
सिए पढ्न चाहाने बिधार्थीहरुका लागि सधैं दोधारको बिषय हुने गर्दछ, आईक्यान वा आईसीएआई बोर्ड पढ्ने बारेमा । यसो त कतिपय ट्युसन प्रदायक संस्थाहरुले यसबारे गर्ने गलत परामर्शका कारण पनि विधार्थी मारमा पर्ने गरेका छन् । आखिर कुन बोर्ड पढ्ने त आईक्यान वा आईसीएआई ? यो बिषय एउटा नटुङ्गिएको बहस भएको छ ।
दुवै बोर्डका बारेमा राम्ररी बुझ्नुहोस् : सिए पढ्नुअघि आईसीएआई र आईक्यान दुवै बोर्डबारे राम्ररी बुझ्नुहोस् । आईक्यान र आईसीएआईबारे पनि राम्ररी बुझ्नुहोस् । आईक्यानबारे आईक्यानकै विधार्थी परामर्श बिभागमा गएर बुझ्दा अझ राम्रो हुन्छ। आईसीएआईबारे पनि विभिन्न इन्स्टिच्युटहरु तथा इन्टरनेटमा बुझ्न सकिन्छ ।
भविष्यको योजना अनुसार अगाडी बढ्नुहोस् : तपाइंको भविष्यको योजना के हो राम्ररि केलाउनुहोस् । यदि तपाईं भोलिका दिनमा नेपालमै बसेर आफ्नो करियर बनाउन चाहानुहुन्छ भने आईक्यान बोर्ड पढ्दा राम्रो हुन्छ । तर होइन म भोली भारतमै बसेर काम गर्छु वा तेश्रो मुलुकतर्फ जान्छु भन्नुहुन्छ भने आईसीएआई बोर्ड पढ्नुहोस् । यसो भन्दैगर्दा आईक्यानको तेश्रो मुलुकमा मान्यता छैन भन्न खोजेको चाहिं पक्कै होईन । बेलायत, मलेसिया लगायत विभिन्न देशहरुसंग आईक्यानले एमआरए गरिसकेको र गर्ने क्रममा छ । आईसीएआईका सिएलाई पनि तेश्रो मुलुकमा सिधै सिएको मान्यता दिने पनि होइन । निश्चित प्रक्रिया पूरा गरेपछी मात्र त्यो सम्भव छ ।
तर आईक्यान तेश्रो मुलुकमा जान चाहनेहरुका लागि आईक्यानभन्दा आईसीएआई राम्रो भने हो । यसको कारण आईसीएआईको ईतिहाससंग जोडिएको छ । आईसीएआई लामो समय अगाडि स्थापना भएको संस्था हो भने, आईक्यानको ईतिहास मात्र १८ बर्ष को छ । तर पछी नेपाल आएर काम गर्ने हो भने नेपाल बोर्ड धेरै राम्रो हुन्छ । नेपालका ठुला कम्पनीहरुले भारतीय बोर्डबाट भन्दा नेपाल बोर्डबाट उतिर्णहरुलाई बढी प्राथमिकता दिन्छन् । भारतीय बोर्डबाट उतिर्ण सिएहरुले निकै कम पारिश्रमिकमा काम गरेका उदाहरणहरु पनि छन् । यसो त यो आफ्नो क्षमताको पनि कुरा हो । नेपालमा निकै राम्रो गरेका भारतीय बोर्ड बाट पास भएका सिएहरु पनि छन् ।
खर्चका कुरालाइ ध्यान दिनुहोस् : सिए पढ्न मात्रैको खर्च हेर्ने हो भने नेपाल बोर्डमा झन्डै तीन लाख रुपैयाँ लाग्छ । तर नियमित रुपमा पास गरेको खण्डमा मात्र । अन्यथा बेलाबेलामा तिर्नुपर्ने परिक्षा शुल्कका कारण कुल खर्च बढ्छ । यदि नेपालमै बसेर आफ्नै घरको दाल चामल खाएर पढ्ने हो भने नेपालको पढाई भारतको तुलनामा कम खर्चिलो छ । मोफसलबाट काठमाडौँ आएर वा होस्टलमा बसेर पढ्नेलाई भने झन्डै भारत बसाईंकै खर्च आउंछ । भारत बस्दा झन्डै महिनाको १० हजार आईसी खर्च हुन्छ । झन्डै १० हजारले काठमाडौँको बसाईं खान बस्न सहित सम्भव छ । यसलाई पनि ध्यान पुर्यानुहोस् ।
