Skip to content

बैंकहरुको त्रैमासिक वित्तीय विवरणको औचित्यता, सिए गोकर्ण कट्टेलको विश्लेषण


नेपाल राष्ट्र बैंकद्धाराबैंक तथा वित्तीय संस्थालार्इ जारी भएको एकीकृत निर्देशन अनुसार ती संस्थाले त्रैमासिक रुपमा वित्तीय विवरण प्रकाशन गर्नुपर्ने ब्यवस्था छ । यस्तै गरि धितोपत्र दर्ता तथा निष्काशन नियमावली २०६५ अनुसार सूचिकृत संस्थाहरुले समेत त्रैमासिक रुपमा वित्तीय विवरण प्रकाशन गर्नुपर्ने ब्यवस्था गरेको छ । वित्तीय विवरण प्रकाशन गर्दा राष्ट्र बैंक तथा धितोपत्र वोर्डले  तोकेको ढाँचामा नै प्रकाशन गर्नुपर्ने बाध्यकारी ब्यवस्था छ ।



बार्षिक वित्तीय विवरणमा भएका कमी कमजोरीहरुको सम्बन्धमा बैंक तथा वित्तीय संस्थाहरुको बार्षिक साधारण सभामा शेयरधनीहरुले सुझाब दिन्छन, नियमनकारी निकायले समेत निगरानी गर्छन् तर त्रैमासिक वित्तीय विवरणमा के हुनु पर्छ भन्ने कुरा बहसमा आउन सकेको छैन । सम्बन्धित बैंक तथा वित्तीय संस्था र नियमनकारी निकायले त्रैमासिक वित्तीय विवरणलार्इ गम्भिर रुपमा नलिनु र लगानीकर्ता र शेयरधनीले समेत धेरै चासो नलिएको जस्का कारणले पनि समय सापेक्ष रुपमा यसमा परिमार्जन हुन सकेन ।
बैंकको बार्षिक वित्तीय विवरणहरु(Annual Financial Statements) विस्तृत रुपमा तयार पारिएका हुन्छन । तर हरेक त्रयमासमा त्यस्ता विस्तृत वित्तीय विवरण तयार गर्न श्रोत, साधन र उपयोगीताको दृष्टिकोणबाट फाइदाजनक हुदैन । विस्तृत वित्तीय विवरणहरुलार्इ अद्यावधिक गर्ने उदेश्यलेबार्षिक वित्तीय विवरण प्रकाशन भएपछिको मुख्य मुख्य कुराहरु लगानीकर्ता वा सरोबारवालाहरुलार्इ स्पष्ट रुपमा जानकारी गराउनत्रैमासिक वित्तीय विवरणहरु तयार गरिन्छन ।
बैंक तथा वित्तीय संस्था सम्वन्धी ऐन, २०६३ अन्तर्गत नेपाल राष्ट्र बैंकले जारी गरेको एकीकृत निर्देशन नं. ४  र धितोपत्र कारोवार ऐन, २०६३ अन्तर्गतको धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०६५ को नियम २२(२) ले बैंक तथा वित्तीय संस्थाहरुलार्इ त्रैमासिक वित्तीय विवरण (Quarterly Financial Statements)प्रकाशन गर्नुपर्ने बाध्यकारी ब्यवस्था गरेको छ । राष्ट्र बैंकले त्रयमास समाप्त भएको ३५ दिनभित्र यस्तो विवरण राष्ट्रय दैनिक पत्रिकामा प्रकाशन गर्नुपर्ने ब्यवस्था गरेको छ भने धितोपत्र बोर्डले त्रयमास समाप्त भएको एक महिनाभित्र प्रकाशन गर्नुपर्ने ब्यवस्था गरेको छ । यसरी एउटै विषयमा दुर्इवटा नियमनकारी निकायले फरक-फरक नियम बनार्इ लागू गरेका छन । यस विषयमा एकरुपता ल्याउन दुवै निकायले पहल गरेको देखिदैन ।
