Skip to content

‘मुहान’, सिए विद्यार्थी दीपेन्द्र उपाध्यायको कविता



शीर्षक : मुहान

उहिले उहिले दरबारका
राजकुमारहरु आउथे
कहिले राजकुमारीहरु आउथे
कैले गाउँका षोडसीहरु
अनि पछि पछि लुक्दैछिप्दै
अल्लारे ठिटाहरु आउथे
भरिया दाइले भारी बिसाएर आउथे
गोठालो जादा गोठालेहरु आउथे
कहिले अमीर आउथे
कहिले गरीब आउथे
अनेक बटुवाहरु आउथे
सबैको म स्वागत गर्थे
आउथे, पानी पिउथे
मैले उनीहरुलाई पानी पिलाउथे
उनीहरु आफ्नो प्यास मेटिएकोमा खुसी हुन्थे
म उनीहरुको प्यास मेटिएकोमा खुसी हुन्थे
हो, म कहिल्यै नसुक्ने सदाबहार
अविरल मुहान हूँ ||

जमाना बदलिएको छ
अहिले पनि आउछन्
यस्तै यस्तै आउछन्
पहिले पानी पिएको पियै गर्छन्
मैले पनि पिलाइरहन्छु
अफसोच ! यिनीहरु अतृप्त प्यास
लिएर आउछन्
कहिल्यै तृप्त हुदैनन्
अनि ममाथि अत्याचार गर्न खोज्दैछन्
सायद म नरित्तिएकोले होला
सायद मेरो शीतल स्वभाव देखेर होला
हो,
म बोल्न सक्दैन
बिन्ति छ,
मेरो आवाज बनेर बोलिदेऊ
मलाई चिच्याएर भन्न मन छ –
“यहाँ हग्न मनाही छ”
“यहाँ हग्न मनाही छ” |

-दीपेन्द्र उपाध्याय

प्रतिक्रिया दिनुहोस्