समय यस्तो थियो, अभिभावक र विद्यार्थी दुवैको रोजाइ इन्जिनियरिङ वा
डक्टरमध्ये एक हुन्थ्यो । तर, अहिले त्यस्तो छैन । नेपालमै चार्टर्ड
एकाउन्टेन्ट (सिए) पढाइ हुन थालेपछि विद्यार्थीको आकर्षण बिस्तारै यसतर्फ
बढेको छ । तर, मागअनुसारको
जनशक्ति भने पर्याप्त छैन । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था
(आइक्यान)को तथ्यांकअनुसार नेपालमा अहिले ७ सय ५० जना चार्टर्ड एकाउन्टेन्ट
छन् । त्यसमध्ये एक सय ७५ जनाले आइक्यानबाटै सिए उत्तीर्ण गरेका हुन् ।
यसबाहेकले भारतलगायत देशबाट अध्ययन गरेर आएका हुन् । नेपालमा सिएको अध्यापन
नहुँदा अधिकांशले भारत र केहीले अन्य देशबाट पनि अध्ययन गरेर आउँथे ।
अहिले पनि विदेशमा अध्ययन गरी आउने प्रचलन केही मात्रामा छ । तर, उनीहरूले
नेपालमा लेखा परीक्षण गर्नका लागि आइक्यानको परीक्षा भने अनिवार्य रूपमा
उत्तीर्ण गर्नैपर्छ । आइक्यानले वर्षमा २० देखि २५ जना सिए उत्पादन गर्छ ।
भारतबाट अध्ययन गरेर आउनेसमेत गरी वर्षमा करिब ३ देखि ४० जना सिए उत्पादन
हुन्छन् । अहिलेसम्म सिए अध्ययन गरेकाहरू बेरोजगार बस्नुनपरेका कारण पनि
सिएप्रति आमविद्यार्थीको चासो बढेको छ । ‘सिए अध्ययन गरेपछि बरोजगार
बस्नुपर्दैन’ आइक्यानका प्राविधिक निर्देशक परमानन्द अधिकारी भन्छन्,
‘पहिले सिएहरू बैंक तथा वित्तीय संस्थाप्रति आकर्षित थिए । अहिले आफैँ फर्म
खोलेर पनि रोजगारी सिर्जना गर्न थालेका छन् । यसले थप रोजगारी बढाएकै छ ।’
यसलाई हेर्दा थप सिए उत्पादन भए पनि बजारले खपत गर्ने देखिएको उनी
बताउँछन् । तर, अहिलेसम्म नेपालमा कति सिए आवश्यक छन् भन्ने कुनै आधिकारिक
अनुसन्धान भएको छैन । केही वर्षअघिसम्म थोरै बैंक तथा वित्तीय संस्था र
केही कर्पोरेट हाउस मात्र सिए अध्ययन गरेकाहरूका लागि अवसर हुन्थ्यो । तर,
अहिले अवस्था त्यस्तो छैन । बिस्तारै कर्पोरेट हाउसको संख्या पनि बढिरहेको छ
। नेपालमा बहुराष्ट्रिय कम्पनीको उपस्थिति पनि बिस्तारै बाक्लिँदै छ ।
यसले पनि सिए अध्ययन गरेकाहरूलाई थप अवसर सिर्जना गराएको छ । अर्कोतर्फ
लेखा प्रणालीको महत्त्व बुझ्ने जमात बढेकाले पनि जुनसुकै कम्पनीले सिए
नियुक्त गर्न थालेका छन् ।
नेपालमा बैंक, वित्तीय संस्था, सरकारी तथा गैरसरकारी संस्था आदिको बढ्दो
स्थापनासँगै चार्टर्ड एकाउन्टेन्सी (सिए) को माग बढेकाले पनि यो विषय
अध्ययन गर्नेको संख्या बढेको अधिकारी बताउँछन् । ‘अध्ययनपछि बेरोजगार बस्नु
नपर्ने भएकाले पनि सिए शिक्षाप्रति धेरैको आकर्षण बढेको हो,’ उनले भने ।
सिएमा पढाइसँगै अनिवार्य तालिमको समेत व्यवस्था छ । सिए शिक्षा लिएका
व्यक्ति जुुनसुकै क्षेत्रमा जान सक्ने भएकाले पनि धेरैको आकर्षण बढेको हो ।
दक्ष र अनुभवी चार्टर्ड एकाउन्टेन्टको माग कर्पोरेट क्षेत्र तथा
राष्ट्रिय–अन्तर्राष्ट्रियस्तरमा समेत बढिरहेको छ । आइक्यानका प्राविधिक
निर्देशक परमानन्द अधिकारी त सिएहरूको विशेषता अन्तर्राष्ट्रिय खालको हुने
बताउँछन् । हुन पनि नेपालमा सिए अध्ययन गरेकाहरू प्रतिष्ठित विदेशी
कम्पनीमा कार्यरत छन् । नेपालमा सिए अध्ययन गरेकाहरूले कतिपय देशमा
लेखापरीक्षण गर्न पाउँदैनन् तर लेखा व्यवस्थापनमा भने राम्रो अवसर भएको
अधिकारी बताउँछन् । आइक्यानले अन्तर्राष्ट्रिय वित्तीय प्रतिवेदन प्रणाली
(आइएफआरएस) लागू गर्न थालेको छ । विश्वव्यापी रूपमा एकै खालको लेखा प्रणाली
अपनाउने उद्देश्यले तयार गरिएको आइएफआरएस नेपालले पनि अपनाउन लागेको हो ।
यसमा ४० वटा लेखामान सूचक छन् । अबको लेखा प्रणाली यसै आधारमा तयार हुन्छ ।
यो अलि प्राविधिक खालको लेखामान भएकाले प्राविधिक यस्तो लेखा व्यवस्थापनका
लागि पनि जनशक्ति नै आवश्यकता पर्छ । अधिकारी भन्छन्, ‘नेपालमा पूर्ण
रूपमा आइएफआरएस लागू हँुदा यसले प्रशस्त सिएका लागि अवसर सिर्जना गर्छ
।’ नेपाल विश्वव्यापार संगठनको सदस्य भएकाले पनि नेपालको लेखा प्रणाली
विश्वले बुझ्ने खालको बनाउन आवश्यक छ । नेपालका कम्पनीहरूको लेखा
अन्तर्राष्ट्रिय कम्पनीले बुझ्न सके मात्र नेपालमा उनीहरूले सहकार्य गर्न
सक्ने सम्भावना रहन्छ । यो आइएफआरएसबाट मात्र सम्भव छ । यसका लागि सिए नै
चाहिन्छ । सिमा एकेडेमिक्सका निर्देशक युद्धराज ओली बजारको मागअनुसार सिए
नभएको बताउँछन् । ‘हाम्रो जस्तो भर्खर आर्थिक उन्नतितर्फ अग्रसर रहेको
देशमा दक्ष जनशक्तिको आवश्यकता प्रत्येक वर्ष बढ्दै जान्छ । अन्य
व्यावसायिक कोर्समा जस्तो सिएहरूको उत्पादन धेरै हुन सकेको छैन,’ ओली
भन्छन्, ‘हालको तथ्यांकअनुसार देशको आवश्यकताभन्दा धेरै गुणा कम मात्रामा
सिए उत्पादन भएका छन् ।’ हरेक व्यवसाय तथा संस्थामा सिएको खाँचो भए पनि
भविष्यमा यस पेसाप्रतिको आकर्षण र आवश्यकता थप बढ्दै जाने उनको भनाइ छ । स्रोत: नयाँ पत्रिका दैनिक
प्रतिक्रिया दिनुहोस्