नेपाल राष्ट्र बैंक निर्देशन नं. ४ को बुँदा नं. १ (घ) (१) ले बैंक तथा वित्तीय संस्थाहरुले सम्पूर्ण शाखाहरुको समेत कारोबार समावेश गरी वास्तविक एकीकृत वित्तीय विवरण लगायत प्रमूख वित्तीय परिसुचकहरु (Major Financial Indicators) को विवरण हरेक त्रयमासको महिना व्यतित भएको मितिले ३५ दिनभित्र कूनै एक राष्ट्रियस्तरको दैनिक पत्रिकामाअनिवार्य रुपमा प्रकाशित गरी सो को एक प्रति बैंक तथा वित्तीय संस्था नियमन विभाग र सम्बन्धित सुपरिवेक्षण विभागलाई समेत उपलब्ध गराउनू पर्ने ब्यवस्था गरेको छ । यस्तै गरि बुँदा नं. १ (घ) (५)  ले बैंक तथा वित्तीय संस्थाहरुले सर्वसाधारणको जानकारीको लागि अपरिष्कृत वित्तीय विवरण प्रकाशन गर्दा “सुपरिवेक्षण गर्ने निकाय तथा बाह्य लेखापरिक्षकले थप/घट गर्न निर्देशन दिएमा परिष्कृत वित्तीय विवरणमा फरक पर्न सक्नेछ” भन्ने व्यहोराको फूटनोट राखी प्रकाशन गर्नु पर्नेब्यवस्था समेत गरेको छ ।
हाल प्रचलनमा रहेको राष्ट्र बैंकको ढाँचामा वासलात तर्फपूँजी तथा दायीत्व अन्तर्गत सामान्यतया संस्थाको चुक्ता पूँजी, जगेडा तथा कोषको अवस्था, डिवेन्चर तथा वण्ड, स्वदेशी र विदेशी मुद्रामा छुट्टाछुट्टै देखिने गरि निक्षेप दायीत्व, आयकर बापतको दायीत्व र अन्य दायीत्व एकमुष्ठ रुपमा उल्लेख गरिएको हुन्छ । सम्पत्ति तर्फ नगद तथा बैंक मौज्दात, माग तथा अल्प सूचनामा प्राप्त हुने रकम, लगानी,कर्जाको प्रकृती अनुसार ६ वर्गमा बर्गिकरणभएको कर्जा तथा सापट स्थिर सम्पत्ति, गैर बैकिङ्ग सम्पत्ति र अन्य सम्पत्ती एकमुष्ठ रुपमा उल्लेख गरिएको हुन्छ ।
बैंकको शेयरमा लगानी गरेका सर्वसाधारण लगानीकर्ताले, शेयरमा लगानी गर्न चाहने संभावित लगानीकर्ताले, बैंकका निक्षेपकर्ताले, बैंकका डिवेन्चरहोल्डरले र बैकलार्इ सापटी/ऋण प्रदान गरेका संस्थाहरु लगायतले बैंकको हरेक त्रैमासिक अवस्था कस्तो छ भन्ने कुरा थाहा पाउन सकून भनेर नै त्रैमासिक वित्तीय विवरण राष्ट्रिय दैनिक पत्रिकामा प्रकाशन गरिन्छ । यहाँ एउटा रमार्इलो कुरा के छ भने त्रैमासिक वित्तीय विवरण अंग्रेजी भाषामा प्रकाशन गरिन्छ ।
जसलार्इ लक्षित गरेर यो विवरण प्रकाशन गरिन्छ, उनीहरु मध्ये धेरैले यसमा लेखिएको कुराहरु बुझ्नै सक्दैनन । राष्ट्र बैंकले कानूनी कागजातहरु नेपाली भाषामा तयार गर्नुपर्छ भनी केहि बर्ष अघि बैंक तथा वित्तीय संस्थाहरुलार्इ निर्देशन दिएको थियो, त्यो बिषय अहिले कार्यान्वयन समेत भर्इसकेको छ । तर त्रैमासिक वित्तीय विवरण नेपाली भाषामा प्रकाशन गर्ने काम राष्ट्र बैंकको प्राथमिकतामा पर्न सकेको छैन ।
