Skip to content

आइक्यानमा घोटालाका नाइके ‘बिनय प्रकाश श्रेष्ठ’ पो !, यो हदसम्मका आरोप लागेका छन् कार्यकारी निर्देशक श्रेष्ठलाई !

  • सिए सरोकार सम्बाददाता 
काठमाडौँ – नेपाल चार्टड एकाउन्टेन्ट्स संस्था (आइक्यान) मा हुने विभिन्नखाले अनियमितता, र भ्रष्टाचारबारे खबर बाहिरिएका सबैजसो काण्डका नाइके संस्थाका कार्याकारी निर्देशक बिनय प्रकाश श्रेष्ठ भएको भन्दै श्रेष्ठविरुद्ध आइक्यानकै कर्मचारीले विभिन्न निकाय गुहारेका छन् । आइक्यानमा आइटि तालिम प्रकरणदेखि खरिद प्रकरणसम्ममा आइक्यानका तत्कालिन अध्यक्ष प्रकाश लम्साल, र आइक्यानका प्राविधिक निर्देशक पुष्पेन्द्र सिंहसँग मिलेर विभिन्न कार्यहरुमा अनियमितता गरेको आइक्यानका कर्मचारीलेनै अख्तियार दुरुपयोग अनुसन्धान आयोग, सम्पत्ति सुद्धिकरण आयोग, अर्थ मन्त्रालय, प्रधानमन्त्रीको कार्यालय लगायतका ठाउँमा उनीविरुद्ध उजुरी गरेको खबर छ । बिगतको तुलनामा यसपाली उनलाई केहि गम्भीर प्रकृतिका आरोपहरु पनि लागेका छन् । उनीविरुद्ध दर्ता नम्बर १५२३४ अन्तर्गत अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । 
आरोप नम्बर १ : संस्थाको भवन निर्माण गर्दा अनिमियता गरे 
आइक्यानका कार्यकारी निर्देशकले संस्थाको भवन निर्माण गर्दा अनियमितता गरेको आरोप उनलाई अख्तियारमा परेको उजुरीमा उल्लेख छ । ‘संस्थाको भवन निर्माणसंगै उनले काठमाडौँमा आफ्नो घरपनि संगै मर्मत गराएका थिए । संस्थाको भवन निर्माण गर्दा ‘मिलाएर’ बिल पास गर्ने र त्यहि वापत आफ्नो काममा लगाउने काम भयो । झट्ट हेर्दा यो अनियमितता जस्तो देखिएको छैन । तर सम्बन्धित निकायले यसबारे छानविन गर्ने हो भने यो तथ्य स्पष्ट देखिन्छ ।’ उजुरीकर्ताले भने । उनका अनुसार आइक्यानको कार्यकारी निर्देशक भएकाले पनि कसैले यो कुरा उठाएको छैन । यसैको फाइदा उठाएर उनले मनपरी गरेका छन् । ‘संस्थाको भवन निर्माण गर्ने क्रममा बढीको बिल पास गराएर वा टेन्डर मिलाएको भन्दै आफ्नो घरको काम सित्तैमा गराएका थिए ।’ उजुरीमा उल्लेख छ ।

आरोप नम्बर २ : हरेकजसो टेन्डरमा कमिसन लिए 
आइक्यानका कार्यकारी निर्देशकलाई हरेक जसो टेन्डरमा कमिसन लिएको समेत आरोप लागेको छ । उनले आइक्यानको भवन बनाउँदा होस् वा अरु खरिद प्रक्रियामा कमिसन लिने गरेको आरोप अख्तियार दुरुपयोग अनुसनधान आयोगमा परेको उजुरीमा उल्लेख गरिएको छ भने अन्य निकायमा पनि सोहि प्रकृतिको उजुरी परेको उजुरीकर्ताको दावी छ । ‘हरेकजसो टेन्डरमा घोटाला भएको छ । हुन त सरकारी कामको टेन्डरमा कमिसनको खेल हुनु नौलो होइन । तर विद्यार्थी र सदस्यको पैसामा चल्ने संस्थामा यो हदसम्मको   अनियमितता हुँदा पनि कोहि पनि बोलेको छैन ।’ उनले भने ।  
आरोप नम्बर ३: नियम विपरित सुचना ‘लिक’
आइक्यानका कार्यकारी निर्देशक श्रेष्ठविरुद्ध परेको उजुरीमा उंनले नियम विपरित सुचना ‘लिक’ गरेको समेत आरोप छ । ‘विशेषगरी आइक्यानको नतिजा उनले प्रकाशनपूर्वनै ‘लिक’ गर्ने गरेका छन् । उनले कमिसनकै लोभमा ग्लोबल आइटी नामक कम्पनीलाई वेव साइट निर्माण तथा मर्मतको काम दिएका थिए । यो कम्पनीले अहिलेसम्म आइक्यानमा एक छात्र राज गरेको त छ नै, तर सेवा भने थर्डक्लासको छ । नातिजाकै बेलामा साइट डाउन हुन्छ । यहि आइटि कम्पनीसंगको मिलेमतोमा उनले  नतिजाको सुचना प्रकाशनपूर्व नै लिक गर्ने गरेका छन्। ‘ उजुरीकर्ताले भने ।

