Skip to content

मेरो लक्ष्य भनेकै सिए बन्ने थियो, तर पूरा भएन : विनोद चौधरी

मलाई पनि मन थियो, विश्वविद्यालय जाने। उच्च शिक्षा हासिल गर्ने। त्यतिबेला मेरो लक्ष्य भनेकै चार्टर्ड एकाउन्टेन्ट (सीए) बन्ने थियो। तर पूरा भएन। जीवनको लक्ष्य पूरा नहुँदा जो-कसैलाई चित्त दुख्छ, मेरो पनि दुखेको थियो। आज फर्केर हेर्दा लाग्छ, म सीए बनेको भए कुनै कम्पनीको उच्च ओहोदामा रहेर नाफा-नोक्सानको हिसाबकिताब गरिरहेको हुने थिएँ। सायद, मेरो जीवनको यात्रा यत्तिमै टुंगिने थियो।
तपाईंहरूको विश्वविद्यालयले ‘कि नोट स्पिकर’ का रूपमा आमन्त्रण गरिसकेपछि मैले मानव संसाधन विभागसँग ग्रुपमा नेपालभित्र कार्यरत सीएहरूको विवरण लिएँ। तथ्य हेर्दा एकपटक म आफैं रोमाञ्चित भएँ- चौधरी ग्रुपमा अहिले ३५ जना सीए कार्यरत रहेछन्। म अफिसमा एक्लै रहेका बेला आफैंसँग प्रश्न सोधें- विनोद, सीए भएको भए के तिमीले यति संख्यामा सीएलाई जिम्मेवारी दिन पाउँथ्यौ? अहिले चौधरी ग्रुपमा १० हजारभन्दा धेरै प्रतिस्पर्धी क्षमताका कर्मचारीको नेतृत्व गर्न पाउँदा मलाई निकै सन्तोष मिल्छ। कहिलेकाहीं जीवनको एउटा ढोका बन्द हुँदा सयौं ढोका खुल्दा रहेछन्।


म तपाईंहरूलाई उद्यमी बन्न प्रोत्साहित गर्छु। अर्थात् रोजगारदाता बन्नुस्। देशको आवश्यकता यही हो। राजनीतिक वा सामाजिक आँखाबाट हेर्दा देखिने देशका तमाम समस्याको समाधान भनेकै देशमा बढीभन्दा बढी लगानी गर्नु हो। त्यो लगानीबाट प्राप्त हुने मुनाफालाई पुन: लगानी नै गर्नु हो। उच्चदरको आर्थिक वृद्धिदर हासिल गर्नु हो।


देशको युवा जनशक्ति उद्यम व्यवसायमा केन्द्रित हुने हो भने नेपालमा दोहोरो अंकको आर्थिक वृद्धिदर हासिल गर्न गाह्रो छैन। प्रत्येक नेपालीको मासिक आम्दानी २० हजार रुपैयाँ पु:याउन पनि गाह्रो छैन। तर प्रत्येक दिन १५ सय युवालाई वैदेशिक रोजगारमा पठाएर यो उपलब्धि हासिल गर्ने कल्पना भने नगरे हुन्छ। किनभने कुनै पनि देशको विकासको मेरुदण्ड भनेकै युवा जनशक्ति हो, जसलाई नेपालको आर्थिक विकासको अभिन्न अंगका रूपमा उपयोग गर्नैपर्छ।


एक कदम अगाडि बढेर मेरो सुझाव छ- अब तपाईंहरू सामाजिक व्यवसायी (सोसल बिजनेस) बन्ने बाटोमा अग्रसर हुनुपर्छ। यस्तो बिजनेस जहाँ तपाईंले सिर्जनशील व्यावसायिक सोच कार्यान्वयन गरिरहँदा समाज प्रत्यक्ष रूपमा लाभान्वित होस्। यी व्यवसाय विस्तार हुँदै जाऊन्, जसका कारण धेरैभन्दा धेरै नेपाली युवा उद्यमी बन्न सकून्। म अहिले नेपालमा सोसल बिजनेस कार्यान्वयनमा केन्द्रित भइरहेको छु।


चौधरी ग्रुपले नोबेल पुरस्कार विजेता प्रो. मोहम्मद युनुसले अगाडि सारेको सोसल बिजनेसको अवधारणालाई नेपाली समाजमा लागू गर्दैछ। यसका लागि चौधरी ग्रुप र लायन्स क्लब इन्टरनेसनलले सहकार्य गरिरहेका छौं। हाम्रा चारवटा पाइलट प्रोजेक्ट जुम्लामा सुरु हुँदैछन् भने सुदूर-पश्चिमाञ्चल र मध्य-पश्चिमाञ्चलका २४ जिल्लामा विस्तारको प्रक्रिया सुरु भइसकेको छ। सोसल बिजनेसका लक्षित समूह तिनै युवा हुन्, जोसँग बिजनेसका सिर्जनशील सोच भएर पनि पुँजीको अभावमा त्यसै खेर गइरहेका छन्। त्यस्ता युवामाथि हामी लगानी गर्छौं र उनीहरूलाई उद्यमी बनाउँछौं। मेरो सपना पाँच वर्षभित्र पाँच हजार युवालाई उद्यमी बनाउनुपर्छ भन्ने छ। तपाईंहरू पनि यसको हिस्सेदार बन्न सक्नुहुनेछ।

