- सिए सरोकार सम्बाददाता
काठमाडौं । बीमा समितिको नयाँ अध्यक्ष बन्न ३ जना चार्टड एकाउन्टेन्टहरुको दौडधुप सुरु भएको छ । चिरञ्जीवी चापागाईँको कार्यकाल पुस २३ गते सकिँदै गर्दा अव नयाँ अध्यक्ष बन्नका लागि ३ जना सिएहरुसहित आधा दर्जन प्रत्यासीको दौडधुप सुरु भएको हो ।
को-को छन् दौडमा ?
अहिलेका अध्यक्ष चिरञ्जीवी चापागाईँ दोश्रो कार्यकाल पुनः अध्यक्ष बन्न चाहान्छन् । यसका लागि उनले लविङसमेत सुरु गरेका छन् । उनी कृष्ण बहादुर महरा निकटका प्रत्यासी भएकाले उनी अध्यक्ष बन्न बीमा समितिको अध्यक्षको नियुक्त्ति प्रचण्डको भागमा पार्नुपर्छ । तर अहिले प्रचण्ड र प्रधानमन्त्री ओलीबीचको चिसिएको सम्बन्ध उनका लागि भारी पर्ने देखिन्छ । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणी शिवाकोटी पनि बीमा समिति अध्यक्षका अर्का दावेदार हुन् । कृषि विकास बैंकका अध्यक्ष लक्ष्मी प्रपन्न निरौला, राष्ट्रिय बीमा संस्थानका अध्यक्ष गंगाराम कँडेल पनि अध्यक्ष बन्नका लागि राम्रै दौडमा लागेका छन् । यी अलावा चार्टड एकाउन्टेन्टहरु कृष्ण आचार्य, टंक पनेरु र महेश गुरागाईं पनि बीमा समितिको अध्यक्ष बन्न दौडधुपमा लागेका छन् । यी तिनैजना आइक्यानका पूर्व अध्यक्ष हुन् ।
को हुन् बीमा समितिको अध्यक्ष बन्न दौडधुप गरिरहेका ३ सिएहरु ?
कर्मचारी सञ्चय कोषका पूर्व प्रशासक तथा आइक्यानका पूर्व अध्यक्ष चाटर्ड एकाउन्टेण्ट कृष्ण आचार्य समितिको अध्यक्ष बन्ने लाइनमा बलिया प्रतिष्पर्धी मानिन्छन् । तर माधव नेपालका खास मान्छे भएकाले उनले अध्यक्ष बन्न माधव नेपाल र केपी ओलीका बीचमा कुरा मिल्नुपर्ने देखिन्छ । उनी अर्थमन्त्री विष्णु पौडेलका पनि खास मान्छे हुन् । त्यसैले पनि उनको सम्भावना बलियो भएको विश्लेषण गरिएको छ। आइक्यानको अध्यक्ष हुँदा बेला बेलामा अनेकथरी विवादमा आएका अर्का पूर्वअध्यक्ष महेश गुरागाईं पनि बीमा समितिको अध्यक्ष बन्ने दौडधुपमा छन् । नेपाल पुनर्बीमा कम्पनीका निवर्तमान अध्यक्षसमेत रहेका महेश गुरागाई पर्यटन मन्त्री योगेश भट्टराईका खास मान्छे हुन् । यता आइक्यानका पूर्व अध्यक्ष टंक पनेरु पनि समितिको अध्यक्ष बन्न प्रयास गरिरहेका छन् । यसअघि अन्तिम समयमा आएर धितोपत्र बोर्डको अध्यक्ष बन्न आवेदन नदिएका पनेरुले समितिको अध्यक्ष बन्न भने राम्रै प्रयास गरेको देखिन्छ।
समितिले सिएको नेतृत्व पाउने सम्भावना कति ?
बीमा समितिले सिएकै नेतृत्व पाउने सम्भावना लगभग ५० प्रतिशत छ । राष्ट्र बैंकका डेपुटी गर्भर्नर चिन्तामणि शिवाकोटीले अध्यक्षमा दावेदारी नदिएको खण्डमा समितिमा सिएको नेतृत्व आउने सम्भावना अधिक छ । तर उनले चाहेको खण्डमा भने सिएहरुको नेतृत्व आउन गाह्रो हुने जानकारहरुको ठम्याई छ । अहिले नियामक निकाय नेपाल राष्ट्र बैंकपनि सिएकै नेतृत्वमा छ । बीमा समितिको अध्यक्षमा समेत सिए आउँदा समग्र सिए क्षेत्रको पनि हित हुने र काम देखाउने अवसर पनि हुने ठम्याई जानकारहरुको छ ।
प्रतिक्रिया दिनुहोस्