विद्यार्थीलाई दिइने आइटी तालिममा आइक्यान अध्यक्षको ठाडो निर्देशनमा अनियमितता भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेका आइक्यान अध्यक्षलाई कारवाहीको अन्तिम तयारी भइरहेको जानकारी सिए सरोकारलाई प्राप्त भएको छ । अख्तियारमा परेको उजुरी अख्तियारले अर्थ मन्त्रालय पठाएको थियो भने अर्थ मन्त्रालयले आइक्यानलाई पत्र काट्दै के कसो भएको हो जानकारी सहित स्पष्टिकरण दिन पत्राचार गरेको थियो ।
आइक्यानमा बन्यो छानविन समिति
आइक्यानमा यस्तो पत्र आएपछि आइक्यानमा यो प्रकरणमा केकसो भएको हो भनी छानविन गर्न एक समिति बनेको छ । आइक्यान अध्यक्षकै अध्यक्षतामा बसेको बैठकले उक्त समिति बनाएको हो । उक्त समितिले सत्यतथ्य पत्ता लगाई आइक्यान र अर्थमन्त्रालयमा यस बिषयमा जानकारी गराउने बुझिएको छ । तर चौतर्फी दवाव परेकाले र आइक्यान अध्यक्षले अनियमितता गरेको स्पष्ट देखिएकाले आइक्यान अध्यक्षलाई कारवाही गर्ने लाइनमै समितिको निर्णय आउने सम्भावना रहेको आइक्यान स्रोत बताउँछ ।
यस प्रकरणमा आइक्यानका उपाध्यक्ष महेश खनाल लगायतका केहि सिएहरु अध्यक्ष लम्शाललाई बचाउने लाइनमा भएको भएपनि यो भ्रष्टाचार प्रकरणमा आइक्यान अध्यक्षलाई बचाए महेश खनालको आगामी कार्यकाललाई नैतिक असहयोग गर्ने चेतावनी केहि काउन्सिल सदस्यहरुले दिएपछि आइक्यानमा बनेको उक्त समितिलाई झन् दवाव परेको बुझिएको छ ।
के आइक्यानका कार्यकारी निर्देशक पनि फस्लान ?
यो प्रकरणमा आइक्यान अध्यक्ष दोषी ठहरिएको खण्डमा उनीमाथि अदालतमा आरोप पत्र दायर हुने र यस्तो भएको खण्डमा उनको समय सकिन लागेको कार्यकाल समेत धरापमा पर्ने हुनाले यो सबै कुराको दोष आइक्यानका कार्यकारी निर्देशक बिनय प्रकाश श्रेष्ठलाई थुपारेर आइक्यान अध्यक्ष यसबाट उन्मुक्ति पाउने दाउमा छन् । उनले समितिका विभिन्न सदश्यहरुलाई समेत यहि बिषयमा परामर्श गरीरहेको स्रोतको दावी छ ।
लम्षालको राजनीतिक लाविङ भयो फेल
आफु विरुद्ध अख्तियारमा उजुरी परेपछि आइक्यान अध्यक्ष प्रकाश लम्षालले आफु निकट राजनीतिक पार्टीमा समेत अख्तियारमा परेको उक्त उजुरीलाई रोक्न लविङ गरेका थिए । तर उक्त उजुरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अर्थ मन्त्रालयमा पठाएपछी अर्थमन्त्रालयले आइक्यानलाई पत्र काटेको थियो । अन्तत: पत्र आइक्यानमा आएपछि यस बिषयमा सत्य तथ्य पत्ता लगाउन एक समिति बनेको छ भने उक्त समितिले अध्यक्षलाई कारवाहीको सिफारिस गर्ने तयारी गरीरहेको बुझिएको छ । सुरुमा उक्त समितिमा रहेका अधिकांस सिएले लम्षाललाई कारवाही गर्न नहुने मनसाय राखेको भएपनि पछी आउन सक्ने चुनौती र सार्वजनिक खरिद ऐन विपरीत कार्य भएको स्पष्ट देखेपछि आइक्यान अध्यक्षलाई कारवाही गर्ने लाइनमा समिति पुगेको बुझिएको छ ।
लम्षालको हारगुहार
कुनै पनि तरिकाले आफु फस्ने भएपछि आइक्यान अध्यक्ष प्रकाश लम्षालले आफुलाई जोगाउन आइक्यानका केहि पूर्व अध्यक्ष, छानविन समितिका सदश्य, अर्थ मन्त्रालयमा आफु निकटका केहि र राजनीतिक व्यक्तित्वहरुलाई हारगुहार गरेका छन् । आइक्यानको इतिहासमै पहिलो पटक आइक्यान अध्यक्षलाई यस्तो कारवाही हुन लागेको भन्दै आफुलाई बचाउन उनले सम्बन्धित सबैलाई हार गुहार गरेका छन् ।
महेश खनाललाई अफ्ट्यारो