मौसमका कुरा : हुन त पढ्ने मान्छेलाई केहिले पनि छेक्दैन । तर पनि भारत वाविशेष गरी दिल्लीको मौसम नेपाल शुहाउँदो छैन । गर्मीमा अत्याधिक गर्मी हुन्छ । कतिपय विद्यार्थीहरु गर्मिकै कारण विभिन्न रोगको सिकार भएर मृत्युवरण गरेका उदाहरणहरु पनि छन् । नेपालको मौसममा मात्र भिज्नेहरुलाई नेपालनै ठिक हुन्छ । तर विशेष गरी तराई मुलका विधार्थीहरुलाई भने भारतको बसाईं कठिन नहुन सक्छ ।
सजिलो र गाह्रोको कुरा : कुनै पनि बोर्डको सिए गाह्रो वा सजिलो भन्ने यसै भन्न सकिंदैन । नेपालमा पनि धेरैजसो विषयहरु भारतकै पाठ्य सामाग्री पढाई हुने हुनाले यो प्रश्नको उत्तर त्यसै भन्न सकिंदैन । तर सिएको पहिलो तह भने केहि हदसम्म भारतीय बोर्डको सजिलो भन्ने बुझिन्छ । तर दोश्रो र तेश्रो तह भने नेपाल बोर्ड र भारतीय बोर्डको पढाई उस्तै हो ।
योग्यता परिक्षाका कुरा : नेपालमा कुनै पनि तहको बोर्ड परिक्षा दिन हल वा पोस्टलको रुपमा योग्यता परिक्षा दिन आवश्यक छ । योग्यता परिक्षा मै एक बर्षभन्दा बढी झुण्डीएर परिक्षानै दिन नपाउनेहरु पनि धेरै छन् । तर भारतमा योग्यता परिक्षा भन्ने हुँदैन । बिधार्थीले सिधै बोर्ड परिक्षा दिन पाउँछ । यसर्थ पनि कतिपयले भारतीय बोर्डको सिए केहि सजिलो भएको बताउँछन् ।
मध्यम तह उतिर्णका कुरा : आईसीएआई अन्तर्गत मध्यम तहको पहिलो ग्रुप उतिर्ण गरेको खण्डमा आर्टिकलशिप गर्न पाइन्छ । तर नेपाली बोर्डमा भने आर्टिकलशिप सुरु प्लस टु बाट इन्ट्री गर्नेहरुले मध्यम तहका दुवै ग्रुप अनिवार्य रुपमा उतिर्ण गर्नु पर्छ । मध्यम तह भने नेपाल बोर्ड र भारतीय बोर्ड दुवैको अवधि भने उस्तै उस्तै छ ।
आर्टिकलशिपका कुरा : दुवै बोर्डमा ३ बर्षका लागि आर्टिकलशिप गर्नुपर्छ । तर तीन बर्ष घरमै बसेर पढ्छु वा अन्य काम गर्छु भनेर भारतमा ‘डमी’ बस्ने गलत चलन पनि छ । त्यसो गर्नु राम्रोभने होइन । तर नेपालमा त्यस्तो प्रथा छैन । हुनत डमी आफैंमा गैर कानुनी हो र पनि कतिपय विधार्थीका लागि त्यो समय अनुकुल बन्छ । नेपाली बोर्डमा आर्टिकलशिप सुरु गरेको २ बर्षपछी परिक्षा दिन पाइन्छ ।
आईक्यानको सदशयताका कुरा : हालको नियम अनुसार भारतीय बोर्डबाट सिए उतिर्णहरुले नेपालको सदशयता लिन थप दुई बिषयको परिक्षा दिनु पर्छ । उक्त परिक्षा दिन पनि पुन : एक बर्षको अनिवार्य तालिम गर्नुपर्ने हुन्छ । त्यसैले नियमित रुपमा उतिर्ण गर्ने र नेपालमै काम गर्न चाहानेहरुका लागि भने भारतीय बोर्ड ठिक नहुन सक्छ।
प्रतिक्रिया दिनुहोस्