राष्ट्र बैंकको ढाँचा अनुसारत्रैमासिक वित्तीय विवरणमा ३ वटा अवधिको विवरण खुलाउनु पर्छ:
यस त्रयमासको (नाफा नोक्सानमा यस त्रयमाससम्मको)
गत त्रयमासको (नाफा नोक्सानमा गत त्रयमाससम्मको)
अघिल्लो बर्षको यस त्रयमासको (नाफा नोक्सानमा अघिल्लो बर्षको यस त्रयमाससम्मको)
यसलार्इ प्रष्ट गर्न एउटा उदाहरण हेरौं।
२०७२ चैत्र मसान्तमा कुनै बैंकले त्रैमासिक प्रतिवेदन प्रकाशन गर्दा देहायका ३अवधिको विवरण समावेश गर्ने प्रचलन छ:
  वासलात
यस त्रयमासको
२०७२ चैत्र मसान्त
गत त्रयमासको
२०७२ पौष मसान्त
अघिल्लो बर्षको यस त्रयमासको
२०७१ चैत्र मसान्त
नाफा नोक्सान हिसाब
यस त्रयमाससम्मको
२०७२ श्रावण १ देखि २०७२ चैत्र मसान्तसम्मको
गत त्रयमाससम्मको
२०७२ श्रावण १ देखि २०७२ पौष मसान्तसम्मको
अघिल्लो बर्षको यस त्रयमाससम्मको
२०७१ श्रावण १ देखि २०७१ चैत्र मसान्तसम्मको
माथि उल्लेख गरिएको ढाँचा नेपाल लेखामान ३४(Interim Financial Reporting) अनुरुपको छैन । लेखाको तरिका, ढाँचा र वित्तीय विवरणमा गर्नुपर्ने Minimum Disclosureलगायतका कुराहरु अन्तराष्ट्रिय प्रचलन अनुसारको बनाउन नेपाल सरकारले लेखामान वोर्ड गठन गरेको छ ।  यो बोर्डले लेखामान जारी गरी लागू गर्छ । बाणिज्यबैंकहरुको लागी आ.ब. २०७२/७३ देखिनेपाल वित्तीय प्रतिवेदनमान(Nepal Financial Reporting Standard)लागू भर्इ सकेको छ ।
२०७२ चैत्र मसान्तको त्रैमासिक वासलात प्रकाशन गर्दा नेपाल लेखामान अनुसार देहायबमोजिमको२ वटा अवधिको वित्तीय विवरण प्रस्तुत गर्नुपर्छ :
 वासलात
यस त्रयमासको
२०७२ पौष १ देखि २०७२ चैत्र मसान्तसम्मको
अघिल्लो आर्थिक बर्षको अन्त्यको
२०७१ साउन १ देखि २०७२असार मसान्तसम्मको
प्रस्तुत त्रयमासमा मात्रै कति आम्दानी भयो, कति खर्च भयो भन्ने कुरा हाल प्रकाशित भर्इरहेका वित्तीय विवरणबाट थाहा पाउन सकिदैन । नेपाल लेखामान ३४ ले हरेक त्रयमासको छुट्टै विवरण (non-cumulative amount) देखाउनुपर्ने ब्यवस्था गरेको छ ।नेपाल लेखामान ३४ अनुसार नाफा नोक्सान हिसाबमा यस त्रयमासको(Current Interim Period) र यस त्रयमासम्मको (Cumulatively for the current financial year to date)वित्तीय विवरणलार्इगत बर्षको सोहि Dataसंग तुलना गरि देखाउनुपर्ने ब्यवस्था गरेको छ ।
२०७२ चैत्र मसान्तको नाफा नोक्सान हिसाब प्रकाशन गर्दा नेपाल लेखामान अनुसार४ वटा अवधिको वित्तीय विवरण देहायबमोजिम प्रस्तुत गर्नुपर्छ :
  नाफा नोक्सान हिसाब यस त्रयमासको

२०७२ पौष १ देखि २०७२ चैत्र मसान्तसम्मको
यस त्रयमाससम्मको

२०७२ श्रावण १ देखि २०७२ चैत्र मसान्तसम्मको
