
कक्षा १२ को परीक्षा सकिनासाथ जुनसुकै संकायका विद्यार्थीले पनि सिए अध्ययन गर्न पाउने भएकाले भर्ना सहज छ। परिश्रम र लगनसाथ अध्ययन गर्ने विद्यार्थीलाई साढे चार वर्षको सिए कोर्सले सीपयुक्त दक्ष जनशक्ति स्थापित गर्ने पुतलीसडकस्थित सिएआई प्रालिका अध्यक्ष बालचन्द्र श्रेष्ठ बताउँछन्।
सिए पास जनशक्ति मुख्यतया लेखापरीक्षणको क्षेत्रमा खपत हुन्छ । साथै लेखा, वित्तीय व्यवस्थापन, कर, कानुनलगायत विधामा दक्ष हुने भएकाले उनीहरूले परामर्शदाताका रूपमा पनि काम गर्न सक्छन्।
श्रेष्ठ आफैं पनि सिए भएकाले उनको अनुभवमा सुरुमा सिए पढ्न केही मुस्किल भए पनि तेस्रो वर्ष व्यावहारिक अध्ययन गराइने हुनाले निकै रुचिको विषय बन्ने गरेको छ ।
सर्वसुलभ शुल्कमा अन्तर्राष्ट्रियस्तरकै पाठ्यक्रममा आधारित सिए शिक्षा नेपालमै उपलब्ध गराउने संस्था दुई दशकअघि स्थापना भएपछि अध्ययन गर्ने विद्यार्थी बढ्न थालेको उनी बताउँछन्।
नेपालमा सिए पढ्ने बढ्न थालेपछि सरकारले यससम्बन्धी शिक्षाको कोर्स व्यवस्था गरी परीक्षा सञ्चालन गर्र्न, व्यवस्थापन गर्र्न, नतिजा प्रकाशन गर्न, कक्षा सञ्चालन अनुमति दिन, लेखा व्यवसायीलाई नियमन गर्न २०५३ सालमा नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) स्थापना गरेको थियोे।
त्यसअघि सिए पढ्न नेपाली विद्यार्थी विशेषगरी भारत जान्थे । २०५२ मा सिएआईले पहिलो पटक इन्स्टिच्युट अफ चार्टड एकाउन्टेन्ट अफ इन्डियाको कोर्स पढाएको थियो । नेपाल सरकारले आइक्यान स्थापनापछि त्यसबाट सम्बन्धन लिने पहिलो संस्था सिएआई हो।
‘सिए प्रोफेसनल कोर्स भएकाले अध्ययनपछि उत्पादित दक्ष जनशक्तिको रोजगारी निश्चित हुन्छ,’ सिएआई प्रालि अध्यक्ष श्रेष्ठ भन्छन्, ‘यो विषय अध्ययन गर्ने फिल्डमै गएर तीन वर्ष सीपअनुसार आर्थिक आयआर्जनको काम गर्छन् ।’ उनले थपे, ‘सिए अध्ययन गरेको जनशक्तिले अफिस व्यवस्थापन निकै राम्रो तरिकाले गर्न सक्छ।’
स्वदेश र विदेशबाट अध्ययन गरेका सहित नेपालमा अहिले एक हजार २ सय सिए छन् । जसमध्ये ७ सय सिएआई कलेजका उत्पादन भएको श्रेष्ठले बताए।
नेपालमा अन्तर्राष्ट्रिय मापदन्डमै सिए कोर्स बनाएर पठनपाठन भइरहेको छ । नेपालमा उत्पादित सिए विश्वबजारमा बिक्ने सिसिएमए कलेजका दिपेश थपलियाले बताए। आइक्यानको सम्बन्धनमा सञ्चालित सिसिएमएले सन् २००३ देखि सीए पढाउँदै आएको छ । थपलियाका अनुसार सिसिएमएबाट २ सयभन्दा बढीले सिए कोर्स पूरा गरिसकेका छन् ।
सिए पास गरेपछि काम पाइहाल्ने भएकाले पनि यसप्रतिको आकर्षण बढेको थपलिया बताउँछन् । ‘सबै संकायका विद्यार्थीले सिए अध्ययन गर्न पाउने भए पनि विशेष गरी व्यवस्थापन र विज्ञान संकायबाट आएका विद्यार्थीको परफरमेन्स राम्रो पाइएको छ,’ थपलिया भन्छन्, ‘सिए अध्ययन गरेको जनशक्ति आर्थिक सरोकार राख्ने जुनसुकै कार्यालयमा पनि फिट हुन्छ।’
