Skip to content

लेखापरीक्षकलाई जेल, सिइओलाई धरौटी

 दुई करोड हिनामिना आरोपमा पक्राउ परेका एभरेस्ट इन्सुरेन्सका
पूर्वसिइओ केवलकृष्ण श्रेष्ठ र पूर्वनायब महाप्रबन्धक अनिल ढुंगेलसँग
अदालतले धरौटी माग गरेको छ । तर, संस्थाका लेखापरीक्षकलाई भने पुर्पक्षका
लागि थुनामा पठाउने आदेश भएको छ । ठगी मुद्दामा काठमाडौं जिल्ला अदालतले शुक्रबार पूर्वसिइओ श्रेष्ठसँग
डेढ करोड र ढुंगेलसँग ७५ लाख धरौटी  माग गरेको छ । पक्राउ परेका दुई
लेखापरीक्षकमध्ये लेखापरीक्षक गोपाल अग्रवाललाई पुर्पक्षका लागि थुनामा
पठाउने आदेश दिएको छ । अर्का लेखापरीक्षक जगदीश अग्रवाल धरौटीमा छुटेका
छन् । पूर्वसिइओ श्रेष्ठ भने धरौटी राखे पनि तत्काल छुट्ने छैनन्,
प्रहरीले एभरेस्टकै अर्काे ठगी मुद्दामा उनीविरुद्ध अनुसन्धान         गरिरहेको छ ।
मुख्य अभियुक्तलाई धरौटीमा रिहा गरेर लेखापरीक्षकलाई भने जेल चलान गर्ने
अदालतको आदेशप्रति प्रहरी असन्तुष्ट बनेको छ ।  केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले चारजना मिलेर दुई करोड ५० लाख
८९ हजार ठगी गरेको दाबीसहित काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको
थियो । प्रहरी अधिकारीका अनुसार ५० लाखभन्दा बढीको ठगी मुद्दामा अदालतले
पुर्पक्षका लागि थुनामा पठाउने गरेको छ । तर, साढे दुई करोड ठगीको
मुद्दामा पनि धरौटीमा रिहा गर्ने आदेश भएकोमा प्रहरीहरू असन्तुष्ट बनेका
छन् । प्रहरीले ६ वर्षसम्म कैद सजाय माग गरी मुद्दा दायर गरेको हो । तर,
काठमाडौं जिल्ला अदालतका न्यायधीश स्वीकृति पराजुलीले धरौटीमा रिहा गर्ने
आदेश दिएका हुन् । अदालतले पहिलेदेखि नै अभियुक्तको पक्ष मुद्दा छिटो बुझाउन दबाब दिएको
अनुसन्धानमा आबद्ध एक प्रहरी अधिकारी बताउँछन् । अभियुक्तका तर्फबाट
वरिष्ठ अधिवक्ता शम्भु थापालगायत १६ जना वकिलले बहस गरेका थिए । जसकारण
अदालतमा मुद्दा दर्ता भएको एक सातापछि मात्र थुनछेक आदेश भएको हो ।  खेतान समूहको प्रमुख लगानी रहेको एभरेस्ट इन्सुरेन्समा भएको ठगी बिमा समितिको छानबिनबाट खुलेको हो ।  फर्जी बिल बनाएर तत्कालीन सिइओ श्रेष्ठले साढे दुई करोडभन्दा बढी
अनियमितता गरेको सिआइबीले जनाएको छ । हाल सो कम्पनीको व्यवस्थापन बिमा
समितिले हेर्दै आएको छ । इन्सुरेन्स कम्पनीले नै दिएको उजुरीका आधारमा
चारजनालाई प्रहरीले पक्राउ गरेको हो ।  श्रेष्ठलाई चार महिनाअघि
अनियमितताकै आरोपमा कम्पनीले निलम्बन गरेको थियो । अनुसन्धानका क्रममा
उनले दुई करोड ५० लाख ८९ लाख पाँच सय ८१ रुपैयाँ ८२ पैसा अनियमितता गरेको
खुलेको थियो । आन्तरिक छानबिनमा उनले त्यति अनियमितता गरेको खुलेपछि
कम्पनीले अनुसन्धान रिपोर्टसहित प्रहरीमा उजुरी गरेको थियो ।  प्रहरीका अनुसार फर्जी बिलहरूमा कम्पनीबाट भुक्तानी दिएको देखाएर
श्रेष्ठले सो रकम आफैँले लिएका थिए । ‘कुनै सम्बन्धै नभएको नागरिक उडड्यन
प्राधिकरणलाई समेत लाखाँै रुपैयाँ दिएको देखाएरसमेत उनले अनियमितता गरेका
रहेछन्,’ सिआइबीका एक अधिकारीले भने । उनको अनियमिततामा सहयोग गरेको
देखिएपछि फाइनान्स विभागका प्रमुखसमेत रहेका ढुंगेललाई समेत पक्राउ गरिएको
थियो ।  सो कम्पनीको लेखापरीक्षण जगदीश अग्रवालको जे सन्तोष एन्ड कम्पनी र
गोपाल अग्रवालको जिके अग्रवाल एन्ड कम्पनीले गरेका थिए । उनीहरूमध्ये
गोपाल अग्रवालले लेखापरीक्षणका क्रममा कम्पनीको खर्चप्रति कैफियत देखाएका
थिए । तर, उनलाई नै जेल चलान गरिएको छ । विदेशी नागरिकलाई थप सजाय हुने
भएकाले उनलाई जेल चलान गर्ने आदेश भएको बताइएको छ । उनी भारतीय नागरिक
हुन् ।

प्रतिक्रिया दिनुहोस्