आरोप नम्बर ४ : हल परिक्षामा नम्बर थपेर पास !
यता विद्यार्थीको मामलामा पनि आइक्यानमा मनपरी हुने उजुरीकर्ताको दावी छ । ‘आफ्ना मान्छेको हल परिक्षा बिग्रियो भने उनले नम्बर थपेर समेत पास गराउने गरेका छन् । बिगत २ बर्षका उत्तरपुस्तिकाहरु हेर्ने हो भने यो स्पष्ट देख्न सकिन्छ । सम्बन्धित निकायले यस विषयमा छानविन गर्ने हो भने यो गम्भीर प्रकृतिको अपराध हो । फाइनल परिक्षामा केहि नम्बर ग्रेस थपिनु नौलो होइन । तर ३० अंक आएको व्यक्तिलाई १० नम्बर थपेर ४० बनाएर हल परिक्षामा पास गराएको समेत प्रमाण आइक्यानमानै छ । सम्बन्धित निकायले खोजी गरेको खण्डमा त्यो प्रमाण भेट्न गाह्रो छैन ।’ उनले भने ।        
आरोप नम्बर ५ : घुस लिएर ग्लोबल आइटि नामक कम्पनीलाई काम !
यता बिगत लामो समयदेखि नै आइक्यानको वेव साइट सम्बन्धि काम गरिरहेको र सधैं जसो थर्ड-क्लास सेवा दिइरहेको ग्लोबल आइटीसँग पनि घुस लिएरै बिनय प्रकाश श्रेष्ठले काम गराएको उजुरीमा उल्लेख छ । ‘आइक्यानमा मनपरी छ । बर्षौंदेखि आइक्यानका विद्यार्थीहरुले वेव साइटमा समस्या भोगेका छन् । ग्लोबल आइटिको सेवा ‘थर्डक्लास’ छ । नतिजाको समयमा साइट ‘डाउन’ हुन्छ । हल परिक्षा दर्ताको अन्तिम समयमा पनि पटक पटक यस्ता समस्या देखिएका छन् । एउटा थर्डक्लास काम गर्ने कम्पनीलाई आइक्यानले पोशिरहनुको अर्को स्वार्थ के हुन सक्छ र ?’ उनले भने ।   
     
जुरीकर्ता भन्छन्, ‘बिनय प्रकाश घोटालाका नाइके’
मंगलबार बेलुकी सिए सरोकार डटकमको कार्यालय आइपुगेका आइक्यानका कर्मचारी समेत रहेका उजुरीकर्ता भन्छन्, ‘आइटि तालिम प्रकरणमा आफ्ना मान्छेलाई काम दिएका प्रकाश लम्सालले हो । तर त्यसलाई ‘ओके’ भन्ने त बिनय प्रकाश श्रेष्ठलेनै हो नि । अख्तियारमा परेको उजुरीमा बिनय प्रकाश श्रेष्ठलाई समेत कारवाहीको माग थियो । अध्यक्ष भएको र सीधा उक्त प्रकरणमा हस्तक्षेप गरेका हुनाले प्रकाश लम्सालको मात्र नाम अगाडी आयो । हुन त ‘डिजाइनर’ उनी नै थिए । उनी अध्यक्ष भएको नाताले उनको नाम आउनुपनि स्वाभाविक थियो । तर बिनय प्रकाश श्रेष्ठ पनि त्यसका मतियार थिए ।’ उनले भने । उनका अनुसार पुष्पेन्द्र सिंहले समेत उनकै अनुमतिमा वा उनको मिलेमतोमामात्र विभिन्न खालका अनियमितता गरेका थिए । ‘कार्यकारी निर्देशक बिनय प्रकाश श्रेष्ठ हुन् । हरेक कुरा उनलेनै पास गर्नुपर्छ । उनी नभई केहि हुँदैन । त्यसैले यसपाली ‘अति’ नै भएपछी म लगायतका केहि साथीहरु उनीविरुद्ध लागेका छौं । आइक्यान भनेको हाम्रो जागिरमात्र होइन, यसलाई राम्रो बनाउनुसमेत हाम्रो कर्तव्य हो ।’ उनले भने ।    

