Skip to content

सिए कन्फेरेन्सबारे राउण्ड टेबल : एक्यान अध्यक्ष भन्छन् ‘सिएको योगदानबारे देश र समाजलाई बुझाउनुपर्नेछ’

  • नयाँ पत्रिका 
सरकारले आर्थिक समृद्धि र सुखी नेपालीको अवधारणा बाहिर ल्याएको छ । यो केवल राजनीतिक नारा मात्र होइन, विकासको राष्ट्रिय एजेन्डा पनि हो । अहिले बलियो सरकारको उपस्थिति रहेका वेला देशले काँचुली फेर्नुपर्ने आवश्यकता पनि छ । त्यसकारण चार्टर्ड एकाउटेन्टजस्तो बौद्धिक वर्गले विकास र समृद्धिमा प्रत्यक्ष रूपमा सहयोग गर्न सक्छ । यो आत्मविश्वासका साथ हामीले हाम्रो भूमिकाबारे राज्यलाई बुझाउने उद्देश्यसहित यो कार्यक्रम आयोजना गरिएको हो । वित्तीय साक्षरता, वित्तीय पारदर्शिता र हामीले दिन सक्ने एड्भाइजरी भूमिकाबारे राज्यलाई जानकारी गराउने कोसिस हामीले गर्नेछौँ । यस्तो कार्यक्रमले अन्य संघसंस्थालाई पनि प्रोत्साहन दिने अपेक्षा छ । आनन्दराज शर्मा वाग्ले,अध्यक्ष, नेपाल चार्टर्ड ,एकाउन्टेन्ट्स संघ (एक्यान)
लेखापरीक्षकहरू सिए र दर्तावाल लेखापरीक्षक गरी दुई किसिमका हुन्छन्, दुवै नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान)का सदस्य छन् । आइक्यान नियमनकारी संस्थासमेत भएकाले दर्तावाल लेखापरीक्षकलाई पनि कानुनी हिसाबले सँगै लिएर जान क्षमता अभिवृद्धि गरी अघि बढाइँदै गरिएको छ । तर, म चार्टर्ड एकाउन्टेन्ट्स संघको अध्यक्षका हिसाबले हामीले भोग्नुपरेको समस्याका बारेमा बताउँछु । हामीले गल्ती गरेको ठाउँमा चार्टर्ड एकाउन्टेन्ट्सहरूलाई दोषारोपण गरिएको छ । म ठोकुवाका साथ भन्न सक्छु, कुनै पनि चार्टर्ड एकाउन्टेन्टले गलत ब्यालेन्स सिट बनाउँदैन । तर, कम्पनीहरूका दुई ब्यालेन्स बन्ने गरेका छन्, त्यो सिएले बनाउँछन् भनेर समाजले सिएलाई दोष दिएको छ । आफूले नगरेको गल्तीको भागीदार हामी चार्टर्ड एकाउन्टेन्ट्स हुनु राम्रो होइन । गल्ती गरेको छ भने त व्यक्तिले भोग्नैपर्छ । तर, कुनै एक व्यक्तिले गल्ती गरेको छ भनेर समग्र चार्टर्ड एकाउन्टेन्ट्सलाई मुछ्न मिल्दैन । यस्ता कुरालाई हामीले चिर्न सक्नुपर्छ । 
पाँचवटा अन्तरसम्बन्धित विषयमा समान स्तरमा विज्ञ भएपछि सिए हुन सकिन्छ । एउटा विषयमा अनुत्तीर्ण हुँदा पनि पूरै विषयको पुनः जाँच दिनुपर्ने कारण पनि त्यही हो । कर्पोरेट लमा गरिने परिवर्तनले ट्याक्स, एकाउन्ट, फाइनान्समा के असर पर्छ भनेर एउटै व्यक्तिले बुझ्छ । त्यसो हुँदा आर्थिक क्षेत्रका यी यस्ता विषयमा एकसाथ विज्ञ बनेका जनशक्ति राज्यका लागि नै एउटा महत्वपूर्ण खम्बा नै हो । त्यस्तै, हामी सेवा क्षेत्र मात्रै पनि होइनौँ, उत्पादक पनि हौँ । व्यक्तिलाई प्रशिक्षित गरी राज्यलाई नयाँ जनशक्ति उत्पादन गरिदिइरहेका छौँ । तर, राज्यले त्यो विषय बुझेर वा नबुझेर पाखा लगाएकोजस्तो देखिएको छ । अब हामीले सिएको यस्तो योगदानबारे देश र समाजलाई बुझाउनुपर्ने वेला आएको छ ।

प्रतिक्रिया दिनुहोस्