Skip to content

आमा गुमाएका सिए अनलराज भट्टराइको ‘आमा स्मृति’

सिए अनलराज भट्टराईकी आमा बत्सलादेवी भट्टराई ७१ वर्षको उमेरमा ०७१ सालमा परलोक भइन् । क्यान्सर भएको पत्ता लागेपछि हतार–हतार उनले आमालाई दिल्ली पुर्याएका थिए । त्यहाँ चेकजाँचको क्रममा चिकित्सकले चौथो स्टेपको क्यान्सर भएको र बचाउन नसकिने जवाफसहित उनकी आमालाई घर पठाइदिएका थिए । आमासँगका अन्तिम क्षणहरु सम्झदै भट्टराईले भने–‘क्यान्सर पत्ता लागेको २४ दिनमै हामीले हाम्रो संसार गुमायौं, हाम्री मायाकी खानी, प्रेरणाकी स्रोत गुमायौं ।’ आमाले छाडेर जाँदा उनी धेरै रोए, कयौं दिन विक्षिप्त झै भए, तर विधिको बिधान यस्तै थियो ।
शाश्वत सत्य, कोही अमर हुँदैन भन्ने कुरा बुझेका उनले आमाका स्वर्णिम यादहरु, न्यानो स्पर्शहरुलाई सम्झनामा सँगालेर अगाडि बढिरहेका छन् । ०७१ सालपछिका हरेक मातातीर्थ औंशीहरुमा उनले आमाको नाममा कविता लेख्ने गर्छन, मनका उकुसमुकुस भावहरु पोखिदिन्छन् खालि पानाहरुमा । आमाको सम्झनामा केही शब्द खर्च गरेर भावनामा डूब्दै उनी आमाको फोटोलाई पूजा गर्छन, विशेष रुपमा सम्झन्छन । दिवगंत आमाको आत्मा(पितृ)लाई खुशी बनाएको अनुभूत भएपछि उनी आफ्नो जीवन संगीनीसँगै घरदेखि ५० मिटरको दूरीमा अवस्थित ससूराली गएर सासू आमालाई ढोग्छन् र आमाको मुख हेर्ने दिनलाई सार्थक बनाउँछन ।
जन्म दिने आमाले छाडेका ममतामयी यादहरुलाई साँचेर यथार्थमा सासू आमा ७० वर्षीया मिथिला बास्कोटाबाट समेत औधी माया पाएकोमा भट्टराई आफूलाई भाग्यमानी ठान्छन् । ‘एक आमाको याद सम्झनामा छ, यथार्थमा मैले अर्की आमा पनि पाएको छु ।’ उनले भने–‘तर आफूलाई जन्म दिने आमा गुमाउनु सर्वश्व गुमाउनु रहेछ, संसार नै फिक्का हुनु रहेछ ।’ उनले जिवित छँदा आमाहरुलाई औधी माया दिन, समय दिन र खुशी पार्न तमाम सन्तानहरुलाई आग्रह गरेका छन् । आमाप्रति श्रद्धाभाव, माया र आत्मीयता उनले १८ अप्रिल २०१५ मा एक कविता लेखेरै पोष्ट गरेका छन् फेसबुक वालमा । उनको आमाप्रति समर्पित कविता यस्तो छ :
म सानो छँदा 
भन न आमा कसरी बितायौं ? 
दर्द र पीड़ा सहेर तिमी 
कसरी रमायौं 
त्यो सूर्यचन्द्र देखायौ तिम्ले 
यो धर्ती आकाश 
अनेकौं पीड़ा सहेर तिमी 
भइनौं उदास 
यी सन्तान बड्लान, अनेकौं गर्लान्
मलाई हँसाउलान् 
दुनियाभरि जगमग गरी 
अवश्य उदाउलान् 
कल्पना कयौं गरेर मनमा 
आफूलाई सुतायौं 
म सानों छँदा 
भन न आमा कसरी बितायौ ?
भन न आमा के गर्यौ तिम्ले 
मनमा कल्पेर 
जाँगर जोस बढायौ तिम्ले 
आफू नै भूलेर, आमा आफू नै भूलेर ।
-बिजशाला डटकमबाट 

प्रतिक्रिया दिनुहोस्