
- सिए सरोकार सम्बाददाता
काठमाडौँ – पछिल्लो निर्वाचनपछि नयाँ कार्यकाल सुरु भएदेखि नै काम नै गर्न नसकेको आरोप लागेको र केहि समयअघि अष्ट्रेलिया भ्रमणको विवादमा परेको नेपाल चार्टड एकाउन्टेन्ट्स संघ (एक्यान) ले ढिलै भएपनि राम्रो काम गर्ने भएको छ । संघले यहि माघ ७ गते सोमबार अन्तराष्ट्रिय स्तरको कन्फेरेन्स गर्ने भएको हो । नेपालका ठूला व्यवसायी, राजनितिक व्यक्तित्वलगायतको समेत ठूलो उपस्थिति हुने उक्त कन्फेरेन्समा ‘राज्यमा चार्टड एकाउन्टेन्टको भूमिका’को गहिरो समिक्षा हुने, विभिन्न कम्पनीहरुको प्रमुख पदहरुमा सिए हुनुपर्ने माग व्यवसायी स्तरमै गर्ने र उनीहरुलाई यसबारे बुझाउने, कर प्रशासनमा सिएहरुको सहभागीता बढाउने बारे कर प्रशासकहरुसँग नै गहिरो कुराकानी गर्नेगरी तयारी भइरहेको छ । मिति तोकिएपनि स्थान भने तोकिएको छैन । यद्यपी काठमाडौँको कुनै पाँच तारे होटलमा उक्त कार्यक्रम हुनेछ ।
यति महत्वपूर्ण कार्यक्रम गुपचुप किन ?
एक्यानले आउँदो माघ ७ गते अन्तराष्ट्रिय स्तरको कन्फेरेन्स गर्न लागेको र यस कार्यक्रमको संयोजकमा एक्यानका उपाध्यक्षसमेत रहेका सिए दीपक पाण्डे चुनिएको खबर एक्यानका एक पदाधिकारीबाट आएपछी हामीले दीपक पाण्डेलाई यसबारे सोधेका थियौं । तर मिडियासँग खुलेर बोल्ने पाण्डेले यस विषयमा खास खुल्न नै चाहेनन् । ‘माघ ७ गते शुक्रबार हुन लागेको अन्तराष्ट्रिय कन्फेरेन्स कस्तो हो ?’ भन्ने हाम्रो प्रश्नमा उनले अन्तराष्ट्रिय कन्फेरेन्स गर्नेबारे कुराकानी र अनौपचारिक छलफल भएको तर मिति नै भने नतोकिएको दाबी गरे । ‘तपाईंले भनेजस्तो माघ ७ गते शुक्रबार नै कार्यक्रम गर्ने भन्नेबारे निर्णय भएको छैन । सम्भावित मिति त्यो हुन सक्छ भन्ने सल्लाह आएको हो तर कुनै पनि औपचारिक निर्णय भएको छैन ।’ पाण्डेले सिए सरोकारसँग भने ।
‘कार्यसमितिमा यसबारे निर्णय पनि भएको छैन । यद्यपी एउटा ठूलो कन्फेरेन्स गर्नुपर्छ र चाँडो गर्नुपर्छ भन्ने कुरा चलेकोचाहिं हो ।’ उनले भने । ‘अनि तपाईं यो कार्यक्रमको संयोजक होइन र ?’ भन्ने हाम्रो प्रश्नमा उनले भने, ‘मैले यो कार्यक्रमको संयोजक मलाई तोकिएको छ भन्ने औपचारिक जानकारी पाएको छैन ।’
यद्यपी यता एक्यानका एक पदाधिकारीले भने कार्यक्रमको मितिसमेत तोकीसकिएको र दीपक पाण्डेले यसको ठूलै तयारी गरिसकेको दाबी गरे । ‘निर्णय औपचारिक रुपमा भइनसकेकाले यो विषयमा जानकारी नदिएको हुन सक्छ । तर कार्यक्रम तय भइसक्यो । यो एक्यानको इतिहासमै ठूलो र बेजोडको कन्फेरेन्स हुनेछ ।’ एक्यानका एक पधाधिकारीले सिए सरोकारसँग भने, ‘यो कन्फेरेन्सपछि सिएहरुको आफ्नै लोगो हुने कि नहुने, हुने भने कस्तो हुने, सिएको ड्रेस कोड कस्तो हुने, विभिन्न निकायमा सिएहरुको भूमिका कस्तो हुने र कसरी त्यसलाई सम्मानजनक बनाउने भन्ने विषयको उच्चस्तरीय बैठकबाट नै निर्णय हुनेछ ।’
प्रतिक्रिया दिनुहोस्