Skip to content

रेड एण्ड ब्लु आर्मिज, सिए विद्यार्थी केपी उपाध्यायको लेख

ट्ङ,ट्ङ……पाँच पटक टोलको ठूलो घण्टी बज्यो।सदाझै आज पनि बिहान पाँच बजे जागरण गितले टोल गुन्जियो । बिहानीमा जागरण गीत बजाउनाले दिनलाई उत्पादनमुलक बनाउन सहज हुन्छ भन्ने कमान्डरको विश्वास थियो । बीस मिनेट भित्रै ठूलो चौरमा मानवसागर जम्मा भयो । पन्ध्र देखि चालीस बर्षे योद्धाहरु लामबद्द भएर उभिएका छन् । सन्नाटा छायो,केहिबेरमै रास्ट्रगान बज्यो ।  

छातीमै हात राखेर हलचल नगरी सबै एकनासले उभिएका थिए,कमान्डरले सिकाएजस्तै।बिहानको जोसमा गाएको रास्ट्रगान यसरी गुन्जिन्थ्यो मानौं हजारौं सालपछि देशका जनता बिउझिएका छन् । त्यो जोसले सबै होसमा आएको प्रस्टै हुन्थ्यो । कमान्डर भन्ने गर्थे,” कमसेकम अबको बीस तीस साल सबै यसरी नै बिउझनु पर्नेछ”। पैंतालीस बर्षका हाम्रा कमान्डर अझैतेज र बुलन्द लाग्छन । पाँच मिनेटको राष्ट्रगानपछी  स्वास्थ र स्फुर्तीको लागि कसरत हुन्थ्यो । 

योगा, कराते, तेक्वान्दो, शारीरिक अभ्यासका सामान्य तालिम आदि स्वैच्छिक भएपनी आत्मरक्षाको तालिम अनिवार्य थियो । कमान्डर भन्ने गर्थे,”म चाहन्न आजभन्दा बीस बर्षपछि कुनै नेता,निजि या सरकारी कर्मचारी या रास्ट्रसेवक कोहिपनि अल्छीपन र आलस्यताको सिकार होस्” । अगुवा स्फुर्तीको उदाहरण हुनुपर्छ भन्नेमा उनी स्पष्ट थिए ।

ठिक छ बजे सामुहिक बाचा/सपथ लगिन्थ्यो,”बिगतबाट पाठ लिएर भविष्यको लागि मन,वचन र कर्मले समाज र रास्ट्र हित हुने काम पुर्ण इमानदारीताका साथ गर्नेछु,भ्रष्टाचार/जातिवाद/कृपावाद विरुद्धको हाम्रो अभियान सफल पार्न जस्तोसुकै कठिनाइ भोग्न तयार छु……………..आदि”। हरेक बिहान लिइने यस्तो सपथले मानिसहरुको सोच र व्यबहारमा बिस्तारै सकारात्मक परिवर्तन आएको महसुस हुन्थ्यो ।

त्यो सालबाट सरकारले शुक्रबार पनि शनिबारझै सार्वजनिक बिदा दिने नियम बनायो । तर शुक्रवार खासमा समाज र रास्ट्रसेवाको लागि छुट्टाइएको थियो । हाम्रो टोलमा शुक्रवार सरसफाइ र टोल बिकासका कार्यक्रम हुन्थे । गाउँघरतिरका खाली जमिनमा शुक्रबारको दिन
विद्यार्थीहरु आधुनिक खेती सिक्थे,शिक्षा मन्त्रालयले कृषि मन्त्रालयको सहकार्यमा कृषी क्रान्ति कार्यक्रमहरु हरेक विद्यालयले आयोजना गर्नैपर्ने नियम बनाएको थियो।सहरी बिद्यालयहरुमा सिपमुलक कार्यक्रमहरु हुन्थे । यस्ता कार्यक्रमहरुले श्रमप्रतिको सम्मान
र कर्मप्रतिको विश्वासलाई बढाउंथे।

