किर्ते फाइल र कागजात बनाएर हालीमुहाली जमाउँदै आएका कपिल राणा र उनकी
श्रीमती सिर्जना राणाले आम्दानी लुकाएर खर्च बढाएको देखाएर ब्रह्मलुट गर्दै
आएको होटलको ‘अडिट रिपोर्ट’ले नै देखाएको छ । प्रभुराम भण्डारी र प्रविण
झाले किर्ते ‘अडिट रिपोर्ट’ बनाइदिने गरेका छन् । त्यसलाई केही समयअघि नै
पाँच करोड घोटाला गरेको आरोपमा निकालिएका जीतेन्द्र राजभण्डारीले सघाएको
समय बित्दै जाँदा खुल्दै गएको छ । होटलका कार्यकारी अध्यक्ष राणा र सञ्चालक
राणाले चरम लापरबाही गरी खुलमखुल्ला राजस्व मार्ने काम गरेको, योजनाबद्ध
रुपमा पुँजी पलायन गर्ने गरेको र उक्त कार्यलाई समेत वैधानिकता देखाउने गरी
‘अडिट रिपोर्ट’ तयार गरिएको छ । सोही आधारमा होटलको आर्थिक वर्ष २०६९/०७० र
२०७०/०७१ को ‘अडिट रिपोर्ट’ नक्कली भएको रहस्य खुलेको हो ।
‘रिपोर्ट’मा
होटलको प्रशासनिक खर्च सञ्चालन खर्चभन्दा बढी देखिएको छ । सामान्यरुपमा
होटल क्षेत्रमा प्रशासनिक खर्च सधैँ सञ्चालन खर्चभन्दा कम हुने भएता पनि
उक्त होटलमा भने सञ्चालन खर्च अत्यधिक देखाइएको छ । ‘अडिट रिपोर्ट’मा
राणाद्वयले गरेको अधिक खर्चलाई ‘सन्ड्री क्रेडिटर्स’मा देखाउने काम भएको छ ।
करोडौँ रुपैयाँ कर्जा अपचलन गरेको, विदेशी मुद्रा अपचलन गरेको, नक्कली
कन्सल्ट्यान्ट देखाएर समेत रकम दुरुपयोग गरेको, ‘सेयर होल्डर’लाई नै प्रमुख
नियुक्त गरेर लाखौँ रुपैयाँ रकम बाँड्ने काम भएको छ । नियमअनुसार एउटै
फर्मले आन्तरिक तथा बाह्य ‘अडिट रिपोर्ट’को काम गर्न नपाउने व्यवस्था रहेको
छ । होटलको ‘अडिट रिपोर्ट’ तयार गर्ने काम जोशी एण्ड भण्डारी चार्टर्ड
एकाउन्टेन्टस् डिल्लीबजारले गर्ने गरेको छ । तर होटलको बाह्य ‘अडिट’ प्रभुराम
भण्डारीले गरेको र आन्तरिक ‘अडिट’ प्रविण झाले गरेका छन् । ती दुवै व्यक्ति
फरक भए पनि कम्पनी भने एउटै रहेको छ । होटलले नक्कली कन्सल्ट्यान्ट देखाएर
समेत रकम दुरुपयोग गरिएको छ ।
होटलको वार्षिक आम्दानी अर्बौँ
रुपैयाँ भए पनि खर्च उच्च देखाएर करोडौँ रुपैयाँ हिनामिना गरेको खुलेको छ ।
समाचार तयार पार्ने क्रममा प्राप्त होटलसम्बन्धी कागजपत्र समेतको आधारमा
होटलका कार्यकारी अध्यक्ष राणा र सञ्चालक राणाको मिलेमतोमा अत्यन्त कम नाफा
देखाएर करोडौँ रुपैयाँ हिनामिना भएको देखिएको हो । होटलको वार्षिक
वित्तीय विवरण तयार पार्ने काम जोशी एण्ड भण्डारी चार्टर्ड एकाउन्ट डिल्ली
बजारले गर्दै आएको छ । उक्त कम्पनीले तयार गरेको ‘अडिट रिपोर्ट’मा होटलले
आर्थिक वर्ष २०७०/०७१ मा प्रशासनिक खर्चबापत ३३ करोड ४२ लाख ४० हजार छ सय
२८ रुपैयाँ खर्च गरेको छ । गत आवमा होटलको वार्षिक प्रशासनिक खर्च २९ करोड
९३ लाख ६९ हजार तीन सय ८१ रुपैयाँ देखाएको छ । तर ‘अडिट रिपोर्ट’ २०६९/०७०
उल्लेख भएअनुसार गत आवमा होटलले प्रशासनिक क्षेत्रमा जम्मा २९ करोड ७४ लाख
तीन हजार सात सय १० रुपैयाँ मात्र खर्च गरेको देखाएको छ । एकै आर्थिक
वर्षको ‘अडिट रिपोर्ट’ भए पनि होटलको वार्षिक प्रशासनिक खर्चमा झण्डै १५
