डियर मोदी!

डियर मोदी, म आज यो पत्र लेखिरहँदा प्रेमिकाले धोका दिएर एक्लो बनेको प्रेमी जस्तै निसास्सिएको छु । म केहि दिन देखी छट्पटाइरहेको छु । बेचैन छु । यस्तो लाग्दैछ कि, म भित्र एउटा आँधी चलिरहेछ । बिस्फोट हुनको लागी ज्वालामुखी पहाड चिर्दै छ ।
मैलेधेरै सोचेँ, तिमीसँग के भनेर गुनासो पोखुँ ? रिसले आखाँ बन्द गरेर गाली मात्रै ओकेलुँ, या हात जोडेर बिन्ती बिसाउँ ? तर अफसोच, म दुबै कुरामा नाकाम रहेँ। तिमीसँग दयाको भिख मागेर गिडगिडाउन मेरो स्वाभिमानले दिएन । तिमीसँग झगडा गरेर आक्रोस ओकेल्नको लागी म सँग कुनै आक्रोस थिएन । मैले आजमात्रै महसुस गरेँ, आफुले सम्मान गरेको मान्छेले धोका दियो भने ‘आक्रोस’ होईन, ‘पिडा’ हुँदो रैछ । म आज त्यहिं पिडाले रन्थनिएको छु ।
म नब्बेको दशकमा जन्मिएको हुँ । नेपालको कुनै बिकट गाउँमा । जतिबेला म दुनियाँ बुज्न थालेँ, देशमा माओवादिले युद्द छेंडिसकेको थियो । कुनै एक बिहान थियो, मैले पढ्ने स्कुलको सेतो भित्तामा रातो रँगले एउटा नारा लेखिएको थियो, “भारतिय बिस्तारवाद मुर्दावाद” । त्यतिबेला मेरो कलिलो मस्तिस्कले त्यती ठूलो कुरा बुझ्न संभव थिएन । अझ, त्यसपछी पनि मैले कहिले त्यसको अर्थ बुज्न सकिन र बुझ्ने चेष्टा पनि गरिन । घरमा पैतालिस साले नाकाबन्दीका बहस हुने गर्थे तर म त्यसको पनि हिस्सा बन्न सकिन । त्यतीबेला रेडियो नेपाल र बिबिसी निर्बिकल्प सँचारको माध्यम थिए । मैले दश कक्षा पास हुँदा सम्म रेडियो नेपालको हिन्दी समाचार र हिन्दी बिबिसीको सर्ट वेभ प्रसारणबाट राम्रोसँग हिन्दी बोल्ने र बुझ्ने भैसकेको थिएँ ।
स्कुल पढ्दा देखी नै महात्मा गान्धी मेरो लागी आदर्श पुरुष थिए । स्कुल पढ्दा मैले धेरै पढ्ने पाठ महात्मा गान्धीको जिवनी र भारतको स्वतन्त्रता आन्दोलन थियो । नेहरु र गान्धीसँगै स्वतन्त्रताको लागी लडेका मेरा हजुरबुवाहरुले सुनाउने ती किस्साहरु मलाई हरेक पल्ट रोचक र नयाँ लाग्थे । यस्तो लाग्थ्यो म गान्धी सँगै एउटै सुकुलमा बसेर उनले काटेको चर्खा मेरा मसिना हातले डल्लो पारिरहेको छु ।
मैले जतिबेला घरमा केहि चाईनिज सामान किनेर ल्याउँथे । त्यो बेला मेरो आमासँग झगडा पर्थ्यो ।उहाँ जहिले पनि भारतिय सामानको पक्षमा हुनुहुन्थ्यो । आमाको नजरमा भारतिय सामान गुणस्तरिय थियो । यसर्थ पनि मैले सानै देखी भारत ‘गान्धी’ र ‘गुणस्तरको’ देश भनेर बुझेँ ।
सँयोग भन्नु पर्छ, सन २०११ मा म आफ्नो अध्ययनको लागी दिल्ली आइपुगेँ । गर्मिको बेला थियो । पहाडको चिसो पानी पिएर हुर्किएको केटो दिल्लीमा सजिलो थिएन । मैले यहाँ चिनेको कोही थिएन । नेपाल छोड्दै गर्दा मलाई केहि मान्छेहरुले भनेका थिए,”तिमी पहिलो पल्ट जाँदै छौ । दिल्ली धेरै ठगहरुको पनि शहर हो । तिमीलाई लुट्न पनि सक्छन । आफ्नो ख्याल गर्नु ।” तर अचम्म, म भित्र एउटा अदभुत बिस्वास थियो । मलाई दिल्ली आफ्नो लाग्थ्यो । नेहरु र गान्धिको शहर लाग्थ्यो । यसर्थ, दिल्ली आफैमा मेरो आदर्श बनेको थियो ।
समय बित्दै गयो । म सिए बन्ने दौडमा व्यस्त भए पनि भारतिय राजनिती र बिभिन्न घटनाक्रम मेरो लागी चासोको बिषय बन्दै गए । २०१३ को लोकसभा चुनाव मेरो लागी भारतिय राजनिती बुझ्ने कोशेढुङ्गा बन्यो । हो, त्यहिँ बेला मेरो आदर्शको अर्को पुरुषले भारतमा जन्म लिएको थियो । “डियरमोदी, त्यो तिमी थियौ” ।
