
- सुरज प्याकुरेल / सिए सरोकार डटकम
काठमाडौँ – नेपाल चार्टड एकाउन्टेन्ट्स संघ (एक्यान) को चुनाव नजिकिंदै गर्दा ‘अवको अध्यक्ष को होला ?’ भन्ने चर्चा पनि चुलिंदै गएको छ । संघमा हालका उपाध्यक्ष रहेका आनन्द शर्मा वाग्ले र सिए बद्री गुरागाईं अध्यक्षको पदका लागि मैदानमा उत्रिने पक्कापक्की भएपछि एक्यानको चुनावी माहोल अझै तातेको हो । अघिल्लो कार्यकालदेखि नै एक्यानमा सक्रिय रहेका आनन्द शर्मा वाग्ले र केहि समय ‘मार्केट’ मै हराएका गुरागाईंबीचको प्रतिष्पर्धामा कसले बाजी मार्ला भन्ने अनुमान, टिका टिप्पणीहरुसमेत हुन थालेका छन् ।
यी हुन् वाग्ले र गुरागाईंका सवल पक्ष !
एक्यानमा बिगत देखि नै सटिक व्यक्तित्वका रुपमा परिचित सिए हुन् आनन्द शर्मा वाग्ले । हाल उपाध्यक्षको पदमा रहेका उनी अघिल्लो कार्यकालमा एक्यानका कोषाध्यक्ष थिए । एक्यानको कोषाध्यक्ष रहँदादेखि नै काममा पक्का, बोली र व्यवहारमा ‘सटिक’ भएर आफ्नो परिचय बनाएका वाग्लेको यहि व्यवहारका कारण उनी सिएहरुमाझ सकारात्मक रुपमा नै परिचित छन् । विशेषगरी सिए क्षेत्रका केहि पूराना सिएहरुले पनि उनलाई राम्रो मान्ने गरेका छन् । एक्यानका अहिलेका अध्यक्ष हरि सिलवाललाई छोडेर अधिकांस पदाधिकारी उनीप्रति ‘पोजेटिभ’ छन् । कसैसँग दुश्मनी नराख्नु र उनको स्पष्ट एजेन्डा उनका लागि थप सवल पक्ष हुन् । तर चुनाव आखिर चुनाव नै हो । यसलाई उनले कसरी प्रयोग गर्न सक्छन् वा गर्छन् भन्ने कुराले एक्यानमा उनको भविष्य निर्धारण हुने कुरामा कुनै शंका छैन ।
यसो त बद्री गुरागाईं कम्ती सम्भावना बोकेका व्यक्ति होइनन् । त्यसमाथि पनि उनलाई उपाध्यक्षमा सन्तोष लम्साललाई समर्थन गर्नेहरुको ठुलो सपोर्ट छ । सिधा भन्दा उनी सन्तोष लम्सालकै समूहले अध्यक्षका लागि उठाएका ‘क्यान्डीडेट’ हुन् । यसो त अहिले बद्रीलाई अध्यक्षमा उठाएजस्तो गर्ने र उपाध्यक्षमा दीपक पाण्डेसँग हार्ने स्थिति देखिए सन्तोष लम्साल आफैं अध्यक्षमा उठ्ने चर्चा पनि छ । त्यसो भएको खण्डमा बाहेक गुरागाईंलाई लम्साल समूहको ठुलो समर्थन छ ।
एक्यानमा हरि सिलवालको ‘मनलाग्दी’ बढी भएको भन्दै, ‘कि सहेर बस्ने हो, कि राजीनामा दिने हो, अहिले सहेर बसेका छौं। ‘ भन्ने अभिव्यक्ति आनन्द शर्मा वाग्लेले आफ्ना साथीहरुलाई गुनासो पोखेको थाहा पाएदेखि हरि सिलवालले वाग्लेलाई समर्थन नगर्ने पक्का छ । हरि सिलवालको गफलाई मन पराउने झुण्डले पनि गुरागाईंलाई समर्थन गर्ने पक्का छ । अर्कोतर्फ आनन्द शर्मा वाग्ले भन्दा बद्री गुरागाईंको साथमा ‘चुनावी खेलाडी’हरु बढी छन् । चुनाव भनेको अंकगणितको खेल र प्रभावको राजनीति पक्कै हो । यो खेलमा बिगतमा च्याम्पियन बनेका केहि सिएहरु पनि गुरागाईंकै समर्थनमा छन् ।
यी हुन् वाग्ले र गुरागाईंका कमजोर पक्ष !
