Skip to content

सोध्न नसकेको प्रश्न…

घरनजिकैको चौतारामा भाँडाकुटी खेल्दाको समयलाई बेवास्ता गर्दा,
त्यसपछिका सामान्य मित्रतालाई मात्रै बुझ्न सक्ने कलिलो मस्तिस्कले
डोर्याएका केही वर्षलाई हिसाब नगर्दा -नगर्दै पनि झन्डै एक दशक बिताइसकेका
थिए हामीबिचका पलहरुले। स्कुल केही पर नै थियो, घरभन्दा त्यस्तै दस मिनेटको
पैदल दुरिमा। दस बजे सुरु हुने स्कुल पुग्न नौ बज्नु अगाडि नै खाना खाइवरी
लुगा लगाएर तयार भैसकेको हुन्थेँ म। मेरो घर अगाडि आएर टुङ्गिने गल्लीतिर
हेर्दै झन्डै एक घण्टा बिताउँदा सधैं एक किसिमको छट्पट्टिले पोलेकै
हुन्थ्यो। घरमा बुबा-आमाले जत्ती भन्दा पनि मेरो दैनिकीमा कहिल्यै परिवर्तन
आउन दिइँन मैले, सिकिस्त बिमारीका केही दिन र छुट्टीका दिनहरुमा बाहेक।
साथीहरुसँग बोल्दा वा खेल्दा पनि अचानक आँखा कता -कताबाट उनीतिरै पुग्ने
गरेको उनलाई थाहा भै सक्नुपर्ने अनुमान थियो मेरो। कहिलेकाहिँ निस्किने
जीवनसाथीसम्वन्धी प्रसङ्गका बेलाको मेरो मनोदशा बुझिदिए हुन्थ्यो भन्ने त
लाग्थ्यो नै। अन्तर्मुखी स्वभावले गाँजेका मेरा अभिव्यक्तिहरुले के
दर्शाइरहेका छन् भनेर बुझ्ने फुर्सद त कसलाई हुँदो हो र! म आफैँ अघि सरेर
अभिव्यक्त गर्न भने साह्रै गाह्रो भईरहेको थियो मलाई। छुट्टीपछीको दस मिनेट
फुर्सदले गफिँदै घर जाँदाको मिठो अनुभवलाई दशकौंको निरन्तरताले कती प्रगाढ
बनाइसकेछ, आज पनि म त्यही बाटो हिँड्दा दायाँ- बायाँ हेर्ने गर्छु,पुरानो
झझल्कोसहित।
एसएलसी परिक्षा सकियो, फुर्सदमा घुम्न नजिकका ठाउँहरु बाँकी राखिएन।
जाँदा उनी, उनकी मिल्ने साथी पल्पसा, म र मेरो नजिकको साथी पवन सँगै
जान्थ्यौँ। अर्को एक जना साथी ब्रजेश पनि मिसिएको हुन्थ्यो बेला -बेलामा।
घर त ब्रजेश र मेरो सँगै हो, तर म पवनसँग नजिकिएको थिएँ।
घुम्न जाँदा, मन्दिर, गुम्बा अनि यस्तै ठाउँ गइन्थ्यो। कृष्ण मन्दिरमा
पस्दा त मिरा नाम नछुट्नु अस्वाभाविक भएन नै, अरु मन्दिरका घण्टि बजाउँदा
अनि गुम्बाहरुमा माने घुमाउँदा निस्किने आवाजमा समेत उनको नाम मिसिएर आएको
पाउँथेँ म। कतै -कतै जोडीका नामहरु सँगै राखेर लेखेको पाउँदा केहीबेर
हेर्थेँ अनि सम्झिन्थेँ म आँफैलाई, अनि सँगै उनलाई पनी। पवन सँगै भएका
बेलामा हामी असल श्रोतामा परिवर्तित हुन्थ्यौँ। बेला -बेलामा कुरालाई
तोड-मोड गर्ने काम भने मेरो हुन्थ्यो। उसको च्याटरबक्स स्वभावले गर्दा
कुराकानी गर्दै गर्दा सबभन्दा बढी घोच-पेच ऊतिरै सोझिन्थे। मिरालाई त्यसरी
भनेको भने मलाई उति मन पर्दैनथ्यो।