तिमीलाई भारत जित्नु थियो । गुजरात पुगेर तिम्रो नेतृत्व क्षमता देखेको मैले तिम्रो जितमा आफ्नो जित देख्न थालेको थिएँ । नेतृत्वको अभावले दिशाहिन बनेको नेपाली राजनिती देखेर दिल्ली आएको मैले तिमी जस्तै सक्षम नेतृत्वको कल्पना गर्न थालेको थिएँ । म तिम्रो भाषण सुन्न कैयौँ पल्ट दिल्लीका तिम्रा र्यालिहरुमा पुगेको छु । मोदी सरकारको नारा लगाएको छु । तिम्रो प्रचारमा फालिएका पर्चाहरु जम्मा गरेर कोठामा राखेको छु । जतिबेला तिमी चुनाव जितेर भारतको प्रधानमन्त्री बन्यौ र नेपालको सँबिधान सभामा मन्तव्य दियौ । मेरो सम्मानले आकास छोयो । मैले दिल्लीकै कुनै कार्यक्रममा तिम्रो भाषणमा तिम्रै सहकर्मीहरु सँग बसेर बहस गरेँ । उनिहरुलाई बधाई र धन्यबाद दिएँ । मलाई लाग्यो साँच्चिकै नेपाल र भारतको संवन्धको डोरी कहिले र कसैले चुडाल्न सक्ने छैन ।
तर ठूलो बिडम्वना! तिम्रो त्यो भाइचारा र बन्धुत्व आज ‘कस्मेटिक’ देखियो । संवन्धको ‘कँसिलो डोरी’ तिमी आफैले चुँडाल्यौ । सँबन्ध मात्रै टुटेको भए त फेरी सजिलोसँग जोड्न सकिन्थ्यो होला । तर आज बिस्वास टुटेको छ । डियर मोदि, म त प्रतीनिधी पात्र मात्रै हुँ । म जस्ता लाखौ नेपाली युवाहरुको बिस्वास तोडिएको छ । सायद त्यो बिस्वास फिर्ता गर्न अवको आधा शताब्दी पनि काफी हुने छैन ।
आज दिउँसो मेलाबाट फर्किएर घाँसको भारी भुईँमा फालेर आमले फोन गर्नु भयो । “छोरा, मैले नुन किनेकी थिईन । मोदिले नाका बन्द गर्दिए भन्छन । तँ त दिल्ली मै छस । एकपल्ट उनलाई भन्दे न नाका खोल्न भनेर ।” म अवाक भएँ । मैले मेरी आमालाई कसरी सम्झाउँ कि मोदिले मेरो त धेरै परको कुरा करोडौँ नेपालीको पिडा र आक्रोश केहि सुनेका छैनन भनेर । मैले कसरी भनुँ कि ‘बडे भाई’ हुनुको अहंतामा कानमा तेल हालेर अमेरिका तिर घुम्दै छन भनेर । मैले मुटु गर्हौँ पारेर भने ,” भैँसिलाई खुवाउन ल्याएको ढिक्का नुन भए पनि खानु होला । यतिबेला देश पिडामा छ ।”
हामी भर्खर परिवर्तनको सपना देख्न लागेका थियौँ । आफ्नो भविश्य आफै कोरेका थियौँ ।बर्षौँको चरम निराशा र अन्योलताबाट बहिर निस्किन बल गर्दै थियौँ । योबेला तिमीले हामिलाई हौसला दिन सक्नु पर्थ्यो । आन्तरिक बिवाद भए बिस्तारै मिल्दै जान्छन, अहिले पाएको उपलब्धिलाई सँस्थागत गर भनेर सुझाव दिनु पर्थ्यो। संविधानमा चित्त दुखाएका हरुलाई क्रमस: मिलाउँदै जाउ भनेर हिम्मत दिन सक्नु पर्थ्यो । तर तिमी आफ्नो ‘भाग’ नपाएको बाहनामा हाम्रो भावनामाथि खेल्दियौ। सुत्केरीहरु गाडी नपाएर सडकमा बच्चाहरु रुहाउँदै हिँडेका छन । ईन्धनको अभावमा अव कती चुला बल्न बन्द हुनेछन । भूकम्पले अताल्लिएका नेपालिहरुलाई धेरै ठूलो उपहार दियौ । यसलाई हामीले सधैभरी सम्झिरहने छौँ ।
