
सहि काउन्सिलिङ लिनुहोस् : सिएका बारेमा तपाईं कुनै पनि सिए इन्स्टिच्युट जानुभयो भने प्राय : तपाईंलाई आफ्नो इन्स्टिच्युटको बारेमा वा सिएका बारेमा राम्रो पक्षको मात्र काउन्सिलिङ गरिन्छ। पढ्नुअघि सिए भईसकेका वा सिए पढिरहेका विधार्थीहरुसंग राम्रो परामर्श लिनुहोस् । परामर्श लिंदा एकभन्दा बढी व्यक्तिसँग लिंदा तपाईको निर्णय अझ राम्रो बन्न सक्छ। सिए नै सबथोक हो भन्ने खालको काउन्सिलिङमा नलाग्नुहोस्। सिए गाह्रो छ भने कुरा दिमागबाट हटाउनुहोस् तर सजिलो पनि छैन है भन्ने कुरा चाहिं नबिर्सिनुहोस्।
कोचिङ सेन्टरका बारे राम्ररी बुझ्नुहोस् : कुनैपनि इन्स्टिच्युटमा भर्ना गर्दा त्यसबारे राम्रोसँग बुझ्नुहोस् । हुन त पढ्ने विधार्थीलेनै हो, तर पनि कतिपय ठाउँमा विधार्थी राम्रो हुँदाहुँदै पनि इन्स्टिच्युटको कमजोरीका कारण बिधार्थी फेल भएका प्रशस्त उदाहरणहरु छन् । यस्ता कुराहरुमा ध्यान दिनुहोस् । बजारमा आफुकहाँ पढ्दै नपढेको विधार्थीलाई पास भएकोमा बधाई दिने इन्स्टिच्युटहरु पनि छन् । ख्याल गर्नुहोस् । आफ्नो पढाई राम्रो हुँदाहुँदै पनि ब्यबस्थापनले कक्षाहरु राम्रोसँग संचालन नगर्ने समस्या कतिपय इन्स्टिच्युटहरुमा छ, त्यस्ता इन्स्टिच्युटहरुको पछी नलाग्नुहोस्।
डिस्काउन्टको पछी नलाग्नुहोस् : तपाईको पढाइको कदर गर्दै कसैले डिस्काउन्ट दिन्छ भने त्यो राम्रो कुरा हो, तर धेरै डिस्काउन्ट दिएकै आधारमा कुनै पनि इन्स्टिच्युटमा नबुझी हाम नाफाल्नुहोस् । तपाईंले भर्ना गर्न लागेको इन्स्टिच्युटहरुको नतिजा बारे केलाउनुहोस् । यदि नयाँ इन्स्टिच्युट हो भने, कस्तो ब्यबस्थापनले इन्स्टिच्युट खोलेको हो बुझ्नुहोस् । रङ्गिन प्रोस्पेक्टस् वा मिठा गफको पछाडी पनि नलाग्नुहोस् ।
इन्स्टिच्युटको बजार बिस्लेषण बुझ्नुहोस् : तपाइले भर्ना गर्न लागेको सिए इन्स्टिच्युटका बारेमा बजार विश्लेषण बुझ्नुहोस् । बिगतमा केहि बिधार्थीहरुलाई धोका दिएर निकैनै बिबादमा तानिएका र अहिले नाम परिवर्तन गरेर संचालन गरिएका इन्स्टिच्युटसँग सचेत रहनुहोस् । बजारमा नतिजालाई लिएर बिबादमा आईरहने र बजारमा झुटको खेती गर्ने सिए इन्स्टिच्युटहरु बारे पनि बुझ्नुहोस् । आईक्यानसँग जोडिएका विभिन्न व्यक्ति वा पधाधिकारीहरुको नाम बेचेर तपाइँलाई गलत काउन्सिलिङ गर्नेहरु पनि बजारमा प्रशस्त छन्, त्यस्ता काउन्सिलिङको पछाडी कहिल्यै नलाग्नुहोस्।
आफ्नाहरु प्रति पनि सचेत रहनुहोस : कसैले तपाईलाई कुनै सिए इन्स्टिच्युटमा भर्ना गर्न आग्रह गर्यो भने दुई पटक सोच्नुहोस् । तपाईलाई कुनै सिए इन्स्टिच्युटमा भर्ना गरिदिए बापत त्यसबाट कमिसन लिनेहरु पनि बजारमा प्रशस्तै छन् । यस्ता कुराहरुमा ध्यान पुर्याउनुहोस् ।
सम्बन्धन प्राप्त संस्थाबारे पनि बुझ्नुहोस् : बजारमा आईक्यानबाट सम्बन्धन प्राप्त सिएको ट्युसन पढाउने संस्थाहरु पनि छन् । यी ट्युसन प्रदायकहरुबीच पनि सबैको कुरा सुन्नुहोस् तर निर्णय आफैंले सोचेर लिनुहोस् । बिगतमा ‘भ्रमपूर्ण’ जानकारी सार्वजनिक रुपमा ल्याएर बिधार्थीको आँखामा छारो हाल्ने इन्स्टिच्युटहरु पनि यहि सम्बन्धन लिने संस्थाहरु भित्रै छन् । सचेत रहनुहोस् । इन्स्टिच्युटको नतिजाका बारेमा राम्रोसंग बुझ्नुहोस् । तर आफ्नो नतिजा भन्दै रङ्गीन फ्लेक्समा राखिएका तश्वीर तिनै इन्स्टिच्युटका बिधार्थीहरु हुन् त ? भन्ने कुरा चाहिं बुझ्नुहोस्। तपाइंले अध्ययन गर्न खोज्नु भएको सिए इन्स्टिच्युटमा कोको सिए छन् भन्ने राम्रोसंग बुझ्नुहोस् ।
बजार राम्रोसँग घुम्नुहोस् : बजारमा सिएको ट्युसन प्रदान गर्ने विभिन्न ट्युसन प्रदायक संस्थाहरु छन् । पढ्नु अघि एकपटक सबैजसो ठाउँमा घुम्नुहोस् । बिगतका नतिजाहरु हेर्नुहोस् । त्यहाँ कार्यरत सिएसँग परामर्श लिनुहोस् । आईक्यान आफैं जानुहोस् , त्यहाँ पनि बिधार्थी काउन्सिलिङ गर्ने छुट्टै बिभाग छ, त्यहाँ पनि सिए बारे र आईक्यान बारे बुझ्नुहोस् ।
आईक्यान वा आइसीएआई ? : यो बिगत लामो समय देखिको बहस हो । यो प्रश्न जो कोहिलाई सोधियो भने आ-आफ्ना धारणाहरु आउँछन् । यसका लागि सबैभन्दा राम्रो भनेको दुवै बोर्ड पढ्नेहरुसँग परामर्श लिनुहोस् । आईक्यान वा आइसीएआई पढ्नुका विभिन्न फाइदा तथा बेफाइदाहरुबारे बुझ्नुहोस् । त्यसपछी आफैं निर्णय लिनुहोस् ।
प्रतिक्रिया दिनुहोस्