- सिए सरोकार सम्बाददाता
काठमाडौँ । सोमबार विहान ११:४५ बजे एक्यानले आफ्ना सदस्यहरुलाई मेसेज गर्यो । उक्त एसएमएसमा एक जना सिएको निधन भएको उल्लेख थियो । ती सिएको निधन भएकोमा एक्यानले श्रद्धान्जलीसमेत व्यक्त गरेको थियो भने सबैलाई पशुपतिमा १ बजे मलामी बोलाएको थियो ।
उक्त एसएमएस पाएपछि सिएहरुले आफ्नो हिसाबले उक्त सूचनाको भेरिफाइ गरे । तर तथ्य यस्तो निस्कियो कि मृत भनिएका सिएलाई अस्पतालले मृत घोषणा गरेको रहेनछ। यहींनेर एक्यान नेतृत्वको गम्भीर आलोचना भयो । ‘डाक्टरले मृत घोषणा नगरेको व्यक्तिलाई एक्यानले मर्यो भनेर मलामी बोलाउने ?’ भनेर केहि सिएहरुले गम्भीर आलोचना गर्न थालेपछि एक्यानले आफ्नो अघिल्लो एसएमएस फिर्ता लिएको भन्दै अर्को एसएमएस पठायो । एक्यानले डाक्टरहरुले परिवारलाई २४ घण्टा अब्जर्ब्भेसनमा राखेको जानकारी आएको भन्दै सदस्यहरुलाई एसएमएस पठायो ।
मृत्युको कुरामा पनि किन यति असंवेदनशील एक्यान ? भएको के हो ?
त्यसपछी हामीले उनको उपचार भइरहेको ह्याम्स अपस्तालमा सम्पर्क गरी भएको के हो भनेर जानकारी माग्यौं । अस्पतालका एक अधिकारीले हामीसँग भने, ‘उहाँको मृत्यु भएको भए हामीले मृत्यु भनिहाल्थ्यौ नि । उहाँ गम्भीर हुनुहुन्छ, यो सत्य हो तर उहाँको मृत्यु भएको भन्ने खबर गलत हो । उहाँ अहिले पनि उपचाररत हुनुहुन्छ ।’ उनका अनुसार अस्पतालले मृत घोषणा नगरी कसैले मलामी बोलाउनु त्रुटीमात्र होइन अपराध पनि हो । हामीले एक्यानको एसएमएसबारे जनाकारी दिएपछि ती अधिकारीले अलि रिसाउँदै भने, ‘कुनै संघले कसैको मृत्युको घोषणा गर्ने अधिकार राख्दैन । उहाँ अहिले पनि अस्पतालमा हुनुहुन्छ र उहाँको मृत्यु भएको छैन ।’ ‘अनि परिवारलाई त मृत्युको खबर दिएको भन्ने कुरा आयो नि ?’ हाम्रो प्रश्नमा अस्पतालका ती अधिकारीले भने, ‘परिवारलाई अव गाह्रो छ भनिएको हो, उहाँको मृत्यु भएको भनिएको छैन ।’
खासमा नेपाली सिए क्षेत्रका एक अग्रज अहिले अस्पतालमा जीवन मृत्युसँग लडिरहनुभएको छ । अस्पतालले उहाँलाई बचाउन अव गाह्रो होला कि भन्ने संकेत त दिएको छ तर उहाँको मृत्यु भइसकेको भने छैन । तर एक्यानले पारिवारिक स्रोतको हवाला दिंदै ती सिएको मृत्यु भएको भन्दै मलामी बोलाएको छ ।
एक्यान भन्छ- ‘त्रुटी भयो, दुखी छौं’
यस्तो लापरवाही आखिर एक्यानबाट कसरी भयो ? हामीले संघका महासचिव तेज सुवेदीलाई सोध्यौं । ‘त्रुटी भयो । हामी यसमा दुखी छौँ । कमजोरी भयो । घरपरिवारले पूजापाठसमेत गरिसकेको, उहाँको मृत्यु भइसकेको भन्ने जानकारी अध्यक्षमार्फत आएपछि हामीले एसएमएस पठायौं । तर पछी त्यसलाई सच्याएका पनि छौं ।’
प्रतिक्रिया दिनुहोस्