गोँङ्गवु बसपार्कको एउटा कुना । टुसुक्क बसेको थियो ऊ । खुर्किएर मुडुलो
बनेको कपाल । धुलो र धुवाँले कालो बनेको अनुहार । भोक र प्यासले कलेटी
परेका ओँठ । खुट्टामा एक जोर तुना वाला चप्पल । मैलो बनेको खैरो टि-सर्ट ।
खुचमुचिएको निलो फर्मल पाईन्ट ।पछाडी बोकेको सुर्के झोला । झोला भित्र
आमाले हाल्दिएको एक डब्बा घीउ र एक पोका गुन्द्रुक । मान्छेहरुको भिडमा
एक्लो निसास्सिएको थियो ।
म भिडमा खोज्दै उसको छेउँमा पुगेँ । मलाई
परबाट देख्यो । उसका आँखा तनक्क तन्किए । कलेटी परेका ओँठ फिरिरिर गर्दै
काँपे । निदारमा खुशीका रेखा दौडिए । नजिक आएर सुस्तरि फुस्फुसायो,”कत्ती
ढिला गरेको” ? उसको यो गाउँ छोडेर काठमांण्डौ छिरेको पहिलो दिन थियो ।ऊ
अर्थात ‘मेरो भाई’ ।
त्यतिखेर म ‘छ’ बर्षको थिएँ । हजुरबुवाले कालो
दलेर बनाईदिएको ‘काठको पाटी’ र खोलामा गाई चराउँन जाँदा खोजेर ल्याईदिएको
खैरो लेख्ने ‘खरी’ बोकेर स्कुल जान थालेको थिएँ । नजिकै भए पनि स्कुल
पुग्न पुरै जँगलको बाटो हिड्नु पर्थ्यो । बिचमा एउटा सानो खोला पर्थ्यो
“ढाँण खोला” । गाउँ सानो थियो । स्कुल जाने साथी पाउन मुस्किल थियो ।
बैसाख-जेठको समय थियो । उराठ लाग्दा थिए दिनहरु । स्कुल जाने कोही नहुँदा
केहि दिनदेखी घरमै बसेको थिएँ । हजुर बुवासँगै उहाँको लौरो समातेर गाई
चराउन तल खोलामा जान्थेँ । साँझ काले गोरुको पुच्छर समातेर घर फर्किन्थेँ ।
स्कुल जान नपरेकोमा म खुशी थिएँ । स्कुलमा कहिले काहिँ मास्टरको लठ्ठी
बर्सिन्थ्यो । त्यसबाट मुक्ती पाएको थिएँ ।
साँझपख केटाकेटी
जम्मा भएर भिरालो चौरमा गाडा खेल्थ्यौँ । बाँसका आँखा (आंख्ला) काटेर
गाडाको पाङ्ग्रा बनाएका थियौँ । गिठीको बोक्रा टोकेर चिप्लो भएपछी
पाङ्ग्रोमा डिजेल भन्दै लगाउथ्यौ । गाडालाई काँधमा बोकेर घर माथि डाँडोमा
पुर्यायो । अनि डाँडो बाटै सुरु हुन्थ्यो हाम्रो गाडा यात्रा । कहिले
ओरालोमा झर्दै गर्दा गाडा बत्तिएर कता जान्थ्यो तर आफू भने उछिट्टिएर दुई
काल्ना तल पुगिन्थ्यो। कहिले ऐँसेलुको झाडीबाट दुम्सी जस्तो निस्किनु
पर्थ्यो । कहिले मुन्टिँदै गाडा भन्दा पैले गन्तव्यमा पुगिन्थ्यो । भुँईमा
घिस्रीदा जाँगेको पछाडी च्यातिएर दुईओटा आँखा बन्थे । साँझपख लामखुट्टे पनि
खोजी खोजी त्यहिँ ठाँउमा टोक्थे । कस्ता मापाका हुन कुन्नी सरम नै नभाका ।
मेरो दैनिकीले सबैभन्दा धेरै आमालाई दु:खी बनाएको थियो । मेरो पढाई
नभएकोमा आमा सधै चिन्तित हुनुहुन्थ्यो । एकदिन आमाले जुक्ती लगाउनु भो,
