको छ ।
बढ्दो आकर्षण
नेपालमा सीएको अध्यापन ९८ विद्यार्थीबाट शुरुआत भएको थियो । सन्
१९९९÷२००० देखि नेपालमा सीएको अध्यापन शुरू भएको हो । सन् २००३ को
डिसेम्बरमा भएको अन्तिम परीक्षामा १ जना विद्यार्थी उत्तीर्ण भएका थिए ।
अहिले आईक्यानअन्तर्गत १२ हजार विद्यार्थी अध्ययनरत छन् भने १ सय ७३ ले
आईक्यानबाट सीएको अध्यापन पूरा गरिसकेका छन् । आईक्यानले विद्यार्थीलाई
गुणस्तरीय शिक्षा दिनका लागि समयसमयमा पाठ्यक्रम परिवर्तन गर्दै आएको छ ।
अन्तरराष्ट्रिय मान्यता
नेपाल चार्टर्ड एकाउण्टेण्ट्स ऐन २०५३ (संशोधनसहित)ले
अन्तरराष्ट्रियस्तरमा लेखा व्यवसायी र लेखासम्बधी काममा सम्बन्ध विस्तार
गर्ने अधिकार आईक्यानलाई दिएको छ । सोही नीतिअनुसार मुख्यतया संयुक्त
राष्ट्रसङ्घअन्तर्गतको इण्टरनेशल फेडरेशन अफ अकाउटेण्ट (आईफ्याक)को सन्
२००८ देखि सदस्य छ । नेपालबाट चार्टर्ड एकाउण्टेण्ट (सीए)को प्रतिनिधित्व
गर्ने संस्था आईक्यान नै हो । आईक्यानले आईफ्याकले निर्धारण गरेको मापदण्ड
पूरा गरिसकेको संस्थाका अध्यक्ष महेशकुमार गुरागाईँले बताए । एकाउण्टिङ,
अडिटिङ र आचारसंहिताको विषयमा आईफ्याकको मापदण्डमा रहेर काम गरेको अवस्थामा
मात्रै सदस्यता पाइन्छ । त्यसले गर्दा आईक्यानको गुणस्तर
अन्तरराष्ट्रियस्तरको हुने उनी बताउँछन् ।
क्षेत्रीयस्तरमा विस्तार हुँदै
सीए केही मात्रामा जटिल विषय भएकाले पूर्ण रूपमा गाउँ तहमा पुग्न सकेको
छैन । तर, अब आईक्यानले काठमाडौंबाहिर पोखरा, बुटवल, वीरगञ्ज, विराटनगरमा
समेत  शाखा विस्तार गरिसकेको छ भने नेपालगञ्जमा शाखा खोल्ने तयारीमा छ ।
त्यसले गर्दा सबै क्षेत्रका विद्यार्थीले सीए अध्ययन गर्न पाउने भएका छन् ।
‘उनीहरूले त्यहाँबाटै अध्ययन गर्ने र परीक्षा दिन पाउँछन्,’ उनले भने ।
अन्तिम तालीम आईक्यानको केन्द्रीय कार्यालयबाट लिन सक्ने उनले जानकारी दिए ।
क्षेत्रीय केन्द्रहरूमा विद्यार्थी भर्ना, सदस्यता नवीकरण र आईक्यानका
अध्ययन सामग्रीलगायत सुविधा उपलब्ध हुन्छ । त्यसका साथै विद्यार्थीले
वार्षिक परीक्षा पनि ती केन्द्रहरूबाटै दिन सक्छन् । 
चुनौती र समाधान
चार्टर्ड एकाउण्टेण्ट अध्ययन गराउँदा राम्रो अध्यापकको आवश्यकता हुन्छ ।
नेपालमा कार्यरत सीएहरू काममा व्यस्त हुने कारणले गर्न अध्यापकको कमी छ ।
त्यसपछि अर्को चुनौती भनेको दक्ष सीएको पलायन हो । त्यसले गर्दा बजारमा
अध्यापन गराउने सीएको कमी छ । त्यस्तै, स्कूलदेखि डक्टर तथा इञ्जिनीयरिङ
पढ्ने सोच बनाएकाहरू नाम ननिस्कँदा केही निरुत्साहित देखिन्छन् । उनीहरू
सामान्य पढाइमा विदेश कुद्छन् । त्यहाँ गएर त्यस्ता विद्यार्थीले दुःख
पाउँछन् । तर, सीएहरुले डाक्टर तथा इञ्जिनीयरभन्दा पनि राम्रा अवसर पाउँछन्
। यो कुरा बुझाउन र मेहनती विद्यार्थीलाई सीएमा आकर्षित गर्र्न नसकेको
अध्यक्ष गुरागाईंले बताए ।
Source: Abhiyan

प्रतिक्रिया दिनुहोस्