अघिल्लो बर्षको गत त्रयमासको

२०७१ पौष १ देखि २०७१ चैत्र मसान्तसम्मको
अघिल्लो बर्षको गत त्रयमाससम्मको
२०७१ श्रावण १ देखि २०७१ चैत्र मसान्तसम्मको
माथि उल्लेख भएको ढाँचाको अतिरिक्त नेपाल लेखामान ३४ ले तोकेका त्रैमासिक वित्तीय विवरणमा खुलाउनुपर्ने अन्य न्यूनतम कूराहरु जस्तै कुनै त्रयमासको नगद प्रवाह विवरण, इक्वीटीमा भएको परिवर्तनको विवरण, यस त्रयमासमा भएका उल्लेख्य कारोवारहरुको अद्यावधिक विवरणलगायतका धेरैDisclosure Requirement को ब्यवस्था समेत राष्ट्र बैंकको ढाँचाले समेट्न सकेको छैन ।
निक्षेप अन्तर्गत स्वदेशी मुद्रा र विदेशी मुद्रामा रहेको निक्षेपलार्इ छुट्याएर देखाउने ब्यवस्था रहेको छ । तर मुद्धती, बचत र चल्ती खातामा कति-कति निक्षेप छ भन्ने कुरा वित्तीय विवरणका प्रयोगकर्तालार्इ थाहा हुदैन ।
निर्देशन नं. ४ को बुँदा नं. १ (घ) (४) ले बैंक तथा वित्तीय संस्थाहरुले वित्तीय विवरण प्रकाशित गर्दा उक्त अवधिको कर्मचारी बोनस, आयकर व्यवस्था लगायतका सम्पूर्ण खर्चहरुलाई समावेश गरेर मात्र प्रकाशित गर्नू पर्ने कुरा उल्लेख गरेको छ । तर अधिकांश बैंक तथा बित्तीय संस्थाले आयकर दायीत्वको गणना आयकर ऐन २०५८ बमोजिम गर्ने गरेको देखिदैन । अधिकांश संस्थाहरुलेलेखामा देखिएको नाफामा आयकरको दर (३०%) लगार्इ आयकर ब्यवस्था गर्ने प्रचलन देखिन्छ जसमा आयकर ऐन अनुसारको ब्याज, ह्रासकट्टी, मर्मत सुधार, कर्जा नोक्सानी ब्यवस्था जस्ता आयकरमा प्रत्यक्ष असर पर्ने कुराहरुको समायोजन भएको हुदैन । बुँदा नं. १ (घ) (६)मा ऐन, नीति, नियम तथा निर्देशनमा स्पष्ट गरिएका बिषयमा समेत बैंक व्यवस्थापनले समयमै समायोजन नगरी वित्तीय विवरणमा फरक परेको अवस्थामा सम्बन्धित संस्थालाई आवश्यक कारबाही गरिने ब्यहोरा उल्लेख भएता पनि के कारबाहि गर्ने कुरा उल्लेख भएको छैन । त्रैमासिक वित्तीय विवरणमा उक्त बुँदा अनुसार समायोजन गर्नुपर्ने कुरा समायोजन नगरेको कारण अहिलेसम्म कुनै बैंक वित्तीय संस्थालार्इ कारवाहि गरेको सार्वजनिक सूचना पनि देखिएको छैन ।
बैंक तथा वित्तीय संस्थाले अन्य संस्थाहरुमा गरेको लगानी र ती लगानीको बजार मूल्य कम भएको कारण कति नोक्सानी ब्यवस्था गरिएको छ भन्ने कुरा त्रैमासिक वित्तीय विवरणबाट थाहा हुदैन ।