आत्मनिर्भर बनाउने शिक्षा प्रणाली अपनाएपछी बिद्यालयमा विद्यार्थीहरु बढ्न थाले।कमान्डर भन्ने गर्थे,”दोस्रो विश्वयुद्ध पछि जापान अगाडी बढनुमा तिमीहरु जस्तै योद्धाहरुको अहम भुमिका छ,तिमीहरु आशा हौ,तिमीहरु नै भबिस्य हौ”। कमान्डरले यसो भनिरहदा मलाइ लाग्थ्यो उनी फेरि बीस बर्षे जवान बन्न चाहिरहेछन् । उनलाई आफ्नै जिवनकालमा देश बनाउन हतारो छ।उनलाई ठूलो पछुतो छ कि यसैगरी बीसबर्ष अगाडि देश किन बिउझिएन।मस्त निदाएका जनता भुकम्प,नाकाबन्दी र आपसी कलहले मात्र बिउझिएकोमा दुख लागेपनि सुन्दर भबिष्यदेखि ठूलो आशा छ । 

कमान्डर भन्ने गर्थे,”आज हरेक गाउँटोल सहरमा तिमीहरुजस्ता योद्धाहरु तयार हुँदैछन्, तिमीहरु रास्ट्रनिर्माणका नयाँ योद्धाहरु हौ,तिमीहरुको हतियार भनेकै कडा मिहेनत गर्ने बानी,चनाखो दिमाग र कहिले नझुक्ने स्वभिमान हो,रातो रङले साहसी र निलो रङले शान्तिप्रेमी तिमिहरु रातो र निलो रङको चन्द्र र सुर्य अङ्कित झन्डालाई जनाउने राता र निला मान्छेहरु हौ,तिमीहरु रेड एण्ड ब्लु आर्मिज हौ”।

रेड एण्ड ब्लु आर्मिजका सदस्यहरुलाई उमेर समूहको हिसाबले वर्गीकरण गरिएको थियो।पन्द्र देखि बीस बर्षे समुहलाई “अध्ययन समूह”,एक्काईस देखि छब्बीसलाई”मध्य समूह” अनि सत्ताइस देखि चालीसलाई”कर्मशिल समूह” र चालीस भन्दामाथी”आर्थिक समूह”।हरेक शुक्रबार बिहान दस बजेदेखि दिउँसो एक बजेसम्म समुहगत हिसाबले प्रशिक्षण दिइन्थ्यो।अध्ययन समुहमा पर्ने मेरो भाइ पहिलेभन्दा सिर्जनशील हुदै गएको छ।पढाई पनि झन् राम्रो हुदै छ।म आफै मध्य समूहमा पर्ने हुनाले मेरो स्वभाव र रुचि अनुसारको करियर रोज्न सक्षम भएको छु।

किनपढ्ने,कसरी पढ्ने आदि विषयहरुमा राम्रो ज्ञान हासिल हुन सम्भब भएको छ । कर्मशिल समूहका मेरो साथीका दाजुले माछापालन गर्नाले हाम्रो टोलले माछा खोज्दै अन्त जानू परेको छैन,दाजुको पनि मनग्गे आमदानी भएको छ । यी सबै समूहलाई सल्लाह,परामर्श दिने काम चालीसकबर्ष उमेर काटेका आर्थिक समूहका सदस्यहरुको हुन्थ्यो।उनीहरुले दक्षिणको विकल्प उत्तर होइन भन्ने बुझेका थिए ।आत्मनिर्भर नभै देश बन्दैन भन्नेमा सबै एकमत थिए।

नेपालगन्ज नजिकै पर्ने मेरो गाउँकै प्रस्तावमा रेड एण्ड ब्लु आर्मिजको केन्द्रिय परिसदले “मार्च फर डिग्निटी”लाई पारित गर्यो । अस्ति मात्र सम्पन्न स्वाभिमान र्यालीमा मधेसी,मुस्लिम,थारु लगायत सबै समुदायको उल्लेखनीय सहभागिता थियो।रुपहिडिया नाका नजिक पुगेर फर्किएको मानव सागरले एकता र स्वभिमानको सन्देश दिएको छ । यस्तै कार्यक्रमहरु अन्य गाउँटोलले आयोजना गर्दा हामीपनि सहभागी हुन्छौं । थारु बाहुल्य मेरो गाउँ आउदै गरेको माघीपर्व धुमधामले मनाउनेछ।यसरी रेड एण्ड ब्लु आर्मिजका सदस्यहरु एक परिवारको रुपमा बसेका छन् । 