काँधमा फित्ता बाँध्न मिल्ने जाँघे ( हाफ पाईन्ट) लगाईदिनु भो । दिउँसो
खानको लागी झोलामा सातुको सानो कुटुरो हाल्दिनु भो । अनि म सँगै मेरो सानो
भाईलाई पनि स्कुल पठाउनु भो ।
स्कुल पुग्न आधा घन्टा लाग्थ्यो ।
हामी बिहानै आठ बजे एक अर्काको हात समातेर स्कुल हिड्यौँ । जंङ्गलको बाटो ।
बाटो भरी काफल र ऐँसेलुका बोट थिए । लछप्पै पाकेका ।
हामीलाई
स्कुल जानुको महत्व थिएन । भुईँमा खसेका काफल टिप्न र जम्मा गर्न लाग्यौँ ।
मैले हजुरबुवाले लगाउने गरेको ढाकाको टोपी कान छोप्ने गरी लगाएको थिएँ ।
हामी त्यहिं ढाकाको टोपिमा काफल जम्मा पार्यौँ । खोलाको किनारमा पुग्दा घाम
टाउको माथी आईपुगेको थियो । भाईलाई तिर्खा लागेछ । पानी पिउँछु भन्न
थाल्यो । मैले खोलाको किनारबाट जलुकाको पात टिपेँ र पानी जम्मा गरेँ ।
भाईले र मैले पानी पियौँ । खोला पारी पिपलको बोट थियो । बोटको फेँदमा बसेर
आमाले हाल्दिएको सातु खान लाग्यौ ।
स्कुल पुग्दा कती बजेको थियो
पत्तो भएन । सबै कक्षा भित्र बसेर चिच्चाई चिच्चाई पाठ घोँक्दै थिए । हामी
सुटुक्क कक्षा कोठामा छिर्यौं र अन्तिम बेन्चमा गएर बस्योँ। मैले खरी र
पाटी निकालेँ । भाई, म सँग आडेस लाएर टुसुक्क बस्यो ।
गर्मीको बेला
त्यसमाथी हिँडाईले थाकेकोले होला भाई लल्याक-लुलुक भयो । लामो हाई काड्यो र
बेन्चमै भुसुक्कै निदायो । अन्तिम बेन्च थियो । बेन्चमा उ र म एक्लो थियौँ
। मैले उसलाई बेन्चमै सुताईदिएँ ।
दिउँसोको हाफ छुट्टी भयो ।
केटाकेटीहरु खेल्न लागे, कोही खाजा खान। कोलाहलले गर्दा उ ब्यूँझियो ।
खानको लागी हामीसँग खाजा थिएन । बिहान बाटोमै सकिएको थियो । उ भोकले
पिलिपिली गर्न लाग्यो । मैले गर्न सक्ने केहि थिएन । भोकले मलाई पनि सताएको
थियो । पाटी झोलामा हालेँ । उसको हात समाएँ र कसैले थाहा नपाउने गरी
लुसुक्क घर तिर लागेँ ।
हामी फेरी खोलामा आयौँ र पानीमा खेल्न लाग्यौ । खेल्दा भोक हरायो । प्यास मेटियो । फर्किँदै गर्दा केहि बेर मै हामी अघिँको काफलको बोटमुनी आईपुगेका थियौ ।
अघिं भन्दा धेरै काफल भुँई भरी थिए । भोक लागेको थियो । काफल टिप्दै खाँदै
गर्न लाग्यौ । हामिलाई होसै भएन, रुख भरी बाँदर भरिएको थियो त्यसैले भुईँ
भरी काफल खसेका थिए ।
हामी आफ्नै सुरमा काफल टिपेर खाँदै थियौँ । अचानक बाँदर कराउन लागे । अनि मात्रै थाहा पायौँ हामी बाँदरले घेरिएका थियौँ ।
भाई रुन थाल्यो । बाँदर हामिलाई जिस्काउन लागे । डर लाग्यो । म पनि
