- सिए सरोकार सम्बाददाता
काठमाडौँ । नेपाल चार्टड एकाउन्टेन्ट्स संस्था (आइक्यान)ले आयोजना गरेको प्रथम राष्ट्रिय सम्मेलनमा एउटा रोचक र घोचक दृश्य देखियो । नेपाल चार्टड एकाउन्टेन्ट्स संघ (एक्यान)का अध्यक्षका हैसियतले संघका अध्यक्ष आनन्द शर्मा वाग्लेलाई मंचमा अथिति बनाइएको थियो र उनलाई बोल्ने समय पनि दिइयो । त्यहि बेला सभा हलमा लेखाव्यवसायीहरुले खासखुस गरे – ‘ठगीको आरोप लगाउने व्यक्ति त ठगी गरेको आरोप लागेको संस्थाकै कार्यक्रममा अतिथि भएछन् त !’
संघका अध्यक्ष आनन्द शर्मा वाग्लेको केस अहिले आइक्यानको अनुसाशन समितिमा छ । उनले आइक्यानले विद्यार्थीहरुलाई ठगी गरिरहेको आशयको अभिव्यक्ति सामाजिक संजालमा दिएपछि उनलाई आइक्यानले स्पष्टीकरण लिएको थियो । उनले माफी माग्नु त परे जावस्, उल्टै १३ पेजको जवाफ आइक्यानले पठाएका थिए । उनको जवाफ चित्तबुझ्दो नभएपछि उनको केस अनुशासन समिति पठाउने निर्णय आइक्यानको काउन्सिलले गरेको थियो । यति मात्र होइन, उनकी श्रीमती राजश्री हुमागाईंले गैरकानुनी रुपमा लेखापरीक्षण गरेको भन्दै अहिले सो केस पनि अनुसाशन समितिमा छ । सो केसको छिनोफानो भईसक्नुपर्ने बेला भएपनि अनुशासन समितिका संयोजक सुजन श्रेष्ठले सो फाइल नै लुकाएर राखेको आरोप लाग्ने गरेको छ । सुजन श्रेष्ठले पनि यस विषयमा प्रतिक्रिया माग्दासमेत पन्छिरन खोज्नुले आरोप तथ्यनजिक त छैन ? भन्ने शंका गर्ने ठाउँ दिएको छ । श्रीमान् श्रीमतीकै केस अनुशासन समितिमा भएका बखत, उनैले ठगी गरेको आरोप लगाएको संस्थाको कार्यक्रममा उनी अतिथि भएर पुगेका थिए ।
कार्यक्रममा उनलाई बोल्ने समय पनि दिइएको थियो । बोल्दा बोल्दै उनले के बोलें भन्ने पनि हेक्का गरेनन् नि क्या हो, उनले त कार्यक्रम नै आफ्नो संघले गरेको पो भन्न थाले । उनले ‘नेपाल चार्टड एकाउन्टेन्ट संघ’ ले गरेको यो कार्यक्रम भन्दा धेरै सहभागी अचम्मित परेका थिए । यद्यपी उनको यो बोली चिप्लिएको हो वा, थाहा नभएका अतिथिहरुलाई भ्रममा पार्न खोजेको हो भन्ने विषय भने सम्मेलनभरी चर्चाको विषय बनेको थियो ।
उनले आफ्नो मन्तव्यका क्रममा लेखापरिक्षकका पक्षमा यसो हुनुपर्छ र उसो हुनुपर्छ भनेर लामै भाषण पनि दिए । आफ्नोतर्फबाट पनि कमजोरी हुन सक्ने बताएका उनको भाषण सुनेर सहभागीहरु भन्दै थिए, ‘यसै त आफ्नै श्रीमतीको केस अनुशासन समितिमा छ, ठुलो कुरा नगरेको भए हुने, अर्को आफैंले ठगीको आरोप लगाएको संस्थाको कार्यक्रममा सो केस नटुंगिएसम्म अतिथि भएर आउने काम पनि नैतिक काम भएन। ‘
प्रतिक्रिया दिनुहोस्