Skip to content

या चलनचल्तीमा रहेको नक्कली अडिट रिपोर्ट पेश गरौं?

अर्थमन्त्रीज्यु/गभर्नरसाप,
नमस्ते

मैले तीन वर्षअघि नयाँ व्यापार व्यवसाय गर्नको लागि कम्पनी दर्ता गरेँ। आन्तरिक राजस्व विभागका कर्मचारीले प्यान मात्रै दर्ता गरे हुन्छ भनि सुझाव दिएपनि स्वच्छ र सम्पूर्ण कर तिर्ने मुलुकको ठूलो करदाता हुने सपना बोकी  सुरूमै भ्याटमा दर्ता गरेँ।


ग्राहकले तिरेका भ्याट राजश्वमा बुझाउन अलिकति पनि तलमाथि नहोस् भनी सानो लगानीको कम्पनी भएपनि करिब एक लाख रुपैयाँ लागतमा कम्युटर बिलिङ प्रणाली राजश्वमै दर्ता गराएँ। केहीपछि साना तथा घरेलु उद्योगमा दर्ता गरेँ। उद्योग शहरमा नपाइने हुनाले गाविसमै मापदण्ड पुर्‍याइ फ्याक्ट्री खोलेँ। यसका लागि एउटा बाणिज्य बैंकसँग जग्गा धितो राखी बिजिनेस ओभर ड्राफ्ट ऋण लिएँ। पहिलो आर्थिक वर्ष सुरू गर्दै बित्यो किनभने ३ महिनाको मात्र समय थियो। बैंकले पहिलो आर्थिक बर्षलाई सुरूआती वर्ष मानेर सजिलै ऋण नविकरण गरिदियो। दोस्रो वर्ष पनि व्यापार कम्प्लेक्सको कमजोर व्यवस्थापनले ग्राहक तान्न सकेन, र आफ्नै पनि नयाँ नौलो व्यवसाय भएकोले ग्राहकलाई बुझाउँदै समय बित्यो, कारोबारस्थिति नेगेटिभ रह्यो।

यो वर्ष कर्मचारीको तलब, कम्पनी खर्च, ऋणको ब्याज तथा सम्पूर्ण राजस्व कर जेनतेन मेन्टेन गरियो। आफ्नो व्यवसायमाथि आत्मविश्वास हुनाले धैर्य गरियो। मन्द व्यापार तेस्रो आर्थिक बर्षमा प्रवेश गर्‍यो। यो वर्ष भने प्राकृतिक संकटको वावजुद व्यवसाय पोजिटिभ हुने संकेत गरेको छ। कम्पनीले सटरकवलको घरबहाल कर आजसम्म शत प्रतिशत बुझाउँदै आएको छ। हरेक सामानको भ्याट बिल लिनेदिने गरेको छ। कर्मचारी तलब/टिडिएस आदि मेन्टेन गर्दै आएको छ। मलाई कर तिर्दा नै मिठो निन्द्रा लाग्छ। कम्पनीका हामी सम्पूर्ण कर्मचारी खुसी छौं।अब पालो बैंकिक ऋण तेस्रो बर्षको लागि नविकरण गर्ने। मैले आन्तरिक राजस्व कार्यालयमा बुझाएको शतप्रतिशत सही अडिट रिपोर्टलाई बैंकले लिन सकेन। बैंकलाई ‘उद्योग व्यवसायको अघिल्लो वर्षको कारोबार मूनाफा हेरी नविकरण गर्नू गराउनू’ भनि तपाईँ नेपाल राष्ट्र बैंकको निर्देशीका जारि रहेछ।

हाम्रो दोस्रो वर्षको व्यापार पनि नेगेटिभ नै थियो। नेपाल राष्ट्र बैंकको निर्देशिका र हाम्रो कारोबारमा आकाश जमीनको फरक पर्‍यो। यसले आजसम्म समय तालिकाअनुसार नै ब्याज तिरेपनि हाम्रो ऋण नविकरण हुनै सकेको छैन, यद्यपी बैंक र मबीच पारदर्शिता र विश्वसनीयता छ। बैंकले मेरो आत्मविश्वास र व्यवसायलाई पूरै विश्वास गरेको छ। मेरो व्यवसाय प्रकृति एकै वर्षमा फस्टाउने होइन भन्नेमा बैंक सहमत छ। तर, कारोबारको असली अडिट रिपोर्ट ‘इन्टरटेन’ नगर्न उ बाध्य छ। व्यवसाय ऋण १०० %, कम्पनीको दोस्रो बर्षको कारोबार ५५ % मात्र, तपाईँको नेपाल राष्ट्र बैंकको निर्देशन छ-‘३००% कारोबार नभइ फलानो कम्पनीको ऋण नविकरण नगर्नू नगराउनू!’देशको राजनैतिक अस्थिरता, कच्चा पदार्थ, स्रोत, साधन, व्यवसायिक प्रणाली र जनशक्तिको खडेरी परेको हाम्रो मुलुकमा कुनै नयाँ नौलो उद्योगले १५ महिनामै कायापलट गर्ला र, गभर्नरसाप? अब के गर्ने? राज्यलाई राजश्व, तीन थरी घरधनीलाई आम्दानी, १५ जनालाई रोजगार दिँदै सकारात्मक वृद्धिदर भएको यो ‘साना तथा घरेलु उद्योग’ व्यवसाय बन्द गरौं? या चलनचल्तीमा रहेको नक्कली अडिट रिपोर्ट पेश गरौं? मैले नक्कली अडिट रिपोर्ट पेश गर्नू भनेको राज्यको नजरमा करछली हो। अब मलाई निन्द्रै परेन, अर्थमन्त्रीज्यू/गभर्नरसाप! मेरो साधारण सोचअनुसार तपाईँ आफैले स्वीकृति दिएका बैंकमाथि विश्वास नलागि यस्ता निर्देशिका जारी गर्दा सचेत नागरिक तथा युवा उद्यमी हरेस् खान्छन् र पलायन हुन्छन्। मैले सुरू गरेको व्यवसाय अब मेरो मात्रै रहेन, यसमा दर्जनौ आस्रित छन्। त्यसैले मेरा इमान्दार कर्मचारी र सकारात्मक बैंकलाई मध्यनजर राखेर यसपाली म र मेरो कम्पनीको नाम यहाँ उल्लेख गरिनँ। यहाँलाई चाहिए यही सेतोपाटी डटकममार्फत खबर गर्नूस्, म हाजिर हुन्छु। तपाईँले मलाई सुझाव दिनैपर्छ! यो तपाईँको दायित्व र मेरो अधिकार हो। तपाईँहरूको सकारात्मक सुझाव यसरी नै सार्वजनिक गर्नेछु।

धन्यवाद
एक युवा व्यवसायी
काठमाडौं।

(सेतोपाटि डट कमबाट )

प्रतिक्रिया दिनुहोस्