सिए पढ्न विद्यार्थीले साढे तीन लाख रुपैयाँमात्र खर्च गरे पुग्ने पुतलीसडकस्थित सीमा एकेडेमिक्सका निर्देशक विजय पाठक बताउँछन्। सीमाले सन् २००४ देखि आइक्यानको सम्बन्धनमा सिए पढाउँदै आएको छ। यहाँबाट २ सय जनाभन्दा बढीले यो कोर्स पास गरिसकेको र सबै काममा लागेको पाठकले बताए।
‘सिए अध्ययनका लागि प्रतिशतको झमेला छैन,’ पाठकले भने, ‘क्षमतावान्, परिश्रमी र लगनशील विद्यार्थीले सजिलै सिएमा भर्ना पाउँछन्।’ उनले थपे, ‘शुल्कका हिसाबले पनि सामान्य अभिभावको पहुँचमा सिए शिक्षा छ।’
सिए पासपछि विद्यार्थी अडिट र जागिर गरी दुई फिल्डमा जान सक्छन्। प्लस टु पास गरेका विद्यार्थीले सिएमा भर्ना पाउँछन्। भर्नाको पहिलो ६ महिना आधारभूत कोर्स पढ्नुपर्छ। यसलाई क्याप १ तह (चार्टर्ड एकाउन्टेन्सी प्रोफेसनल) भनिन्छ। यो अवधिमा विद्यार्थीले सामान्यतया चार्टर्ड एकाउन्टेन्ट शिक्षा सुरुवात गर्छन् । दोस्रो ९ महिनाको क्याप २ तह हुन्छ। मध्यम तहमा विद्यार्थीले भर्ना हुन क्याप १ तह अनिवार्य पास गर्नुपर्छ।
विद्यार्थीले क्याप १ र क्याप २ को अध्ययन अवधिमा सैद्धान्तिक ज्ञान हासिल गर्छन्। वाणिज्यशास्त्र, व्यापार प्रशासन वा व्यवस्थापन विषयमा लेखा वा लेखापरीक्षण वा कर मुख्य विषय लिई कम्तीमा ५० प्रतिशत वा वाणिज्यशास्त्र, व्यापार प्रशासन वा व्यवस्थापन विषयमा लेखा वा लेखापरीक्षण वा करबाहेक अन्य मुख्य विषय लिई कम्तीमा ५५ प्रतिशत वा अन्य संकायको भए ६० प्रतिशत औसत अंक प्राप्त गर्नेले क्याप २ मा भर्ना पाउँछन्।
सिएको अन्तिम तह क्याप ३ हो । तीन वर्षे क्याप ३ मा विद्यार्थीले सम्बन्धित क्षेत्रमा तालिमसहित अध्ययन गर्नुपर्छ । जसलाई आर्टिकलसिप ट्रेनिङ भनिन्छ । यो ट्रेनिङ विद्यार्थीलाई पेसागत व्यवसायमा रहेका चार्टर्ड एकाउन्टेन्टले दिने चैतन्य इन्स्टिच्युट अफ म्यानेजमेन्टका प्रमुख कार्यकारी अधिकृत गणेश जोशी बताउँछन्। चैतन्यले सन् २०१४ देखि आइक्यानको सम्बन्धनमा काठमाडौं, शंखमूलमा सिए पढाउँदै आएको छ ।
जोशीका अनुसार सिए अध्ययन गरेका विद्यार्थी आर्थिक विश्लेषण र आर्थिक योजना निर्माणमा पनि अब्बल हुन्छन् । ‘सिए पढेपछि स्वदेश तथा विदेशमा काम पाइन्छ, आम्दानी पनि राम्रो हुन्छ, समाजमा इज्यत र नाम पनि हुन्छ,’ जोशी भन्छन्, ‘अध्ययन र लक्ष्यमा समर्पित विद्यार्थीका लागि सिए उपलब्धिमूलक साबित भएको छ।’
सीए कोर्स ५० प्रतिशत सैद्धान्तिक र ५० प्रतिशत व्यवहारिक भएकाले कतिपयले बीचैमा पढाइ छाड्ने इलाइट इन्स्टिच्युट अफ म्यानेजमेन्ट पुतलीसडकका निर्देशक डिआर श्रेष्ठको भनाइ छ । त्यही भएर सिएका विद्यार्थीका लागि यो शैक्षिक संस्थाले कमप्लिमेन्ट्री विषयको रूपमा बिबिए उपलब्ध गराएको छ । ‘