डियर मोदि, तिमीसँग हामी आभारी छौँ । किनकी तिमीले हाम्रो ‘हैसियत’ देखाईदियौ । म बिना तिमीहरु बाँच्न सक्दैनौ भनेर प्रमाण पेश गर्यौ । शायद तिमीलाईयसमा गर्व पनि होला । तर हामीलाई पिडा भएको छ, आज सम्म तिमीलाई आँखा बन्द गरेर बिस्वास गरेकोमा । हामी आफैले उत्पादन गरेर बलियो बन्न सक्नुपर्थ्यो । चिनसँग पनि बराबर संवन्ध बनाउनु पर्थ्यो । ब्यापारको लागी आवस्यक तयारी गर्नु पर्थ्यो । बाटाहरु फरकिला पार्नु पर्थ्यो । तिमीलाई मौका मिल्यो,भूकम्पले गर्दा खुल्न नसकेका नाकाहरु तिम्रो लागी हातीयार बने । तर थाहा छ तिमी हाम्रो पिडामाथि राजनिती गर्यौ । हामी यि गल्तीहरु बाट अवपक्का पाठ सिक्ने छौँ । ढुक्क हुनु, गिड्गिडाएर दयाको भिख माग्ने छैनौँ । हामी भोकै बस्ने छौँ तर आत्मा बेच्ने छैनौँ । पैतालामा ठेला पारेर भए पनि उकालीओराली गर्ने छौँ तर स्वाभिमान गुमाउने छैनौँ । हामी ती गोर्खालिका सन्तान हौँ जसको प्रंससा ‘झुठो’ नै भए पनि तिमी आफै गर्ने गर्थ्यौ ।
तिमीले जसको लागी भनेर यो नाका बन्दी गरेर ‘सहयोग’ गर्यौ, उनिहरुलाई पनि धोका दिँदै छौ । उनिहरुको जायज मागमा पहिले नेपालामा धेरैको सहानुभुती थियो। धेरैको साथ थियो । तर तिम्रो नाकाबन्दिले आज उनिहरु त्यो साथ गुमाउँदै छन । अझ ठूलो अबिस्वास पैदा हुँदै छ । आन्दोलन गर्ने हाम्रा दाजु भाई थिए ।ढिलो चाँडो हामी आफै मिलाउन सक्ने थियौँ । तर तिमीले सँबन्धलाई टुक्राउने काम गर्यौ । दाजु भाईमा तिक्तता निम्त्याउने काम गर्यौ । तत्कालका लागीतिमीलाई यस्ले आफ्नो स्वर्थ पुरा गर्न त सहयोग गर्ला ।तर जव उनिहरुले यो ‘धोका’ थाहा पाउने छन त्यो बेला पुरै नेपाल तिमीलाई धिक्कारिरहेको हुनेछ । डियरमोदि, तिमीले आफैले भोगेको श्रीलँकाबाट पनि पाठ सिक्न सकेनौ ।
आज म बजारमा हिँडिरहँदा आफूलाई ‘एलियन’ जस्तो लाग्यो । पहिलो पल्ट मलाई दिल्ली पराई लाग्यो । म त्यो ठाउँमा बसिरहेछु जहाँबाट मेरो आमाले नुन खाननपाउने अवस्थाको सृजना गरिएको छ । मेरा आदर्शका गान्धी आज मलाई नै ‘भुत’ बनेर तर्साइरहेछन ।
म मात्रै होईन, अव सियाचिनमा बसेर भारतको लागी लडेका नेपालिहरु आफ्नो हातको बन्दुक हेरेर आफैलाई धिक्कार्न थाल्ने छन ।सडकमा चौकिदारी गरेर लाठीबजाउँदै हिंड्ने नेपालिहरु पिडा र आक्रोसमा बर्बराउन थाल्ने छन । आफ्नो सन्तान रुवाएर मालिकको बफादार हुन सक्दैन, डियर मोदि!
पछिल्लो समय म हातमा सिएको डिग्री बोकेर भारतका ठूला कम्पनिहरुमा लाखौँको प्याकेजको सपना बुन्दै थिएँ । बिश्व एक भएको बेला जहाँ बसेर काम गरेपनीफरक नपर्ने अरुलाई सुझाव बाँढ्दै हिँडेको थिएँ । तर आज मेरो मन मरेको छ । घरमा आमालाई भोकै राखेर मैले यहाँ कमाएको पैसाको के महत्त्व ? म मेरै देशफर्किँदै छु । बरु यी नंग्रा खियाउने छु । हजुर बुवाले पहाड फोडेर बनाएका बाँझा बारिहरुमा आफै हलो लगाउने छु । आफ्नै देशमा उत्पादन बढाउनु पर्छ भन्ने चेतनाबोकेर हिड्ने छु । आफ्नै देशमा फ्याक्ट्री लगाउने छु । ढ्ल्फलाएको राजनितिक नेत्तृत्वलाई टेका बनेर उभिने छु । कुनै दिन फेरी पुरानै स्वाभिमान बोकेर गर्जनेछु,”हामी आत्मनिर्भर छौ” । तिमीलाई भ्रम नहोस्, ‘म’ केवल म मात्रै हैन । ‘म’ लाखौँ नेपाली युवाहरुको प्रतिबिम्ब हो । यो बिश्वभर नेपालको उदाउँदो भविश्य लिएरबांचिरहेछन ।
डियर मोदि ,जाँदा जाँदै तिम्रो ‘मेड ईन ईन्डियाको’ र आसन्न ‘बिहार चुनावको’ शुभकामना ।
प्रवेश आचार्य
प्रतिक्रिया दिनुहोस्