आज म तपाईंहरूलाई गल्ती गर्नका लागि प्रोत्साहित गर्छु। तर सही उद्देश्य प्राप्तिका लागि। गल्ती त्यसले मात्रै गर्छ, जसले नयाँ सिर्जनाका लागि आफैंलाई परीक्षणको भट्टीमा हाल्न तयार हुन्छ। त्यसैले तपाईंहरूले पनि आजैका दिनदेखि गल्ती गर्न सुरु गर्नुस्। जब गल्ती गरेको थाहा हुन्छ, त्यसलाई सच्याउनुस्। गल्ती जीवनको सबैभन्दा ठूलो शिक्षा हो। गल्ती प्रगतिको सूचक हो। गल्ती गर्नु कुनै गल्ती होइन। गल्तीबाट पाठ नसिक्नु गल्ती हो।

तर सोसल बिजनेसको उद्देश्य दान दिनु भने कदापि होइन। दान बाँडेर सामाजिक समस्याको समाधान हुन्छ, गरिबीको अन्त्य हुन्छ भन्नेमा मेरो पटक्कै विश्वास छैन। आजको विश्वमा रहेको सम्पूर्ण सम्पत्ति सात अर्ब जनसंख्यालाई दामासाहीको रूपमा बाँड्यो भने विश्वका सबै मानिस धनी हुन्छन्। कोही पनि गरिब हुनु पर्दैन। तर पाँच वर्षपछि ती सबै मानिस गरिब हुनेछन्, जो आज गरिब छन्।


तिनै मानिस धनी हुनेछन्, जो आज धनी छन्। किन? आज जति पनि मानिस धनी भएका छन्, कर्मशील भएकै कारण धनी भएका हुन्। जो कर्मशील छैनन्, उनीहरूलाई पैसाको भारी बोकाइदिए पनि एक दिन गरिबीमै झर्छन्। त्यसैले माछा दिएर हैन, माछा मार्ने कला सिकाइदिएर मात्रै गरिबीको अन्त्य गर्न सम्भव छ भन्नेमा मलाई पूरै विश्वास छ। सोसल बिजनेसको उद्देश्य ठीक यही हो।


सफल उद्यमी-व्यवसायी बन्नका लागि केही निश्चित नियम पालना गर्नैपर्छ। म यहाँ तपाईंहरूलाई १० वटा बुँदामा ‘बिजनेस मन्त्र’ दिन चाहन्छु, जसलाई मैले मेरो आत्मकथामा विस्तृत रूपमा प्रस्तुत गरेको छु- १. उच्च महत्त्वाकांक्षा, २. संगठन निर्माण, ३. हार नखानुस्, ४. बजार चेत, ५. नकारात्मक सोच्नुको फाइदा, ६. व्यग्रता नेगोसियसनको शत्रु, ७. सफलताले सफलता पछ्याउँछ, ८. खर्च घटाउनुस्, ९. अनुशासन र १०. अपडेट रहनुस्।


यसको मतलब तपाईंहरू बिजनेसबाहेक अन्यत्र नजानुस् भनेको होइन। आफूले के गर्ने र के बन्ने भन्ने तपाईंको आफ्नै निर्णय सबैभन्दा महत्त्वको हो। अन्योलमा पर्नुभयो- आफैंसँग सोध्नुस्। जे उत्तर आउँछ त्यही गर्नुस्। तर जे गर्नु छ, तन, मन र वचनका साथ गर्नुस्। लक्ष्य निर्धारण गर्नुस् र आफैंलाई पटकपटक जाँच्नुस्। यसो गर्नुभयो भने अरूले जाँच्दा तपाईं कहिल्यै फेल हुनुपर्ने छैन। तपाईंहरूमध्ये अधिकांशका बाबुआमा छोराछोरी सरकारी सेवामा जाऊन् भन्ने चाहना राख्नुहुन्छ। सरकारी सेवामा जान चाहने आजको पुस्ताले वर्तमान कर्मचारीतन्त्रको कार्यशैली परिवर्तन गर्ने लक्ष्यका साथ त्यहाँ प्रवेश गर्नुहोस् भन्ने मेरो शुभेच्छा छ। सजिलो गरी पैसा कमाउने अड्डा ताक्नुको साटो कसरी समग्र कर्मचारीतन्त्रको तलब पाँच गुणा वृद्धि गर्न सकिन्छ भन्ने सोचसहित त्यहाँ जानुस्।


