Skip to content

सिए सरोकार समाचार प्रभाव : आइक्यानलाई पत्र लेख्दै सिए आचार्यले भने, ‘मेरो नाम दुरुपयोग गर्नेलाई कारवाही होस्’

  • सुरज प्याकुरेल / सिए सरोकार डटकम 

काठमाडौँ – आइक्यानको नियम मिच्दै सित्तैमा लेखापरिक्षण सेवा उपलब्ध गराउने भन्ने बारे विज्ञापन छाप्दै एक कम्पनीले गैरकानुनी धन्दा गरिरहेको खबर सिए सरोकारले ब्रेक गरेपछि उक्त प्रकरणमा आफ्नो नाम मुछिएको भन्दै सिए विशेष विवु आचार्यले आइक्यान गुहारेका छन् । उनले आफ्नो नामको दुरुपयोग भएको भन्दै आइक्यानलाई आफ्नो नाम दुरुपयोग गर्ने कम्पनीविरुद्ध कारवाही प्रक्रिया अगाडी बढाउन आग्रहको आशय सहितको पत्र आइक्यानमा बिहिबार दर्ता गराएका छन् ।  
नेपाल चार्टड एकाउन्टेन्ट्स संस्था (आइक्यान) को नियमको धज्जी उडाउंदै देशभर लेखापरिक्षण सम्बन्धि गैरकानुनी काम भइरहेका बेला पोखरामा खुलेआम नि: शुल्क लेखापरिक्षण गराउने भन्दै प्रचार-प्रसार गरिएको पाइएको पाईएपछी सिए सरोकार डटकमले उक्त समाचार प्रकाशित गरेको थियो ।

भएको के हो ?
केहि दिनयता सामाजिक संजालमा सेलेसटियल ग्लोब कन्सल्टेन्सी प्रा लि नाकम कम्पनीले आफ्नो सेवा विस्तार भएको भन्दै निशुल्क लेखापरिक्षण गराउने भन्दै विज्ञापन गरेपछि हामीले यसको फलोअप गरेका थियौं । यस विषयमा खोजी गर्दा पोखरा, लमजुंङ, गोरखा लगायतका ठाउँहरुमा कौडीको भाउमा आइक्यानको नियम मिचेर लेखापरिक्षण सम्बन्धि काम हुने गरेको खुलासा भएको छ । आरए विष्णु प्रसाद बरालसंगको मिलेमतोमा कन्सलटेन्सी सञ्चालकले यस्तो गैरकानुनी काम गरिरहेका छन् । 
अझ खास कुरा त के छ भने यसरी गैरकानुनी धन्दा गर्ने कम्पनीले एबीबी एण्ड एसोसीएट्सले आफ्नो काममा साथ दिएको समेत उल्लेख गर्दै प्रचारात्मक सामाग्री छाप्ने गरेको छ । उक्त कम्पनीले नामनै तोकेर एबीबी एण्ड एसोसीएट्सको नाम उल्लेख गर्दै विज्ञापन गर्ने गरेको छ । यस विषयमा हामीले उक्त विज्ञापन छाप्ने कन्सलटेन्सीमा सम्पर्क गरेका थियौं । उनले आफुलाई आइक्यानको नियम नलाग्ने बताउँदै लेखापरिक्षण शुल्कमा लाग्ने कर आफैंले तिर्ने तर लेखापरिक्षण भने सित्तैमा गरिदिने दावी गरेका छन् । आरए चाहिए विष्णु प्रसाद बराल र सिए चाहिए एबीबी एण्ड एसोसीएट्स आफुसँग भएको बताउंदै उनले अरु काम भए वा अरु  क्लाइन्ट खोजिदिए लेखापरिक्षण नि: शुल्क गराईदिने समेत दावी गरे । हामीले यस्तो काम गर्न पाइन्छ र ? भन्ने प्रश्न गरेपछि उनले आफुहरुलाई आइक्यानको नियम नलाग्ने समेत दावी गरे । उनले विष्णु प्रसाद बराल आफ्नै सर भएकाले तिर्नुपर्ने कर तिरेर आफुहरुले नि:शुल्क लेखापरिक्षण गराईदिने समेत दावी गरे । हामीले उनको फोन नम्बर माग्दै यस्तो काम गैरकानुनी हो भनेपछी उनले फोन काटेका थिए ।  

के भन्छन् विशेष विवु आचार्य ?
सिए सरोकारको समाचार प्रकाशनपछी सम्पर्कमा आएका सिए विशेष विवु आचार्यले आफ्नो नाम दुरुपयोग गरी सेलेसटियल ग्लोब कन्सल्टेन्सी प्रा लि नामक कम्पनीले आफ्नो बदनाम गरेको बताएका छन् । ‘तपाईंले मलाइ पटक पटक फोन गर्नुभएको रहेछ । तर म क्लासमा पढाइरहेको थिएँ । सिए सरोकारको खबरले मलाइ निकै दु:खी तुल्यायो । मेरो नाममा सित्तैमा लेखापरिक्षण हुन्छ भन्ने त्यो संस्था र व्यक्तिलाइ जसरीपनि कारवाहीको दायरामा ल्याउनुपर्छ । मैले आइक्यानमा उजुरी गरिसकेको छु ।’ उनले भने ।
‘अनि तपाईंको स्वीकृति विनानै यस्तो गर्ने आँट गर्यो होला त त्यो कन्सलटेन्सीले ?’ भन्ने हाम्रो प्रश्नमा सिए आचार्य भन्छन्, ‘मपनि त्यहि कुराले अचम्ममा परेको छु । मैलेपनि सिए सरोकारको समाचार पढेर मात्र यो कुरा थाहा पाएँ ।’ उनका अनुसार उनी गोरखा, पोखरा, लमजुंङ लगाएतका ठाउँमा काम गर्न गएका छैनन् । ‘मेरा प्राय क्लाइन्ट काठमाडौँमै छन् । म त्यता खासै गएको छैन । एक पटक मैले त्यतैका एक व्यक्तिको नाममा सिए रिपोर्ट बनाएको थिएँ  । त्यहींबाट मेरो नाम दुरुपयोग सुरु भएको हुनुपर्छ ।’ उनले भने । 
साथै उनले सिएको मिलेमतोमा यस्तो गैरकानुनी धन्दा चलिरहेको भन्ने समाचारप्रतिपनि आपत्ति जनाए । ‘सिए सरोकारले सिएको मिलेमतो नै भनेर लेखिदिएछ । मलाइ यस विषयमा केहिपनि थाहा छैन । तपाईंले उक्त व्यक्तिलाई फोन गर्दा तीनले किन र के आधारमा मेरो सहयोग छ भने, त्यो पनि मलाइ थाहा छैन । म र आइक्यान दुबैलाई सचेत बनाउने काम सिए सरोकारले गर्यो । तर मेरो मिलेमतो भन्ने कुरा सहि होइन ।  सिएको पेशा र यसको मर्यादामा आंच आउने काम जानेर गरेको छैन । एकासी यस्तो खबर सुन्दा दुख लाग्यो । आइक्यानले यस विषयमा खोजी गरी दोषीउपर कारवाही गरोस् ।’ उनले भने ।   
पढ्नुहोस् सिए आचार्यले आइक्यानमा बुझाएको पत्रको व्यहोरा !
               

प्रतिक्रिया दिनुहोस्