बैंक तथा वित्तीय संस्थाले प्रवाह गरेको कर्जा सम्बन्धी कुराहरु वित्तीय विवरणमा सबैभन्दा अपारदर्शी तरिकाले देखाइन्छ । कुनै बैंकको कूल कर्जा रकम कति हो वा कूल कर्जा नोक्सानी ब्यवस्था कति छ भन्ने कुरा त्रैमासिक वित्तीय विवरणमा देखाउने प्रचलन छैन । कूल कर्जामा निष्कृय कर्जा कति प्रतिशत छ भन्ने कुरा प्रमुख सूचकांकमा देखाउनुपर्ने ब्यवस्था रहेको भएता पनि अधिकांश त्रैमासिक प्रतिवेदनका प्रयोगकर्ताले निष्कृय कर्जा भनेको के हो भन्ने कुरा थाहा पाउदैनन । कर्जा संग सम्बन्धित जानकारीहरुलार्इ सामान्य ब्यक्तिले बुझ्न नसक्ने बनाउने सिलसिलाको अर्को कडिको रुपमा कूल निष्कृय कर्जा मा कूल कर्जा नोक्सानी ब्यवस्थाको अनुपात राखिएको छ जुन सर्वसाधारण निक्षेपकर्ता, लगानीकर्ता र सरोकारवालाले सजिलै बुझ्दैनन ।यसरी बैंकको मुख्य सम्पत्तीको रुपमा रहेको कर्जाको यथार्थ अवस्था त्रैमासिक वित्तीय विवरणमा नदेखिनु वा कर्जा सम्बन्धी ब्यवस्थाको Disclosureमा पारदर्शिता नहुनुको कारण बैंकरहरुको अनुरोधमा राष्ट्र बैंकले देखाएको सदासयताको रुपमा बुझिने गरेको छ ।यस्तै गरिगैर बैंकिङ्ग सम्पत्तिमा समेत सम्पत्ति र नोक्सानी ब्यवस्थालार्इ छुट्टाछुट्टै देखाउने प्रचलन रहेको छैन ।
वित्तीय विवरणको अर्को महत्वपूर्ण कुरा Comparability हो । कुनै त्रैमासिक प्रतिवेदनमा तीनवटा अवधिको Dataउल्लेख गरिन्छ भने ती एक-अर्कासंग Compareगर्न योग्य हुनु पर्छ । माथिको उदाहरणमा २०७२ चैत मसान्तको त्रैमासिक प्रतिवेदन अन्तर्गत नाफा नोक्सान हिसाबको ‘गत त्रयमाससम्मको’ (२०७२ श्रावण १ देखि २०७२ पौष मसान्तसम्मको) Dataको Comparable Data(२०७१ श्रावण १ देखि २०७१ पौष मसान्तसम्मको)त्रैमासिक प्रतिवेदनको हालको ढाँचामा कहिकतै राख्ने प्रचलन छैन ।
राष्ट्र बैंकले AGM Clearance Procedureजारि गरि हरेक बर्षान्तमा (आषाढ मसान्तमा) पाउनुपर्ने ब्याजमध्ये साउन महिनामा नगदमा असूल गरेको ब्याजलार्इ अघिल्लो आर्थिक बर्षमा नै आम्दानी जनाउन पाउने ब्यवस्था गरेको छ । यो ब्यवस्था अनिवार्य नभर्इ स्वेच्छिक हो । अर्थात कुनै बैंकले साउनमा असूल गरेको ब्याजलार्इ समावेश गरेर वित्तीय विवरण तयार गर्छ भने कुनै बैंकले असार मसान्तसम्म असूल भएको ब्याजलार्इ समावेश गरेर वित्तीय विवरण तयार गर्न सक्छ । कुनै दुर्इवटा बैंकको वित्तीय विवरण एक अर्कासंग तुलना हुन सक्दैन भने त्यस्तो वित्तीय विवरणलार्इ नेपाल लेखामान अनुसार तयार भएको मान्न मिल्दैन । यस्ता ब्यवस्थालार्इ वित्तीय विवरणमा उचित रुपले Disclosureगर्नुपर्ने ब्यवस्था राष्ट्र बैंकले गरेको छैन ।
बैंकको लागी अत्यन्तै महत्वपूर्ण औजार मानिने तरलता ब्यवस्थापनको सम्बन्धमा समेत राष्ट्र बैंकको ढाँचामा कमजोरी रहेको छ । Ratio Analysisअन्तर्गत तरलता अनुपातको गणना गरिएता पनि भुक्तानी मिति अनुसारको तरलता सम्बन्धि जानकारी सरोकारवालाहरुलार्इखट्किएको छ ।