कमान्डरको बिश्वास थियो सानै देखि स्वाबलम्बी बन्नु पर्छ भनेर सिकेका अध्ययन समूहका भाइबहिनीहरु आर्थिक समूहमा पुगे सच्चा राजनेता जन्मिनेछन।आफू आत्मनिर्भर नभै देश बदल्न सकिन्न भन्नेमा सबै सदस्य एकमत थिए । हाम्रो टोलमा आयोजना हुने राजनीतिक सभाहरुमा नेताहरु मनपरि बोल्न पाउदैनथे।टोलका अधिक युवा चेतनशिल हाम्रा सदस्य हुनाले नेताहरु युवा खरिद गर्न सक्दैनथे।सभामा बोलेका कुराको रेकर्डिङ हुन्थ्यो,बोलीसकेपछी बोल्ने नेताले मुख्य बुदामा सहि र औठाछाप एकैपल्ट गर्नुपर्थ्यो या पहिल्यै लेखेको कुरो मात्र बोल्न पाउथे।यसरी उग्रहरुले नेताज्युको बाकस्वतन्त्रता हनन भो भन्ने हिम्मत गरेनन् । 

नेताले त्यसपछि हावादारी गफ कहिल्यै दिएनन्,हाम्रो टोलमा खासै आउनै छोडे किनकी उनीहरुले काम खासै गरेका हुन्थेनन त्यसमाथि हवादारी गफ हाम्रो टोलमा बर्जित थियो।रेड एण्ड ब्लु आर्मिजले यति धेरै काम गर्यो कि नेताहरु राजनीति देखि पलायन हुन थाले किनकी उनिहरुसग देखाउनलाई केही काम थिएन बोल्नलाई अथाह गफको भण्डार थियो।यस्तो लाग्थ्यो मिल्ने भए यी नेताहरुले सगरमाथा हाम्रै कार्यकालमा पैदा भएको हो भन्न बेर लाउदैनथे होलान् । 

नदि र पहाड टिपेर बेच्न नमिल्ने हुनाले नै आज सम्म नेपालमै भएका हुन् कि।कमान्डर भन्ने गर्थे,”एकपटक भोट दिदैमा जनताको जिम्मेवारि पूरा हुदैन,यस्तो प्रणाली बन्नुपर्छ जहाँ काम नगरि सुखै छैन,जवाफ दिनैपर्छ भन्ने डरले पनि जोकोही दुष्ट राजनीति गर्न डराओस। अनि मात्र काममा ध्यान दिने पुस्तालाई राजनीतितिर आकर्षित गर्न सकिन्छ। यदि यसो हुन सकेन भने म आफ्नो जीवनकालमा समुन्नत नेपाल नदेखी मर्नुपर्नेछ जो मलाइ स्विकार्य छैन।

रेड एण्ड ब्लुज एउटा अभियान हो। देश त नेताले नै चलाउने हो।हामी राजनीतिलाइ सफा गर्नेछौं,नेतालाई जवाफदेहि बनाउनेछौ ।” कमान्डरले भनेजस्तै नहुने हो भने मेरो पुस्ता पनि आफ्नो जीवनकालमा समृद्ध नेपाल नदेखी मर्नुपर्नेछ जो मलाइ पनि स्विकार्य छैन।आफूलाई रास्ट्ररक्षक मान्ने रेड एण्ड ब्लुजको जालो देशभरी फैलिएको छ।रेड एण्ड ब्लुज अनलाइन टिमले विश्वब्यापी ट्रेन्ड #IamRed&BlueArmy फेसबुक र ट्विटरमा चलाइरहेको छ।

यो ट्रेन्डले नेपालका मिल्न नसक्ने नेताहरु हल्लिएका छन्।तब सम्म रोकिने छैन जब सम्म दुष्टहरुको जालो भत्किदैन।हामीले जस्तोसुकै परिस्थितीमा पनि आशावादीता र भोलिको सम्भावनालाई आत्मसात गर्नुपर्नेछ किनकी हामी युवानै आशा र भविष्य हौं, हामी राता र निला मान्छेहरु हौं,हामी रेड एण्ड ब्लु आर्मिज हौं । “हामी रेड एण्ड ब्लु आर्मिज हौं” म जोडले चिच्याएछु। 

आमाले मलाई उठाउदै सोध्नुभयो,”के भयो छोरा?”

मैले बिउझिदै भने,”म रेड एण्ड ब्लु आर्मी हु।”
आमाले भन्नु भो,”के भन्छ यो एकाबिहानै?,ल चाडो उठ,कति सुत्न सकेको।”
मधुरध्वनिले पल्लो कोठाको रेडियोमा गीत बजिरहेको थियो,”हजार सपनाहरुको माया लागेर आउँछ……..”।
केपी उपाध्याय
(नयाँ दिल्ली,भारत)

प्रतिक्रिया दिनुहोस्