यति मात्रै सोच्नुस् त, तपाईंको तलब पाँच गुणाले वृद्धि हुँदा नेपाली समाजको आर्थिक स्तर कुन तहमा पुगेको हुनेछ? तपाईंले आफ्नो तलब पाँच गुणाले बढाउने लक्ष्य पूरा गर्न देशको अर्थतन्त्रको विस्तार कम्तीमा तीन गुणा गराउनुपर्ने हुन्छ। त्यो दिन तपाईंको तलब त बढ्छ नै, नेपालको पहिचान पनि विकासशील मुलुकका रूपमा हुनेछ। तपाईं चाहे प्राध्यापक बन्नुस्, चाहे कलाकार, चाहे वकिल बन्नुस् वा पत्रकार जहाँ भए पनि आखिर हामीले सोच्ने तरिका भने यस्तै हुनुपर्छ, जहाँ देशको आर्थिक विकास पहिलो प्राथमिकतामा रहोस्।


आज म तपाईंहरूलाई गल्ती गर्नका लागि प्रोत्साहित गर्छु। तर सही उद्देश्य प्राप्तिका लागि। गल्ती त्यसले मात्रै गर्छ, जसले नयाँ सिर्जनाका लागि आफैंलाई परीक्षणको भट्टीमा हाल्न तयार हुन्छ। त्यसैले तपाईंहरूले पनि आजैका दिनदेखि गल्ती गर्न सुरु गर्नुस्। जब गल्ती गरेको थाहा हुन्छ, त्यसलाई सच्याउनुस्। गल्ती जीवनको सबैभन्दा ठूलो शिक्षा हो। गल्ती प्रगतिको सूचक हो। गल्ती गर्नु कुनै गल्ती होइन। गल्तीबाट पाठ नसिक्नु गल्ती हो। भनिन्छ नि- सच्याएको गल्ती बिलाएर जान्छ। तर लुकाएको गल्ती कुहिन थाल्छ। तपाईंले गल्ती गर्न सुरु गर्नुस्। यसको अर्थ हो तपाईंले प्रगति गर्न थाल्नुभयो।


तपाईंहरू भाग्यवादमा कति विश्वास राख्नुहुन्छ? म भने केही विश्वास अवश्यै राख्छु । जब दत्तचित्त भएर काम गरिन्छ, त्यसमा अलिकति भाग्य पनि मिसियो भने सुनमा सुगन्ध नै हुन्छ। एकपटक प्रख्यात पण्डित राधाकृष्णनलाई सोधिएको थियो- तपाईं भाग्यलाई कसरी लिनुहुन्छ? उहाँले सुन्दर उदाहरण प्रस्तुत गर्नुभयो- तासको गड्डीबाट थुत्दा जुन-जुन तास आए, ती तपाईंको भाग्यले आए। तर थुतेका तासहरू मिलाएर जे बनाउनुभयो, त्यो तपाईंका कर्मले बनाउन सक्नुभयो। मानिसले ठीकैका तास आएर पनि जित्न सक्छ र राम्रा तास आएर पनि हार्न सक्छ। तर हार्ने मान्छेले जहिले पनि तासलाई नै दोष दिन्छ। मेरो सल्लाह, तपाईंले आफ्नो वर्तमान अवस्थालाई दोष नदिनुस्। पहिले कर्म गर्नुस् अनि भाग्यको आशा गर्नुस्। तपाईं जतिसुकै भाग्यमानी हुनुहोला, डोकोमा दूध दुहिन थाल्नुभयो भने अवश्यै अडिँदैन।


आज तपाईंहरूका बाबुआमा यहाँ उपस्थित हुनुहुन्छ, तपाईंहरूको अनुहारमा भरिएको खुसी हेर्न। उहाँहरूले आजसम्म पनि तपाईंहरूको अनुहार कुनै दिन मलिनो होला कि भनेर आफ्ना सारा सुख त्याग्नुभयो। थाहा छ- अब तपाईंहरूको पालो सुरु भयो, आमाबाबुको अनुहारमा खुसी भर्ने। सम्झिनुस् त, अबको १० वर्षमा तपाईंहरूले आफ्ना प्रियतम, बालबच्चा र आमाबाबुका लागि एकैसाथ खुसी दिन सक्नुपर्नेछ। कलेजका असाइन्मेन्ट पूरा गरेर तपाईं आज दीक्षित हुनुभयो। कम्तीमा एकदशकका लागि एकमुष्ठ रूपमा यो मेरो असाइन्मेन्ट तपाईंहरूका लागि। यो असाइन्मेन्ट मलाई देखाइरहनु पर्दैन। आफैंले चेक गर्नुहोला। आमाबाबु, आफ्नो प्रियतम् र बालबच्चाको अनुहारमा हेर्नुहोला। उनीहरूका अनुहार खुसी छन् भने तपाईं आफ्नो जीवनमा पनि दीक्षित हुनुभयो।

प्रतिक्रिया दिनुहोस्