Skip to content

‘सिए बन्ने सपना तुहियो, तर…!’

जीवनमा कतिपय इक्षाहरु पूरा हुन सक्दैनन् । जीवनका कतिपय इक्षाहरुलाई चाहेर पनि मार्नुपर्छ । कति आफैं मर्छन् । हरेक मानिसले एउटा लक्ष बोकेर हिंडेको हुन्छ जिन्दगीमा । त्यतिबेला मेरो लक्ष्य भनेकै चार्टर्ड एकाउन्टेन्ट (सीए) बन्ने थियो ।

तर मेरो उक्त रहर पूरा भएन । जीवनको लक्ष्य पूरा नहुँदा जो-कसैलाई चित्त दुख्छ। मेरो पनि दुखेको थियो । आज फर्केर हेर्दा लाग्छ, म सीए बनेको भए कुनै कम्पनीको उच्च ओहोदामा रहेर नाफा-नोक्सानको हिसाबकिताब गरिरहेको हुने थिएँ । सायद, मेरो जीवनको यात्रा यत्तिमै टुंगिने थियो । तर आज म जे छु, केहि फरक छु ।

कहिलेकाहीं जीवनको एउटा ढोका बन्द हुँदा सयौं ढोका खुल्दा रहेछन् । रहर मै मरेको मेरो सिए बन्ने सपनाले कहिलेकाहीं झस्काईरहन्छ । एक दिन मैले मानव संसाधन विभागसँग ग्रुपमा नेपालभित्र कार्यरत सीएहरूको विवरण लिएँ ।

तथ्य हेर्दा एकपटक म आफैं रोमाञ्चित भएँ । किनकि चौधरी ग्रुपमा अहिले ३५ जना सीए कार्यरत रहेछन् । म छक्क मात्र परिन, कता कता आनन्दको महसुस पनि भयो । म अफिसमा एक्लै रहेका बेला आफैंसँग प्रश्न सोधें ‘विनोद, सीए भएको भए के तिमीले यति संख्यामा सीएलाई जिम्मेवारी दिन पाउँथ्यौ ?’ अहिले चौधरी ग्रुपमा १० हजारभन्दा धेरै प्रतिस्पर्धी क्षमताका कर्मचारीको नेतृत्व गर्न पाउँदा मलाई निकै सन्तोष मिल्छ ।

‘जब सीकर’ भन्दा पनि ‘जब क्रिएटर’ बन्नुहोस् । एक कदम अगाडि बढेर मेरो सुझाव छ- आजका युवा सामाजिक व्यवसायी (सोसल बिजनेस) बन्ने बाटोमा अग्रसर हुनुपर्छ । यस्तो बिजनेस जहाँ तपाईंले सिर्जनशील व्यावसायिक सोच कार्यान्वयन गरिरहँदा समाज प्रत्यक्ष रूपमा लाभान्वित होस् । यी व्यवसाय विस्तार हुँदै जाऊन्, जसका कारण धेरैभन्दा धेरै नेपाली युवा उद्यमी बन्न सकून् ।

आज म हरेक युवालाई गल्ती गर्नका लागि प्रोत्साहित गर्छु । तर सही उद्देश्य प्राप्तिका लागि । गल्ती त्यसले मात्रै गर्छ, जसले नयाँ सिर्जनाका लागि आफैंलाई परीक्षणको भट्टीमा हाल्न तयार हुन्छ । त्यसैले तपाईंहरूले पनि आजैका दिनदेखि गल्ती गर्न सुरु गर्नुस् । जब गल्ती गरेको थाहा हुन्छ, त्यसलाई सच्याउनुस्। गल्ती जीवनको सबैभन्दा ठूलो शिक्षा हो । गल्ती प्रगतिको सूचक हो । गल्ती गर्नु कुनै गल्ती होइन। गल्तीबाट पाठ नसिक्नु गल्ती हो ।

प्रतिक्रिया दिनुहोस्