होटल अन्नपूर्णको वार्षिक साधारणसभा गत पुस मसान्तसम्ममा गरिसक्नुपर्ने थियो तर सेयर विवादमा कम्पनी रजिष्ट्रारको कार्यालयविरुद्ध अदालतमा मुद्दा हालेकाले वार्षिक साधारणसभा गराउन समेत समस्या परेको थियो । कपिल राणाले नाकको चालले आफैँ दोब्रिएर गत फागुन २३ गते आफूले हालेको मुद्दा फिर्ता लिएका थिए । डलर अपचलनदेखि राजस्व छलीसमेतका अनुसन्धानका समस्या झेलिरहेको होटल अन्नपूर्ण तिनै विवादका कारण नवीकरण समेत हुनसकेको छैन ।
गत वर्ष अर्थात् सन् २०१५ मा होटल छ करोड रुपैयाँ घाटा गएको नक्कली अडिट रिपोर्ट तयार पारिएको छ । आजको वार्षिक साधारणसभामा त्यही पेस हुनेछ । साधारणसभामा आयव्यय विवरण अनुमोदन, नयाँ अडिटर नियुक्ति र विविध गरी तीन एजेण्डा राखिएको छ ।
घाटामा गएको भनिएको होटलले मजदुरलाई ३१ देखि ५१ दिनसम्मको बोनस दिने प्रक्रिया सुरु गरेको छ । उनीहरुले पाउने बोनसको आधा रकम गत १ तारिखमा पाएका छन् । मजदुरलाई बोनस नभनी एक्सग्रेसिया भनेर दिइएको छ । अध्यक्ष राणाले दिएको बक्सिस भने पनि अफिसको खर्चमा देखाइने गरेको छ । गत अप्रिल ११ मा होटलमा टाँसिएको सूचनामा ६५ करोडभन्दा कम आम्दानी भए एक्सग्रेसिया नदिने उल्लेख छ ।
आज आइतबार गरिने वार्षिक साधारणसभामा छ करोड घाटा भएको नक्कली अडिट रिपोर्ट पेस गर्न लागिए पनि वर्षभरिको खास आयविवरण आर्थिक दैनिकले प्राप्त गरेको छ । होटल अन्नपूर्णले यस वर्ष ८२ करोड २१ लाख ६२ हजार सात सय दुई रुपैयाँ आम्दानी गरेको छ ।
होटलको मनपरीतन्त्र बाहिर जानसक्ने आशंकामा सुरक्षाप्रमुख टेकबहादुर चन्दलाई निष्काशन गरेर सानु तामाङलाई जिम्मेवारी दिइएको छ । कम्पनी सचिवको समेत जिम्मेवारी लिएका पारस राणाले भोलिदेखि विदा पाउनलागेका छन् । गत सोमबार जुनेली बारमा महाप्रबन्धक अभिनव राणाले पर्यटनमन्त्री आनन्द पोख्रेल र उनको १२ जनाको टोलीलाई रात्रिभोज खुवाएर लेनदेनमा होटल नवीकरण गर्ने वचन लिएपछि सिर्जना राणाले कर्पोरेट डाइरेक्टर समेत रहेका पारस राणालाई भोलि (सोमबार)देखि काममा नआउन आदेश दिएकी हुन् । उक्त घटनापछि होटलमा जीतेन्द्र राजभण्डारी, अभिनव राणा, अभिप सिंह, इरिस श्रेष्ठ र ठाकुर पौडेलको बोलवाला बढेको छ ।


- आर्थिक दैनिकबाट साभार
प्रतिक्रिया दिनुहोस्