
- सिए सरोकार सम्बाददाता
काठमाडौँ – बोल्न पाएका बेला मनका बह पोखिहाल्ने सिएहरुको पूरानै चलन हो । त्यसमाथिपनि आइक्यानको काउन्सिलमा रहेका वा एक्यानको नेतृत्वमा रहेकाहरुले त ‘राजनीति’ गर्ने नै भए । एनकासाले गरेको सिए फेट २०१७ मा पनि सिएहरुले विद्यार्थीहरुले सायदै बुझ्ने राजनीति गरिहाले ।
१. कार्यक्रममा हरि सिलवाललाई पनि बोल्न दिईएको थियो । प्राय: बोल्न थालेपछि समयको प्रवाह नै नगर्ने सिलवाललाई उक्त कार्यक्रममा पनि आयोजकले चिट नै थमाएर समय सकिएको जानकारी दिनु पर्यो । प्रकाश जंग थापाको खुब प्रशंसा गरेजस्तो गरेर उनले ‘राजनीति’ गरिहाले । थापाको पीआर प्रकरण चर्चामा रहेका बेला सिलवालले, थापाको अष्ट्रेलिया बसाइ र नेपाल फर्केको प्रसङ्ग कोट्याए । उक्त प्रसङ्ग कोट्याउँडा थापा निहुरिए भने सिएहरु मुसुमुसु मुस्कुराईरहे । विद्यार्थीहरुले नबुझ्ने गरी तर ‘बुझिदिए हुन्थ्यो’ जसरी उनले थापाको पीआर प्रकरणलाई उचाल्न खोजे । सिलवालले राजनीति गरेको चर्चा उपस्थित सिए तथा अन्य अतिथिहरु बीच चलीरहंदा विद्यार्थीले भने यो प्रयास नबुझेका हुन सक्छन् ।
२. हरि सिलवाललाई समय सकियो भने जनाउ दिएपछि पनि उनले झन्डै १० मिनेट बोले । ठिक त्यसपछि एलपी शर्माले सुरुमै घडी हेरेर अहिले १२:५८ भयो म १:४५ मा छोड्छु, समयको म सम्मान गर्छु’ भनेपछि हरि सिलवाललाई धेरै विद्यार्थीहरुले हेरेर मुसुमुसु हाँसे । त्यसपछि अलि लजाएजस्तो भएका सिलवाल कार्यक्रमनै छोडेर हिंडे । सिलवालको यो समस्यापनि विद्यार्थीहरुले बुझेनन् सायद !
३. प्रकाश जंग थापाले आफ्नो परिचय दिंदा म अहिलेको भाइस प्रेसिडेन्ट, अवको हुनेवाला प्रेसिडेन्ट भनेर परिचय दिए । अथिति कक्षमा रहेका सिएहरु हास्न थालेपछि थापाले थपे, ‘सब्जेक्ट टु इलेक्सन है ।’ पीआर प्रकरणमा परेपछि अध्यक्ष हुन्छन् वा हुँदैनन् वा अध्यक्ष भएपनि कार्यकालभरि बस्न पाइन्छ वा पाईदैन भन्ने कुराले थापालाई सताइरहेको चर्चा चलिरहेका बेला उनले आफु अध्यक्ष भएपछि के के गर्छु भन्ने प्लान पनि सुनाए । यो राजनीतिपनि विद्यार्थीले के बुझे होलान् र ?
४. कार्यक्रममा आइसीएआइलाई आइक्यानले दिंदै आएको मान्यता खारेजीको विरोध गर्नेहरु उपस्थित थिएनन् । तर आइक्यान- आइसीएआईको मान्यता प्रकरणलाई लिएर ‘केहि साथीहरुले यसलाई गलत बुझेका छन्’ भन्दै पटक पटक आइक्यान अध्यक्षले उनीहरुलाई व्यंग्य गरे । विद्यार्थीहरुले नबुझ्ने तर उपस्थित सिएहरुले बुझ्ने भाषामा अध्यक्षले मनका बह पोखे । यो राजनीतिपनि विद्यार्थीले के बुझे होलान् र ?
५. कार्यक्रममा हरि सिलवालले सिए सरोकारका पत्रकारलाई गिज्याउने प्रयास गरे । यसअघि एक्यानमा काम गर्न नसकेको भन्ने आलोचना भइरहेका बेला सोहि तथ्यहरु प्रस्तुत गरेको भन्दै मनमनै पत्रकारसँग रिसाएका उनले माइक पाएका बेला पत्रकारलाई तल झार्ने प्रयास गरे । ‘तपाईंहरुले बुझ्नुभो होला, यहाँ पत्रकार सुरज भाई पनि हुनुहुन्छ, कहिलेकाहीं बंग्याएर लेख्नुहुन्छ’ भन्दै उनले आफ्नो असक्षमताका बारे आएका समाचारको खण्डन गर्ने प्रयास गरे । पछी एलपी भानु शर्माले ‘जिन्दगीमा ठग्नुहुन्न है, ठग्यो भने हाम्रो सुरज भाईले पत्रिकामा लेखिदिनुहुन्छ’ भनेपछी हरि सिलवालले गर्न खोजेको राजनीति छताछुल्ल भयो । पत्रकारले बुझे, सिएले बुझे, हरि सिलवालको प्रयास विद्यार्थीले के बुझे होलान् र ?
प्रतिक्रिया दिनुहोस्