जोड-जोडले रुन र चिच्चाउन लागेँ । भाई मलाई समातेर आँखा बन्द गरेको थियो ।
मैले उसलाई समातेर आँखा बन्द गरेँ । चिच्चाई-चिच्चाई रुँदा घाँटी बन्द भयो ।
हामी भुईँमा थुचुक्क बस्योँ ।
धेरै बेर आँखा बन्द गरेरै
चिच्चाइरह्यौँ । केहि बेर पछी आँखा खोलेर हेरेँ । बाँदर वरिपरी थिए । हामी
रुँदै काल्नोमा आडेस लगाएर बस्योँ । एक छिन पछी बाँदर कराउन छोडे । यसो
हेरेको त बाँदर हामीलाई घेरेर टसा-टुसुक्क बसेका थिए । उनिहरु सबै भुईंमा
झरेका काफल खाँदै थिए । त्यो माहोलमा हामी पनि दुईओटा बाँदरका पाठा जस्ता
भएका थियौँ ।
हामी रोएको पारी गाउँ सम्म सुनिएछ। गाउँलेहरु बाँदर
भगाउँदै आईपुगे । उनिहरुले हामिलाई पर बाँदर नभएको ठाउँमा लगेर छोडिदिए ।
बाटोभरी हामी केहि बोलेनौँ । हावाले बाटोमा पात सर्याक – सुरुक पार्दा पनि
डरले कान दुम्म हुन्थे ।
बाटोमा अर्को स्कुलबाट फर्किने
विद्यार्थीहरु आईपुगे । हाम्रो घर हुँदै जान्थे । उनिहरुले पनि हामी
बाँदरले घेरिएको थाहा पाए । हामी पुग्नु भन्दा पहिले नै खवर घरमा पुगेछ ।
आमा मेवाको फेँदमा आडेस लागाएर हामी आउने बाटो हेर्दै हुनुहुन्थ्यो ।
आमालाई देखे पछी झन चिच्चाई-चिच्चाई रुन आयो । आमाले दुबैलाई दुईतिर राख्नु
भो अनि टाउको मुसार्नु भो । खै अघिको डर कता हरायो पत्तै भएन ।
बुवा जागिरको लागी बाहिर हुनुहुथ्यो । केहि समय पछी आमालाई पनि बोलाउनु भयो
। आमासँग भाई पनि जाने भो । म हजुरबुवा- हजुरआमा सँग बस्ने भएँ ।
त्यसपछी म एक्लो भएँ । साथमा स्कुल जाने मान्छे छुट्यो । टोपिमा काफल
टिपेर खाने साथी हरायो । स्कुलबाट भागेर खोलामा माछा छोप्ने मान्छे टाढा
गयो । अझ बाँदरले घेर्दा साथमा रुने मान्छे हरायो ।
दिन बिते,महिना
बिते, बर्ष बिते । एक दिन स्कुलबाट घर फर्किँदा दलानको खोपिमा मेरो नाममा
एउटा चिठ्ठी देखेँ । खोलेर पढेँ । किरिङ्ग-मिरिङ्ग अक्षरमा लेखिएको थियो,”
दादा ! म ठूलो मान्छे भएँ । आफैले यो चिठी लेखेको । आमा र बुवा सन्चै
हुनुहुन्छ । आज भोली बाँदरले एक्लै लघार्छ होला है ? मलाई काफल टिपेर
राख्दिनु । म चाँडै खान आउने छु ।”
मन डक्क फुलेर आयो । हिँक्का
छोडेर रोउँ-रोउँ लाग्यो । कापी कलम निकालेँ र उसलाई जवाफ लेखेँ , ” तिमी
अझै ठूलो मान्छे बन्नु । दाईको आशिर्वाद सधै भरि ” !
प्रवेश आचार्य
दिल्लि, सिए फाईनल
www.acharyapravesh.com.np
http://www.facebook.com/pravesh.acharya1
प्रतिक्रिया दिनुहोस्