लाख रुपैयाँले देखिएको छ ।
‘अडिट रिपोर्ट’ २०७०/०७१ अनुसार
होटलले उक्त आवमा तलब र ज्यालामा ११ करोड ४७ लाख १७ हजार पाँच सय ४०
रुपैयाँ, कर्मचारी अवकाश खर्चअन्तर्गत एक करोड ९० लाख ५१ हजार एक सय ९२,
हिट, लाइट र पावर शीर्षकमा चार करोड १८ लाख ६१ हजार दुई सय ४७,
मर्मतसम्भारअन्तर्गत दुई करोड ११ लाख ६९ हजार तीन सय ४१, प्रिन्टिङ र
स्टेसनरीमा २२ लाख ४० हजार चार सय ७० रुपैयाँ खर्च गरेको देखाएको छ ।
यसैगरी ‘अडिट’ शुल्कमा चार लाख, चन्दा र सामाजिक कार्यमा १३ लाख चार हजार
नौ सय ५६, क्लिनिङमा ३३ लाख ६९ हजार तीन सय ६१, बीमामा ७७ लाख ४० हजार आठ
सय ७५, यातायात र भ्रमणमा तीन करोड सात ८९ हजार दुई सय ४१, लिपगल एण्ड
प्रोफेसनलमा दुई करोड ४० लाख चार हजार ५५, कम्युनिकेसनमा ४१ लख सात हजार
दुई सय ३०, मेम्बरसिप र लाइसेन्समा २३ लाख ७५ हजार सात सय २८,
बिक्रीवितरणमा एक करोड ३३ लाख ९८ हजार चार सय ६४ रुपैयाँ तथा कमिसन र
डिस्काउन्टमा ४३ लाख २१ हजार चार सय २८ रुपैयाँ खर्च गरेको देखाएको छ । तर
होटलमा हाल विद्यमान कर्मचारी संख्या, पाउने सेवा सुविधा तथा अन्य शीर्षकमा
जुन खर्च गरेको देखाइयो तर वास्तवमा त्यो खर्च घुमाउरो रुपमा सञ्चालकद्वय
राणाको खल्तीमा गएको छ ।
विवरणअनुसार होटलले २०७१ असार ३२
गतेसम्ममा ६२ करोड ८९ लाख ८५ हजार चार सय ४० रुपैयाँ बिक्री आम्दानी
प्राप्त गरेको छ । सो अवधिमा होटलको सञ्चालन खर्च २२ करोड आठ लाख ९६ हजार
दुई सय ६० रुपैयाँ रहेको छ भने प्रशासनिक खर्च ३३ करोड ४२ लाख ४० हजार छ सय
२८ रुपैयाँ रहेको छ । यी सबै खर्च कटौती गर्दा उक्त आवमा होटलले एक करोड
१७ लाख ४६ हजार १३ रुपैयाँ मात्र सञ्चालन मुनाफा आर्जन गरेको देखिएको छ ।
अघिल्लो आवको सोही अवधिमा होटलले एक करोड छ लाख ४७ हजार ८३ रुपैयाँ सञ्चालन
मुनाफा आर्जन गरेको देखिएको छ । होटलको आव २०७०÷०७१ मा करपछिको खुद मुनाफा
भने ३२ लाख १७ हजार आठ सय ७९ रुपैयाँ मात्र रहेको छ । अघिल्लो आवमा भने
होटलले ३५ लाख ९१ हजार नौ सय ८२ रुपैयाँ खुद मुनाफा आर्जन गरेको देखिएको छ ।
होटलको कारोबारसँगै आम्दानी बढे पनि मिलेमतोमा खर्च बढी देखाएर निकै कम
मात्र आम्दानी देखाएको छ ।
अधिकृत पुँजी २० करोड तथा चुक्ता
पुँजी छ करोड ७२ हजार रुपैयाँ रहेको होटलको आफ्नै आम्दानी उच्च भएता पनि
नाफा कम रहेको भन्दै तीनवटा बैकसँग ३३ करोड चार लाख ३४ हजार आठ सय २२
रुपैयाँ कर्जा लिएको देखाएको छ । उक्त कर्जामध्येमा कुमारी बैकसँग आवधिक
कर्जा शीर्षकमा पाँच करोड ७६ लाख २० हजार रुपैयाँ कर्जा लिएको छ भने
लुम्बिनी र मेगा बैकसँग कन्सोडिएममा २७ करोड २८ लाख १४ हजार आठ सय २२
रुपैयाँ कर्जा लिएको छ । अघिल्लो आवमा पनि होटलले कुमारी बैकसँग आवधिक
शीर्षकको कर्जाअन्तर्गत छ करोड ६१ लाख २० हजार तथा लुम्बिनी र मेगासँग
कन्सोडिएममा २७ करोड ७६ लाख ८० हजार छ सय ७३ रुपैयाँ समेत गरी कुल ३४ करोड
३८ लाख छ सय ७३ रुपैयाँ कर्जा लिएको देखाइएको छ । आर्थिक दैनिक मा खबर छ।
प्रतिक्रिया दिनुहोस्