आफ्नै नाममा उजुरी, आफैं समिति गठनको ‘हाइते’ !
यता आइटि तालिम प्रकरणमा उनको समेत नाम मुछिएका कारण उक्त मुद्धा काउन्सिलमानै नलगी उनले तल बाटनै मिलाउन खोजेको आइक्यान स्रोतको दावी छ । ‘आफुविरुद्धनै उजुरी परेको थियो, अनि कहाँ अगाडी बढाउंथे त बिनय प्रकाशले फाइल । ‘तल’ बाटै सबै मिलाउन खोजियो । महेश खनाल संयोजक बने । बिनय प्रकाशको आग्रहमा उक्त मुद्धा तुहियो । कसले कसलाई के गर्ने ? एउटै संस्थाको लेखा राख्ने र परिक्षण गर्नु हुँदैन भनेर नियम बनाउने संस्था आफैंमा त्यो प्रवृति हावी भयो । हामीले यसपाली सिधै आइक्यानमा हस्तक्षेप गर्न र पहिलाको मुद्धामा के कसरी मुद्धा तुहाइयो भन्ने जानकारी समेत अर्थमन्त्रालय र प्रधानमन्त्री कार्यालयमा उजुरी गरेका छौं ।’ उनले भने । 
यसअघि यस्ता थिए प्रकरण, यसरी तुहिए
यसअघि संस्थाले विद्यार्थीहरुलाई प्रदान गर्ने आइटी तालिमलाई लिएर तत्कालिन अध्यक्ष प्रकाश लम्सालले आर्थिक लाभ लिएर आफु निकटको संस्थालाई सार्वजनिक खरिद ऐन विपरित काम गरेको भन्दै अख्तियारले छानविनका लागि अर्थमन्त्रालयमा पत्र काटेको थियो भने अर्थ मन्त्रालयले आइक्यानमा स्पष्टीकारण सोधेको थियो । अर्थ मन्त्रालयले स्पष्टीकरण सोधेपछि प्रकाश लम्सालकै कारण चुनाव जितेको भन्ने आरोप लागेका महेश खनालको संयोजकत्वमा छानविन समिति गठन गरी उक्त मुद्धा तुहाईएको थियो । 
त्यसपछी आइक्यानका प्राविधिक निर्देशक पुष्पेन्द्र सिंहले आइक्यानमा हुने विविध खरिद प्रक्रियामा घोटाला गरेको, आर्थिक लाभ लिएको जस्ता आरोप सहित आइक्यानकै कर्मचारीले अख्तियार गुहारेपछी उनले आत्तिएर राजीनामा दिएका थिए । आफुले गरेको सबै कर्तुत सार्वजनिक हुने डरले उनले आइक्यानको उक्त पदबाट तत्काल राजिनामा दिएको आइक्यानकै कर्मचारीहरुको आरोप छ । 
‘यसअघि पनि आइक्यानमा विभिन्नखाले घोटाला हुने गर्थ्यो । कतिपय ठुला कर्मचारीकै मनोमानी आइक्यानमा हावी छ भने कसैले कसैलाईपनि नटेर्ने कुसंस्कार बसीसकेको छ ।’  आइक्यानका एक कर्मचारी भन्छन्, ‘अहिले मिडिया बलियो भएको छ ।  केहि भयो भने मिडियाले लेखिदिन्छ । लुकिछिपीनै भएपनि अनियमितता गर्नुअघि एक पटक सोच्ने गरिन्छ । तर प्रकाश लम्साल, पुष्पेन्द्र सिंह र बिनय प्रकाश श्रेष्ठहरु त घोटालाका नाइकेनै हुन् ।

बिनय प्रकाश श्रेष्ठको यस्तो प्रतिक्रिया 
हामीले यसबारे बुझ्न आइक्यानका कार्यकारी निर्देशक बिनय प्रकाश श्रेष्ठलाई सम्पर्क गरेका थियौं । नेपाल चार्टड एकाउन्टेन्ट्स संघको ‘मेम्बर्स डाइरेक्टरी’ मा भएको उनको नम्बरमा विहान १०:५० बजे र १० ५१ बजे फोन गर्दा उनको फोन उठेन । उक्त डाइरेक्टरीमा भएको उनको अर्को नम्बरमा फोन गर्दा उनले फोन काटीदिए । आफु मिटिङमा भएको र केहि विशेष भए एसएमएस पठाउनु भनी संदेश छाडेका उनलाई हामीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेको उजुरीबारे तपाईंको भनाइ खोजेका हौँ’ भनी सन्देश पठाउँदा उनले आफुलाई यसबारे केहि पनि थाहा नभएको र थाहा पाउने बित्तिकै खबर गर्ने बताए । 

प्रतिक्रिया दिनुहोस्