
- सिए सरोकार सम्बाददाता
काठमाडौँ- नेपाल चार्टड एकाउन्टेन्ट्स संघ (एक्यान) को आशन्न चुनावको सरगर्मी बढेसँगै आफ्नो उम्मेद्वारी घोषणा गर्ने ‘लहड’ नै चल्न थालेको छ । विभिन्न पदमा आफु चुनावमा लड्न लागेको खबर विभिन्न उम्मेदवारले सार्वजनिक गरिरहेका छन् भने उम्मेदवारहरुले चुनावी तयारी पनि राम्रै गर्न थालेका छन् । यतिसम्म कि यो बीचमा कुनै फर्मले आयोजना गर्ने पिकनिकदेखि सिएहरुको सामान्य ‘ग्यादरीङ’ सम्म आशन्न एक्यानकै चुनावी चर्चा छ । एक्यानमा अवको नेतृत्व कसको आउँछ ? महासचिव को हुन्छ ? लगायतका चर्चा त छंदै छन्, संघको कोषाध्यक्ष पदमासमेत ५ जनाको र सदस्य पदमा दर्जनबढी उम्मेद्वार हुने भएपछि यसको चर्चा राम्रै चल्न थालेको छ ।
को को उठ्दैछन् कोषाध्यक्ष पदमा ?
गत बर्षको चुनावमा महासचिवको राम्रै चुनावी चर्चा थियो । यसपाली त्यस्तै चर्चा कोषाध्यक्षको छ भन्दा फरक नपर्ला । उपाध्यक्ष, र महासचिवमा कसले जित्छ भन्ने पक्का प्राय हुनु, र सदस्यमा उठ्नेहरुको संख्या बढी हुनुले पनि धेरैको ध्यान कोषाध्यक्षको चुनावमा केन्द्रित भएको छ । यसपाली कोषाध्यक्षको पदमा नवराज लामिछाने, राजु ढकाल, नारायण कंडेल, उमेश राज पाण्डेय र कमल सिलवालले आफु उठ्ने जानकारी विभिन्न माध्यमबाट दिइसकेका छन् । यीमध्ये नारायण कंडेल, राजु ढकाल, र नवराज लामिछानेको ‘कमन भोट’ धेरै छन् ।
यता उठेका उम्मेदवारहरुका आ-आफ्नै विशेषता छन् । एक्यानको कोषाध्यक्ष पदमा उठेकाहरुमध्ये राजु ढकाल राम्रो ‘पीआर’ भएका सिएमध्ये गनिन्छन् भने नारायण कंडेललाई सिए क्षेत्रमा ‘चतुर’ राजनीतिक खेलाडी भन्नेहरु धेरै छन् । नवराज लामिछाने र कमल सिलवाल खास सुनिएका नाम होइनन् । यता उमेश राज पाण्डेय नेपाल बोर्डमा राम्रो पीआर भएका र साच्चै नेता नै हुनुपर्ने गुण भएका सिएका रुपमा चिनिन्छन् ।
कसको पल्ला भारी ?
माथि उल्लेखित सबै उम्मेदवारहरु उठे भने यसपालीको एक्यानको कोषाध्यक्ष उमेश राज पाण्डेय नै हुने कुरामा कुनै शंका छैन । किनकि नेपाल बोर्डका अधिकांस भोट उनलाई जाने निश्चित छ भने भारतीय बोर्डका भोट बाँकी प्रतिष्पर्धीमा बाँडीने देखिन्छ । यहि कुरा थाहा पाएर होला सायद, बाँकी उम्मेदवारहरुले उम्मेद्वारी फिर्ता लिने र कसलाई समर्थन गर्ने बारे पनि सोचिरहेको बुझिएको छ । यतिसम्मकी सबै बाँकी एकातिर भएर एक जना उम्मेदवार उठाउने र एकातिर उमेश राज पाण्डेय उठाउने चर्चा पनि छ । यसो भएको खण्डमा यसपालीको एक्यानको चुनाव साच्चै हेर्न लायकको र ‘रमाइलो’ हुनेछ । यद्यपी सबै मिलेर एकातिर र पाण्डेय अर्कोतिर भएको खण्डमा भने पाण्डेयलाई चुनाव फलामको च्यूराजस्तै हुने कुरामा कुनै शंका छैन ।
यसो त ५ जना प्रतिष्पर्धीको भोट बाँडीने र चुनाव उमेश राज पाण्डेयले जित्ने छाँटकाँट देखिएपछी पाण्डेयलाई हराउन भन्दै अरु सबै मिलेर एक जनालाई उठाउने चर्चा, बहस र तयारी पनि भइरहेको बुझिएको छ । यसका लागि केहि उम्मेदवारहरु तयार भएको र केहीलाई मनाउने प्रयास भइरहेको जानकारी सिए सरोकारलाई प्राप्त भएको छ ।
कोषाध्यक्ष पदमा किन यत्रो क्रेज ?
एक्यान कोषमा खास पैसा भएको संगठन होइन । तर पनि एक्यानको कोषाध्यक्ष बन्न किन यत्रो क्रेज भन्ने प्रश्न पनि सिए क्षेत्रमा उठ्न थालेको छ । अध्यक्ष र उपाध्यक्षका दावेदार मैदानमा आइसक्नु, सदस्य खास ठुलो पद नहुनु, महासचिवमा कामको प्रेसर बढी हुनु र कोषाध्यक्षको अनुमति विना एक्यानका कुनै पनि काम अघि बढ्न नसक्नु जस्ता कारणले कोषाध्यक्ष पदमा यति धेरै क्रेज बढेको चर्चा नेपाली सिए क्षेत्रमा छ । यद्यपी यसपालीको ६ जनाको उम्मेद्वारीको चर्चालाई संयोग मान्नेहरु धेरै छन् । जसले जितेपनि एक्यानमा गएर काम गर्न सके सबैको भलो हुन्छ । सबै उम्मेदवारलाई जीतको लागि शुभकामना।
प्रतिक्रिया दिनुहोस्