केहि समय पहिलेदेखि राष्ट्र बैंकले Base Rate को अवधारणा लागू गरेको भए तापनि त्रैमासिक वित्तीय विवरणमा उल्लेख भएको Base Rate को अर्थके हो भन्ने कुरा सामान्य लगानीकर्ताले बुझ्दैनन् ।
राष्ट्र बैंकको ढाँचाको नाफा नोक्सान हिसाबमा ब्याज आम्दानी, ब्याज खर्च र आम्दानी र खर्चको अन्तर खुद ब्याज आम्दानी उल्लेख भएको हुन्छ । खुद ब्याज आम्दानीमा फी, कमीशन र डिष्काउन्ट आम्दानी समावेश गरेपछि कूल संचालन आम्दानी गणना गरिन्छ । कूल संचालन आम्दानीमा कर्मचारी खर्च र संचालन खर्च कट्टी भएपश्चात कर्जा नोक्सानी ब्यवस्था अघिको संचालन नाफा गणना गरिन्छ, उक्त नाफामा कर्जा नोक्सानी ब्यवस्था खर्च घटाएपछी संचालन मूनाफा गणना गरिन्छ । संचालन मूनाफामा गैर संचालन आम्दानी र कर्जा नोक्सानी ब्यवस्था घटाएपछी नियमीत कारोवार बाट भएको नाफानिकालिन्छ । असामान्य कारोबारबाट कुनै आम्दानी वा खर्च भएमा सो रकम  नियमीत कारोवार बाट भएको नाफामा समायोजन गरेपछी कर्मचारी वोनश र कर अघिको नाफा गणना गर्नुपर्ने ब्यवस्था छ । यो नाफामा कर्मचारी वोनश र आयकर घटाएपछि खुद नाफा वा नोक्सान गणना गर्नुपर्ने ब्यवस्था छ ।
सबैभन्दा रमार्इलो कुरा के छ भने राष्ट्र बैंकको ढाँचामा कर र कर्मचारी बोनश भन्दा अघि सधै नाफामात्रै हुन्छ, नोक्सानी हुदैन भन्ने परिकल्पना गरिएको छ; जस्तो कर्जा नोक्सानी ब्यवस्था अघिको नाफा, संचालन मूनाफा, नियमीत कारोबारबाट भएको मुनाफा, वोनश र कर अघिको नाफा। देख्दा सामान्य लाग्ने यस्ता कुराहरु स्पष्ट नहुँदा लगानीकर्ताले गलत अर्थ लगाउन सक्छन ।नोक्सानी भएको वित्तीय विवरण हेरेर नाफा भएछ पनि भन्न सक्छन । बैंकहरुले Microsoft Excel मा तयार गरेर राष्ट्रिय दैनिक पत्रिकामा छाप्न पठाउने डाटामा कुनै बैंकलेNegative Valueलार्इBracket भित्र राखेका हुन्छन भने कुनै बैंकलेValueको अगाडि Negative Sign(-)राखेका हुन्छन । यसलार्इ सुधार गर्न राष्ट्र बैंकको अनुसूची ४.अ को नोटमा नाफा नोक्सान हिसाबमा Bracket भित्र भएका अंकहरु नकारात्मक हुन भनी उल्लेख गर्नुपर्छ । यस्तै कर्जा नोक्सानी ब्यवस्था अघिको नाफा/(नोक्सान), संचालन मूनाफा/(नोक्सान), नियमीत कारोबारबाट भएको मुनाफा/(नोक्सान), वोनश र कर अघिको नाफा/(नोक्सान) उल्लेख गर्नु पर्छ ।
