Skip to content

को होला अडानको अवको अध्यक्ष ?, मोहन रेग्मी, मोहन सुवेदी, कृष्ण पौडेल वा अरु कोहि ?

दर्तावाला लेखापरीक्षकहरुको संगठन नेपाल अडिटर्स एशोसिएसन (अडान) को चौथो राष्ट्रिय महाधिवेशन यही २०७३ जेष्ठ २१, २२ र २३ गते सम्पन्न हुने भएको छ । होटल र्याडीसन, काठमाडौंमा हुने महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको एवं महाधिवेशनमा देशभरका करीव ३५० प्रतिनिधी सहभागी हुने र महाधिवेशनको उदघाटन प्रधानमन्त्री के.पी. शर्मा ओलीले गर्ने प्रचार संयोजक कृष्ण पौडेलले बिज्ञप्ती मार्फत जानकारी गराएका छन् ।
महाधिवेशनको उदघाटन कार्यक्रममा अर्थमन्त्री तथा आर्थिक क्षेत्रका बिभिन्न बोर्डका अध्यक्षहरुले समेत सम्बोधन गर्ने कार्यक्रम रहेको अडानले जनाएको छ । महाधिवेशनबाट देशभरका करीव ८ हजार लेखापरीक्षकका प्रतिनिधिको रुपमा ६५ जिल्लाबाट सम्लग्न करीव ३५० प्रतिनिधी वीचबाट एक अध्यक्ष,  प्रथम उपाध्यक्ष, ६ जना उपाध्यक्ष,  महासचिव, उपमहासचिव, सचिव, कोषाध्यक्ष सहितका १९ जना पदाधिकारी र ४४ जना सदस्य गरी ६३ सदस्यीय केन्द्रिय समितिको छनौट हुनेछन् । यता कृष्ण पौडेलले पनि आफु पनि अध्यक्षको उमेद्वार भएको बताएका छन् । 
को बन्ला अवको अध्यक्ष ?
यता अधिवेसन नजिकिंदै जाँदा अवको अध्यक्ष को बन्छ भन्ने चर्चा परिचर्चा पनि सुरु भएको छ । अध्यक्षमा हालका अध्यक्ष मोहनराज रेग्मीले नेतृत्व दोहोर्याउने सम्भावना रहेको चर्चा एकातर्फ छ भने अर्को तर्फ  अडान पूर्वाञ्चल क्षेत्रीय समितिका पूर्वअध्यक्ष तथा हालका केन्द्रिय समितिका प्रथम उपाध्यक्ष मोहन सुवेदीले समेत आफ्नो उमेद्वारी दिने बुझिएको छ । 

सहमतिमै नेतृत्व चयन हुन्छ : मोहनराज रेग्मी 
अडानको अवको अध्यक्ष  को हुन्छ भन्ने चर्चा चलिरहेका बेला अडानका हालका अध्यक्ष मोहन राज रेग्मीले सहमतिमै नेतृत्व चयन हुने बताएका छन् । सिए सरोकारसँग कुराकानी गर्दै अडान अध्यक्ष रेग्मीले भने, ‘कसैले अध्यक्षको दावी गर्नु स्वाभाविक हो । तर जे हुन्छ, सहमतिमै हुन्छ । 
सबै सदश्यको कुरा समेटेर जानु पर्ने भएकाले कसैले रहर गरेर मात्र पनि हुँदैन ।’  तपाईं पनि अध्यक्षको प्रत्यासी हुनुहुन्छ नि ? भन्ने सिए सरोकारको प्रश्नमा उनी अगाडी भन्छन्, ‘कसैले भनेर वा हल्ला गरेर अध्यक्ष हुने होइन । हामी सहमतिको प्रयास गरिरहेका छौं ।
पूर्वाञ्चलले अडान नेतृत्वमा आफुलाई रोजेको मोहन रेग्मीको दावी :
यता अडानको अवको अध्यक्षमा मोहन सुबेदी समेतप्रत्यासी देखिएका छन् । जेष्ठ १५ गते बिराटनगरमा सम्पन्न भएको चौथो पूर्वाञ्चल क्षेत्रीय अधिवेशनमा बितरण गरिएको सांगठनिक प्रतिवेदनमा समेत उल्लेख गरी क्षेत्रिय समितिको निर्णय बमोजिम अडानको आगामी नेतृत्वको सम्बन्धमा आफुलाई अध्यक्षको प्रत्यासीको रुपमा अगाडी सार्ने कुरा जानकारी गराईएको मोहन सुबेदीले सीए सरोकारलाइ बताए ।
सुबेदीले यसअघि अडानको पूर्वाञ्चल क्षेञिय सचिव र अध्यक्ष तथा केन्द्रिय समितिको सचिव, उपाध्यक्ष र प्रथम उपाध्यक्षको जिम्मेवारी पूरा गरीसकेका छन् भने आईक्यानमा काउन्सील सदस्यको जिम्मेवारी पुरा गरीसकेका छन् ।

म पनि अध्यक्षको उमेद्वार हो : कृष्ण पौडेल 
अडानको अबको अध्यक्षमा कृष्ण पौडेलले पनि उमेद्वारी दिने भएका छन् । उनी बिगत लामो समयदेखि अडानमा सक्रिय छन् । सिए सरोकारसँग कुराकानी गर्दै उनले आफु पनि अडानको अवको कार्यकालको लागि अध्यक्षको प्रत्यासी भएको बताएका छन् । 

यस अघिको समाचारमा मोहन सुबेदी हुनुपर्ने केहि ठाउँमा मोहन रेग्मी भएकोमा सच्याइएको छ। – सम्पादक      

प्रतिक्रिया दिनुहोस्