चार्टर्ड एकाउन्टेन्ट अध्ययन गर्ने विद्यार्थीलाई पेसागतसँगै प्राज्ञिक शिक्षाको पनि व्यवस्था हामीले गरेका छौं,’ श्रेष्ठले भने, ‘पेसागत विषयमा करिअर सुरक्षित गर्न विद्यार्थीलाई हामीले बिबिए कमप्लिमेन्ट्री शिक्षाको रूपमा उपलब्ध गराउँदै आएका छौं ।’ उनले थपे, ‘ हामी कहाँ अध्ययन गर्नेले बिबिएको शुल्क तिर्नुपर्दैन । यसले विद्यार्थी तथा अभिभावकको थाप्लोमा थप आर्थिक भार पर्दैन । सिए परीक्षामा पास हुनमात्र अध्ययन गर्ने विषय होइन । यो करिअर सुरक्षित गर्न पढ्ने विषय हो ।’
सिए विद्यार्थीमाझ आकर्षणको विषय भएको छ। तर लहड् वा दबाबमा यो विषय छनोट नगर्न आइक्यानका सहनिर्देशक सिए पुष्पेन्द्र सिंह सुझाउँछन्। सिए पेसागत शिक्षा भएकाले यसमै करिअर बनाउनेले मात्र यो पढ्नपर्ने उनले बताए।
सिएमा विद्यार्थीले मुख्यतया लेखा, लेखापरीक्षण, वाणिज्य कानुन, ट्याक्स र व्यवस्थापन गरी पाँच विषय पढ्नुपर्छ । यीनै पाँच क्षेत्र सिएहरूको कार्य क्षेत्र हो । सिए दूर शिक्षामा समेत आधारित भएकाले स्वअध्ययन गरेर पनि सिए बन्न सकिन्छ । यसका लागि विद्यार्थीले डेढ लाख मात्र खर्च गरे पुग्छ ।
‘नेपालमै सिए पढेकाको डिमान्ड बढी छ किनभने विदेशबाट सिए अध्ययन गरेर आउनेले आइक्यानको परीक्षा पनि पास गर्नुपर्छ तर नेपाली उत्पादनलाई यो परीक्षा दिनुपर्ने झन्झन्ट झेल्नु पर्दैन,’ सह–निर्देशक सिंहले भने, ‘नेपालमै सिए अध्ययन गर्नेले नेपाली वाणिज्य कानुन र ट्याक्स राम्री बुझेकाले छिटै काम पाउँछन् ।’ उनका अनुसार आइक्यानमा दर्ता भएका सिएको संख्या ९ सय ७५ छ ।
देशमा थप २ हजार सिएको खाँचो रहेको उनले बताए । हाल १५ हजार विद्यार्थीले स्वदेशमै सिए पढ्दै छन् । ‘उत्पादित करिब हजार सिएमध्ये ४० प्रतिशत विदेशमै छन्,’ सिंहले भने, ‘अब सरकारले सिए उत्पादनमा थप आकर्षक निति ल्याउनुपर्छ ।’ नेपालको अर्थ व्यवस्था हाल कमजोर स्थितिमा भए पनि सिएका लागि अवसरको कमी नभएको उनले बताए ।
इन्टरनेसनल फेडरेसन अफ एकाउन्टेन्ट्सीले तोकेको मापदन्ड अनुसार विभिन्न देशले चार्टर्ड एकाउन्टेन्ट कोर्स तयार पार्छन् । र नेपालले पनि त्यही मापदन्डमा रहेर कोर्स बनाएको सिंहले बताए । ‘स्थानीय विषय ट्याक्स र कानुनमात्र आ–आफ्ना देशअनुसार तयार पारिएको हुन्छ,’ उनले भने, ‘तर अन्य कोर्स विश्वभरि एउटै हुन्छ ।’
सिंहका अनुसार नेपालमा आइक्यानको सम्बन्धनमा ८ शैक्षिक संस्था सञ्चालित छन् । काठमाडौं उपत्यकाभित्र सिएआई प्रालि, पुलती सडक, सिसिएमए कलेज प्रालि, पुतलिसडक, सीमा एकेडेमिक्स प्रालि, पुतली सडक, इलाइट इन्स्टिच्युट अफ म्यानेजमेन्ट प्रालि, पुतलीसडक र चैतन्य इन्स्टिच्युट अफ म्यानेजमेन्ट, शंखमूलम सिए पढाइ हुन्छ । उपत्यका बाहिर इनलाइटेन्ट इन्टरनेसनल एकेडेमी प्रालि, पोखरा, प्रिज्म सेन्टर अफ लर्निङ प्रालि, पोखरा र प्रोफेसनल करिअर्स एन्ड एजुकेशन प्रालि, विराटनगरमा पनि सिए अध्ययनअध्यापन हुन्छ ।
- नागरिकन्यूजबाट साभार
प्रतिक्रिया दिनुहोस्