
- सिए सरोकार सम्बाददाता
काठमाडौँ- आउँदो फाल्गुन १९ गते नेपाल चार्टड एकाउन्टेन्ट्स संघ (एक्यान) को निर्वाचन हुँदैछ । पछिल्लो समय एक्यानप्रति बढेको क्रेज र एक्यानमा छिरेको राजनीतिक प्रभावले चुनावमा ‘लफडा’ हुने सम्भावना पनि धेरै नै छ । यसो त यसपाली विद्युतीय माध्यमबाट मतदान हुने हुनाले भोटको विषयलाई लिएर खास लफडा नपर्ला। तर गलत नियत बोकेका केहि सिएहरुले वातावरण नाबिगर्लान् भन्न पनि सकिन्न । त्यसकारण एक्यानको नेतृत्वले आउँदो चुनावमा केहि कुराहरु गम्भीर भएर सोच्नुपर्ने देखिन्छ ।
१. एक्यानको गत चुनावका बेला केहि सिए मदिरापान गरेर नै चुनावमा आएका थिए । को रक्सी पिएर आएको थियो भन्ने सबैलाई थाहा हुँदा पनि कसैले केहि गर्न सक्ने अवस्था थिएन । किनकि उक्त चुनावमा सुरक्षाको प्रतिबन्ध नै मिलाइएको थिएन । चुनाव भनेपछि सुरक्षाका दृष्टिकोणले सोच्नुपर्ने हुन्छ । यसपाली एक्यानले प्रहरी खटाउने कुरामा ध्यान दिनुपर्ने देखिन्छ ।
२. पेशागत रुपमा अब्बल मात्र होइन, सिएहरु कतिसम्म ‘अराजक’ हुँदारहेछन् भन्ने तथ्य पनि अघिल्लो चुनावमा देखिएकै हो । आफैं चुनावमा उठ्ने, अनि विवादित विषयमा आफैं यसो गरौँ भनेर अभिभावक जस्तो बन्ने, तोडफोड गर्ने, मनपरी बोल्ने लगायतका क्रियाकलाप पनि गत चुनावमा देखिएकै हो । अझ अचम्मको कुरा त के थियो भने, हरि सिलवाल आफैं अध्यक्षका प्रत्यासी थिए । महासचिवको विवाद आउँदा उनी आफैं यसो र उसो भन्दै यताबाट फकाएजस्तो गर्ने, उताबाट उचालेजस्तो गर्ने गरिरहेको चर्चा त्यतिबेला नै चलेको थियो । चुनाव भनेको सिष्टममा हुनुपर्छ । यो पटक एक्यानले यस्तो विषयमा पनि ध्यान दिनुपर्छ ।
३. समस्या परेपछि मात्र मान्छेको क्षमता थाहा हुन्छ । गत चुनावमा निर्वाचन अधिकृत रहेका ज्ञानेन्द्र भारी असक्षम भएको प्रमाणित भइसेको छ । एउटा पक्षले यसो गरौँ भन्यो भने, ‘हो हो यसै गरौँ’ भन्ने अनि अर्को पक्षले ‘हुन्न कहाँ यस्तो गर्नु’ भन्यो भने, ‘हो-हो, हुन्न हुन्न’ भन्ने उनको क्रियाकलाप देखिएकै हो । यसपाली एक्यानले निर्वाचन अधिकृत छान्दा विशेष ध्यान दिनुपर्ने अवस्था छ ।
४. यसपाली एक्यानको चुनाव, एक्यानको चुनावमात्र होइन, आइक्यानको चुनावको तयारी पनि हो । त्यसैले उक्त चुनावमा धेरै सिनियरहरुको पनि उपस्थिति हुने गर्छ । आफुमात्र राम्रो र ठुलो सम्झने एक्यानको नेतृत्वले यसपाली सिनियरहरुको सम्मानमा पनि विशेष ख्याल गर्नुपर्ने अवस्था देखिन्छ ।
५. हुन त सिए भएपछि अडिट, वा जागिर जहाँ पनि जान मिल्ने वा कुनै पनि वित्तीय विषयको विज्ञ हुन् भन्ने बुझिन्छ । तर हाम्रा केहि सिएहरु यतिसम्म विज्ञ हुन खोज्छन् कि मानौं, प्रजातन्त्र, चुनाव, सेक्युरिटी, खानपिन सबैमा उनीहरुजस्तो बिज्ञ कोहि छैनन् । यसले कतिसम्म समस्या निम्त्याएको थियो भन्ने गत चुनावमा देखिएकै हो । त्यसैले आफु बोलीरहने, र आफ्नो बखान गरिरहने भन्दापनि अरुको पनि कुरा सुन्ने गरियो भने यसपालीको चुनाव सफल नै होला ।
५. गत साधारणसभाबाट एक्यानका अध्यक्ष हरि सिलवालको छवि बजारमा कतिसम्म बिग्रिएको छ भन्ने लेखाजोखा नै छैन । त्यसको साँचो लेखाजोखा हुन यसपालीको आइक्यानको चुनावमा उनी उठ्नुपर्छ । कतिपय सिएहरु त सिलवालसंग यति रुष्ट भइसकेका छन् कि हरि सिलवालले जे गरेपनि उनीहरुलाई मन पर्न छोडीसकेको छ । यो बीचमा अलि बढी बोल्ने, अरुका कुरा कम सुन्ने, बानी भएका सिलवालले माहोल नाबिगार्न ध्यान दिनुपर्ने देखिन्छ । गत साधारणसभामा रकम नै नमिलेको ब्यालेन्स सिट देखाएर एक्यानको अन्तराष्ट्रिय बेइज्जत गरिसकेका र सदस्यको संसोधन प्रस्ताव साधारणसभामा नलगेर निरंकुशताको उदाहरण बनीसकेका सिलवालले यसपाली सो कुरामा पनि ध्यान दिन जरुरी छ ।
निर्वाचन सफल रहोस्, हाम्रो शुभकामना !
प्रतिक्रिया दिनुहोस्