आसार ११ । नेपाली अर्थतन्त्रमा महत्वपूर्ण योगदान दिने लेखा व्यवसायमा पनि नक्कलीहरुको बिगबिगी रहेको छ । प्रमाणपत्र नक्कली भएका ३७ जना डाक्टरलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान विभाग सिआइबीले पक्राउ गरेको खबरपछि लेखापरीक्षण क्षेत्रमा सक्रिय भएका नक्कली आडिटरहरुलाई सीआइबीले कारवाही गर्छ वा गर्दैन भन्ने जिज्ञासा पनि बढिरहेको छ । आखिर नक्कली अडिटरका बारेमा के भन्छन् त डीआइजी नवराज सिलवाल ? निरन्तरको प्रयासपछी यसै प्रसङ्गमा उनीसँग गरेको कुराकानी ।
बजारमा नक्कली अडिटरका बारेमा खुब चर्चा छ नि ?
हामीले नक्कली डाक्टर र नक्कली पाइलटका विरुद्ध अपरेशन थालेपछि धेरै व्यक्ति र सम्बन्धित क्षेत्रका नियमन निकाय यस बिषयमा सतर्क भएका छन् । अहिले हामी नक्कली डाक्टरहरुको खोजीमा छौं । त्यसपछि नक्कली पाइलटविरुद्ध अपरेशन सुरु गर्छौं । नक्कलीहरुलाई छोड्ने कुरै छैन ।
त्यसो भए नक्कली अडिटरलाई कारवाही हुँदैन त ?
जनतामाथि बेइमानी गर्ने कसैलाई पनि प्रहरीले छोड्दैन । तर अहिले हामी नक्कली डाक्टरहरु विरुद्धको अपरेशनमा छौं । जनताको स्वास्थ्यमाथि खेलबाड गर्नु जघन्य अपराध हो । हामी त्यहि अपराध विरुद्धको अभियानमा छौं । अडिटरहरुलाई नियमन गर्ने निकायले पनि यस विषयमा सोच्नुपर्छ भन्ने मेरो धारणा हो ।
नियमनकारी निकायको नेतृत्वनै कमजोर छ, केहि काम नै गर्दैन भन्ने गुनासो छ । जनताले तपाईंहरुसँग भरोषा राखेका छन् नि ?
हो । सीआइबीसँग जनताको ठुलो आश छ । हामी अहिले नक्कली डाक्टरहरु विरुद्धको अपरेशनमा छौं भन्नुको अर्थ अरु नक्कलीहरुलाई कारवाही गरिँदैन भन्न खोजेको होइन । तर अहिले हामी नक्कली डाक्टर खोज्नमै ब्यस्त भएकाले नियमनकारी निकाय नेपाल चार्टड एकाउन्टेन्ट्स संस्थाले यस बिषयमा सोचिदिए हुन्थ्यो भन्ने कुरा हो ।
नक्कलीहरुबारे छानविन गर्ने कुरा नेपाल चार्टड एकाउन्टेन्ट्स संस्थाको क्षेत्राधिकार भित्र पर्दैन भन्ने कुरा छ नि ?
त्यसो हो भने अर्थमन्त्रालयले यस बिषयमा सोच्नुपर्छ । सरकारले यो काम सीआइबिले गर्नुपर्छ भनेको दिन हामी अगाडी पक्कै बढ्छौं । तर नक्कली डाक्टरहरुविरुद्धको अपरेशन नसकी हामी हाम्रो मिसनलाइ परिवर्तन गर्नेवाला छैनौं ।
नक्कली अडिटरले गर्दा नेपाली अर्थतन्त्रमा परेको असरचाहिं जनतामाथिको बेइमानी होइन र ?
त्यसो भन्न खोजेको होइन। तर स्वास्थ्य भनेको अआधारभुत कुरा हो । नक्कली अडिटरका कारण कसैको ज्यान नै त गएको छैन नि ! उनीहरुलाई पनि कार्वाही पक्कै हुन्छ । तर पहिला हामीलाई चलिरहेको मिसन पूरा गर्न दिनुहोस् ।
कतिपय अडिटरको सर्टिफिकेट पनि नक्कली छ भन्ने सुनिएको छ नि ?
नक्कली सर्टिफिकेट हुने कसैलाई पनि प्रहरीले छोड्दैन । विस्तारै समय आउँछ । जनतामाथि बेइमानी गर्ने जो कोहीलाई पनि कार्वाही हुन्छ । कोको अडिटर त्यस्ता छन्, तपाईं सञ्चारकर्मीहरुले यसबारे दिने सानो सुचना महत्वपूर्ण हुन्छ ।
नियमनकारी निकायका प्रमुख आफैं विवादित छन् । भ्रष्टाचार प्रकरणमा अख्तियारमा उजुरी परेको छ । तपाईंहरु नक्कली डाक्टर खोज्दैमा ब्यस्त हुनुहुन्छ । अव जनताले को माथि आस गर्ने त ?
हामीले केहि गर्दैनौं भनेका छैनौं । तपाईंहरुजस्ता मिडियाकर्मीले यस बिषयमा आवाज उठाउनुपर्यो । नेतृत्वले यस बिषयमा कदम चाल्दैन भने अर्थ मन्त्रालयमा उजुरी दिनुहोस् । अख्तियारमा उजुरी दिनुहोस् । सरकारले हामीलाई आदेश दिएको खण्डमा हामी त छँदै छौं नि !
नक्कली अडिटरविरुद्ध प्रहरीमा परेका उजुरीचाहिं के हुन्छ ?
यसका प्रक्रियाहरु छन् । प्रहरीले आफ्नो काम गर्छ । हामी नक्कली डाक्टर र इन्जिनियरहरु खोज्दैछौं । यो बेला अरु नक्कालीहरुलाई नियमनकारी निकाय वा सरकारले खोजिदिए हामी हाम्रो मिसनमा अझै सफल हुन सक्छौं भन्ने कुरा हो । प्रहरीले अपराध गर्ने जो कोहीविरुद्ध ढिलो चाँडो अपरेशन त थाल्छ नै !
प्रतिक्रिया दिनुहोस्