यो प्रकरणमा सबैभन्दा अफ्ट्यारो आइक्यानका उपाध्यक्ष महेश खनाललाई परेको छ । हालका आइक्यान अध्यक्ष प्रकाश लम्षालको ठुलो सहयोगमा चुनाव जितेका हुनाले पनि लम्षाललाई कारवाही गर्ने सिफारिस गर्ने नातिक बल उनीसँग छैन । तर लम्षाललाई कारवाहीको सिफारिस नगरी आफ्नो आगामी कार्यकाल असफल हुने निश्चित प्राय: भएपछि उनी तनावमा छन् । तर आफ्नो आगामी कार्यकाल जति नै असफल भएपनि आफ्ना गुरु समान, र चुनाव जिताउने सिए लम्षाललाई कुनै पनि हालतमा यो प्रकरणमा बचाउन उनी लागि परेको बुझिएको छ । यसो त समितिमा रहेका प्रकाश लम्षाल निकटका अधिकांस उनलाई बचाउने लाइनमा पुग्नुले महेश खनाललाई केहि सहजता भने हुनेछ ।
समितिले कारवाही नगरे सर्वोच्च जान्छु : उजुरीकर्ता
यस बिषयमा सिए सरोकारलाई आफुले आइक्यान अध्यक्षविरुद्ध अख्तियारमा उजुरी गरेको बताउने आइक्यानका एक कर्मचारीलाई आइक्यान अध्यक्षले गरेको अनियमितताबारे छानविन गर्न समिति बनेको र उक्त समितिलाई सकेसम्म कारवाहीको सिफारिस नगर्न महेश खनालले लवीङ गरेकोबारे सोध्दा उनले यस्तो भएको खण्डमा आफु सर्वोच्च जाने र त्यसको सम्पूर्ण तयारी गरीसकेको बताएका छन् । उनी अगाडी भन्छन्, ‘म आइक्यानको कर्मचारी भएकाले अगाडी बढ्न मिल्दैन । तर आइक्यान अध्यक्षलाई कारवाही नभएसम्म यो बिषयमा लडीरहन सम्पूर्ण तयारी गरिसकेको छु ।
आइटी कमिटिका अध्यक्ष भरत रिजाल भन्छन्, समितिले मलाइ बयान लियोस्
आइक्यानमा आइटी तालिमलाई लिएर अनियमितता भएको आरोप सहित अख्तियारमा उजुरी परेको थियो । यस बिषयमा आइटी समितिका अध्यक्ष भरत रिजाललाई सोध्दा उनी भन्छन्, ‘अनियमितता भएको हो वा होइन भन्ने समितिको प्रतिवेदन आउन बाँकी छ । तर यस बिषयमा मलाइ बयान लियोस् समितिले । म भएको कुरा सबै स्पष्ट बताईदिन्छु । आइटी समितिको अध्यक्ष भएको नाताले यो प्रक्रियागत कुरा मलाइ थाहा छ । आरोपित आइक्यान अध्यक्ष र उनी निकट कहिले काम पाउने संस्थाका बारेमा मलाइ जोडेर सम्म टिप्पणी गर्नुभएको छ । दुधको दुध, पानीको पानी छानविन समितिले छुट्टयाओस् भन्ने मेरो आशा छ ।
अव के हुन्छ ?
आइक्यानमा बढेको यो प्रक्रियासँगै केहि सम्भावित घटनाहरु देखिएका छन् । समितिले आइक्यान अध्यक्षलाई कारवाहीको अन्तिम सिफारिस गरेको खण्डमा आइक्यान अध्यक्षले नैतिकताको आधारमा राजीनामा दिन सक्ने सम्भावना छ । तर यो विषयलाई असार अन्तिमसम्म लम्ब्याएर नयाँ नेतृत्वलाई कार्यभार सुम्पिदै उनी अगाडी बढ्ने सोचमा रहेको हुन सक्ने स्रोतको भनाइ छ ।
आइक्यानमा गठन भएको समितिले अध्यक्ष लम्षाललाई कारवाहीको सिफारिस नगरे महेश खनाललाई आगामी दिनमा आइक्यानमा अन्य काउन्सिल सदस्यले नैतिक असहयोग गर्ने बताएका बेला यो प्रकरण महेश खनाललाई पनि भारी हुने देखिएको छ । महेश खनालकै सक्रियतामा आइक्यान अध्यक्ष प्रकाश लम्षाललाई कारवाही नगरे सर्वसम्मत रुपमा महेश खनाललाई अध्यक्ष हुन नदिने गरी अध्यक्षको अर्को उमेद्वार उठाउने पनि आइक्यान भित्रकै केहि काउन्सिल सदस्यको तयारी रहेको बुझिएको छ ।
यता प्रकाश लम्षाललाई कारवाही नगरे सर्वोच्च जाने तयारीमा उजुरीकर्ता छन् । यसले पनि समितिले आइक्यान अध्यक्षलाई बचाएको खण्डमा यो प्रकरण अझ माथि जाने र महेश खनालको कार्यकाल पनि प्रभावित हुने देखिएको छ ।
प्रतिक्रिया दिनुहोस्