चुनावका बेला आफ्ना प्रतिष्पर्धीका कमजोरी केलाएर त्यसलाई नै चुनावी हतियार बनाउने चलन विश्वव्यापी अभ्यास नै हो भन्दा फरक पर्दैन । यसैबीच चुनावमा होमिएका यी दुइ सिएले पनि आफ्ना सवल पक्ष भन्दा विपक्षीको कमजोर पक्षमा राजनीति गर्ने कुरामा शंका छैन । यो काममा आनन्द शर्मा वाग्ले अलि कमजोर छन् । उनका लागि यहि कमजोरी भारि पर्न सक्छ । सिधा अर्थमा भन्दा उनीसँग विपक्षीसँग नकारात्मक ‘राजनीति गर्न जान्ने’ ‘खुरापाती’ दिमागका सहयोगीहरु कम छन् ।
यसो त अघिल्लो कार्यकालमा राम्रै कामको जस पाएका उनले उपाध्यक्ष हुँदा केहि पनि काम गर्न नसकेको भन्दै अपजश पनि भोगीरहेका छन् । यो कुराले पनि एक्यानका सदस्यहरुको ‘न्यूट्रल’ भोट उनलाई नआउन सक्ने सम्भावना बढी छ । अर्को महत्वपूर्ण पक्ष भनेको उनको पक्षमा बोल्ने, र दौडधुप गर्ने केहि सिएहरु अहिले बिरामी छन् । यसले उनको सम्भावनालाई अझै कमजोर बनाउन सक्छ ।
जति-जति चुनाव नजिकिंदै छ, बद्री गुरागाईंका कमजोर पक्षका विश्लेषण पनि बजारमा हुन थालेको छ । यतिसम्मकी उनका विपक्षी वा उनलाई भोट नहाल्नेहरुले सहकारी बैंकमा उनले गरेको भनी चर्चा चलेको घोटाला प्रकरणदेखिका कुराहरु सार्वजनिक फोरममै उठाउन थालिसकेका छन् । यो चर्चा उनका लागि भारि पक्कै हुन सक्छ । कतिपयले त उनको केस अझै सकिएको छैन र सोहि केसलाइ कमजोर बनाउन उनी एक्यानमा उठ्दैछन् भन्ने चर्चा पनि चलाएका छन् । यद्यपी यो कुरामा गुरागाईं मौन छन् । अर्कोतर्फ गुरागाईं आफ्नो भन्दापनि आफ्ना सहयोगीका कारण चुनावमा उठ्न लागेका हुन् । चुनावमा कतिसम्म राजनीति हुन्छ भन्ने कुरा वाग्लेको तुलनामा कम भोगेका उनलाई यो अनुभवको कमी पनि भारि हुन सक्छ ।
तेश्रो व्यक्ति आउने कुरा !
अध्यक्षमा गुरागाईं र वाग्ले बाहेक अन्य आउने सम्भावना पनि छ । उपाध्यक्षमा दीपक पाण्डेसँग हार्ने स्थिति देखिएमा र गुरागाईंको विवाद झन् सतहमा आएमा सन्तोष लम्साल आफै अध्यक्षमा उठ्ने तयारी भएको समेत चर्चा पनि उतिकै छ । सन्तोष लम्सालसंग निकै नजिक रहेका केहि सिएले सार्वजनिक रुपमै यस्तो कुरा उठाउन थालेपछि यो विषयमा पनि अहिले चर्चामै छ । यसो त गुरागाईं र वाग्ले दुवैको अध्यक्षका लागि ‘हाइट’ पुग्दैन यसपाली म अध्यक्ष बन्छु भन्दै एक सिनियर सिए पनि लागि परेको चर्चा छ । यद्यपी उनले आफ्नो ‘क्यान्डीडेसी’ फाइल गर्छन् वा गर्दैनन् भन्ने कुरा भने टुंगो लागिसकेको छैन ।
सुस्ताएको एक्यानलाई नयाँ राम्रो नेतृव आवश्यक छ । जसले जिते पनि काम गर्न सके सबैको भलो हुन्छ । गुरागाईं र वाग्लेमात्र होइन, अध्यक्षको पदमा उठ्न तम्सिएका ती सिनियर सिएलाई पनि सिए सरोकारको तर्फबाट शुभकामना !
प्रतिक्रिया दिनुहोस्