बुँदा नं. १ (घ) (२) ले बैंक तथा वित्तीय संस्थाहरुले त्रैमासिक वित्तीय विवरण प्रकाशन गर्दा अनिवार्य रुपमा आन्तरिक लेखापरिक्षकबाट प्रमाणित गराएर मात्र प्रकाशन गर्नु पर्ने ब्यवस्था गरेको छ । यो ब्यवस्थाको प्रभावकारिता सम्बन्धमा समेत अध्ययन गर्न जरुरी छ ।पचासौं शाखा कार्यालय भएको बैंकको आन्तरिक लेखापरिक्षण कार्य एक महिनाभित्रमा सम्पन्न गर्न ब्यवहारिक रुपमा कठीन हुन्छ । त्रैमासिक वित्तीय विवरणमा Arithmetical Accuracy मात्रै परिक्षण गरेको भए उक्त कुरा नोटमा स्पष्ट रुपमा खुलाउनु पर्छ । यस्ता ब्यवस्थाहरु औपचारिकताको लागी मात्र प्रयोग भएमा लगानीकर्ता र सरोकारवालाहरु भ्रममा पर्न सक्छन ।
धितपत्र दर्ता तथा निष्काशन नियमावली, २०६५ अनुसारको बैंक तथा वित्तीय संस्थाले प्रकाशन गरेका विवरणहरु अध्ययन गर्दा अधिकांश बैंक तथा वित्तीय संस्थाहरुले औपचारिकता पूरा गर्न मात्र  यस्तो विवरण प्रकाशन गरे जस्तो पनि देखिन्छ । ब्यवस्थापकिय विष्लेशण, समस्या तथा चुनौती, संस्थागत शुसासन जस्ता गहन विषयहरुमा अत्यन्त सतही विष्लेशण प्रस्तुत गरिएको हुन्छ । ऋण लेनदेनको कारोवार गर्ने बैंक तथा वित्तीय संस्थाले कसैलार्इ मुद्धा नै नहालेको  वा संस्थाउपर कुनै मुद्धा नै दायर नभएको जस्ता पत्याउनै नसिकने आशयको विवरण उल्लेख गरिएको हुन्छ । कुनै-कुनै बैक तथा वित्तीय संस्थाले भने नियमीत ब्यवसायीक कारोबारको सिलसिलामा बाहेक कुनै मुद्धा दायर भएको छैन भन्ने आशयका विवरणहरु प्रस्तुत गरेका हुन्छन । तर नियमावलीले हरेक मुद्धाको विवरण उल्लेख गर्नुपर्ने बाध्यकारी ब्यवस्था गरेको छ । यस्तो अवस्थामा,प्रकाशन भएका वा धितोपत्र बोर्डमा पेश भएका वित्तीय विवरण र जानकारीहरुलार्इ धितोपत्र बोर्डले गहन अध्ययन गर्दैन कि भन्ने आशंका समेत सामान्य लगानीकर्ताले गर्न सक्छन ।
राष्ट्र बैंकलार्इ आवश्यक पर्ने जानकारीहरुदैनिक, साप्ताहिक, पाक्षिक, मासिक, त्रैमासिक, बार्षिक वा तोकिएबमोजिम विस्तृत ढाँचामा नियमीतरुपमा लिने ब्यवस्था मिलाएको हुन्छ ।राष्ट्र बैंक वा धितोपत्र वोर्डले बैंकको कुनै जानकारी चाहिएमा पत्राचार गरेर तत्कालै माग गर्न सक्छन । तर, त्रैमासिक वित्तीय विवरण सर्वसाधारणको जानकारीको लागी प्रकाशन गर्ने हुनाले यसमा उल्लेख हुने भाषा, यसभित्रको बिषयवस्तु सरल तथा सर्वसाधारणले बुझ्ने हुनु पर्छ ।बैंक तथा वित्तीय संस्थाका सरोकारवालाहरुको जानकारीको एकमात्र आधिकारिक श्रोत त्रैमासिक वित्तीय विवरणहरुको विश्वसनियतामा अभिबृद्धि गर्न नियमनकारी निकायहरुको समन्वयमा समय सापेक्ष सुधार गरियो  र सम्बन्धित बैंक तथा वित्तीय संस्थाले इमान्दारिताका साथ कार्यान्वयन गरे भनेवित्तीय विवरण प्रयोग गर्ने लगानीकर्ता, शेयरधनी, निक्षेपकर्तालगायतका सरोकारवालाहरु लाभान्वीत हुन सक्ने थिए ।
गोकर्ण कट्टेल, चार्टड एकाउन्टेन्ट,



बैंकिङ समाचारबाट  

प्रतिक्रिया दिनुहोस्