घुम्न जाँदा कहिलेकाहीं ब्रजेश मिसिएका बेलामा ऊ धेरैजसो आध्यात्मिकजस्तै
कुरा गर्ने गर्थ्यो, त्यस बेलामा उनी र म भएर उसलाई खुब जिस्काउँथ्यौँ,
जोगीजस्तो कुरा भन्दै। उसको कुरा मलाई जत्तिको झिंझो त अरु कसलाई पो
लाग्थ्यो होला, तर पनि उसलाई गाली गर्दा उनको र मेरो कुरा मिल्न जाने हुँदा
ब्रजेशको साथको महत्व छुट्टै हुन्थ्यो। नतिजा प्रकाशनको मिति नजिकिँदै
जाँदा ध्रुविकरण बढ्न थाल्यो, पवन ओभरसियर अनि साइन्सका लागि कहिले अर्कै
साथीसंग त कहिले मलाई लिएर कलेज बुझ्न लाग्यो। ब्रजेश त साइन्समै अडिएको
थियो, इन्जिनियरिंगको सपनामा। मिरा र पल्पसा भने साइन्सको झमेला
नव्यहोर्ने। म परें फसादमा। साइन्स पढ्न पनि मन लाग्ने तर मिरासंग छुट्टिने
कसरि? फेरी ब्रजेश र पवन नपढेपछी कमर्स पनि के पढाई भयो र?
अन्तिममा पवन र म मिलेर होटल म्यानेजमेन्ट पढ्ने निधो गर्यौं। ब्रजेश
एक्लै लाग्यो, साइन्सतिरै। राम्रै अंक ल्याएर पास भइयो सबैजना, अनि थालियो
होटल म्यानेजमेन्टको पढाई। प्लस टुको पुस्ता, केहि न केहि उपद्रो नगरिकन
बसिन्थेन, कमेन्ट गर्थे पल्पसा र मिरा। एकदिन म्याक्रो- इकोनोमिक्स पढाउने
रबिन सरको अल्छिलाग्दो कक्षामा अन्तिमतिर बसेर ‘नाम, थर, खाना…’ खेल्दै
गर्दा सर पछाडी हामी भएतिर  आएर भने,- “पढ्न मन नभए टि-टी खेल्न जाओ बरु!”
सरको प्रतिक्रिया सकिन नपाउँदैमा हामी ढोकानिर पुगीसकेका थियौं। सोझा अनि
नरम मिजासका रबिन सर अक्क न बक्क परेर हेर्दै थिए।
ढोकातिर मोडीँदै गर्दा
बिस्तारै पछाडि फर्केर हेर्दा मिराको अनुहारमा अलिअलि रिस त पक्कै महसुस
गरियो, तर फर्केरै जान भने मेरो पुरुषत्वले दिएन। आधा घण्टापछी रबिन सर
टिटि कोर्टछेउ आएर भने, -“ क्लास सकियो, अब भित्र गए हुन्छ।“ पवन
च्याँट्ठिईहाल्यो, -“यो म्याचपछी जाने सर।“
बिहानको कलेज थियो, एघार बजे छुट्टी भयो। पवनको त घर र कलेज संगै भन्दा
पनि हुन्छ। म निस्कन लागें मिरा र पल्पसासँगै। त्यसभन्दा अगाडी नै पल्पसाले
भनी, -“महाशय अब घर जाने हो कि?” म केहि पनि नबोलिकन लागेँ उनीहरुकै
पछिपछि। बाटोमा म मौनता बाँध्दै हिंडिरहेको थिएँ, पल्पसाले उप्काई कुरा,
-“त्यस्तो व्यवहार गर्छन् सरसंग? बिचरा सर केहि बोल्नै सक्नुभएन!” मिराले
सहि थापेको सुनेँ, -“कुन्नी!” म अलि बिन्दास बन्न खोजेँ, -“जा भनिसकेपछि के
गर्नु त!” अलि रिसाएको भाव देखाउँदै पल्पसाले भनि, -“सरी भनेर बस्या” भए
हुन्थेन ?” अनि मिराको पनि रिस पोखियो, -“हिरो नि ऊ त !” मैले हाँसो थाम्ने
कोसिस नगरिकन भन्न थालेँ, -“अब थ्योरि सब्जेक्ट, त्यो पनि म्याक्रो-
इकोनोमिक्स! जत्ति पढे पनि भेजामा अडिने हैन…. बरु पछी एक्जाममा सरर हेर्दा
सब कण्ठ हुन्छ। अहिले त टिटी खेलेकै राम्रो! एक्सरसाइज र इन्टरटेन्मेंट
दुइटै!”
बेला बेलामा मैले उनको नोट लिने क्रम चल्दै थियो। केहि पढ्न वा सार्न
भन्दा पनि नोट लिनुको ध्येय हुन्थ्यो कम्युनिकेसन बढाउनु। नोट ल्याएपछि
एक-दुइ दिन होइन एक हप्तासम्म दिन्नथें, केहि न केहि बहाना बनाएर। त्यसपछि
माग्न थाल्नु स्वाभाविक थियो, माग्न थालेको भोलिपल्ट वा पर्सिपल्ट बल्ल
लगिदिन्थें। घरमै आएर लैजाने काम भने भएन। बेला बेलामा ब्रजेश आउंथ्यो
मेरोमा, मिरा र पल्पसासँग गफ गर्न जाऊँ भन्दै। अनि गइन्थ्यो, दिउँसो
कलेजबाट संगै आएर फेरी त्यै साँझ भेट्न भनेर।  म एक्लै भने त्यसरि गइनँ।
समयक्रम चल्दै थियो। हप्तामा एक दिनजस्तो बङ्क हान्नु खासै नौलो कुरो
थिएन। धेरैजसो पवनले ल्याउँथ्यो यस्ता प्लानहरु, मैले पनि बेला-बेलामा
ल्याउन छाड्दैनथेँ। पवनले प्लान ल्याएका बेलामा मैले र मैले ल्याएको बेलामा
पवनले उनीहरुलाई मनाउने गर्थ्यौँ। वरिपरिका हलहरुमा पालैपालो फिल्म हेर्ने
बानी थियो हाम्रो। यस्तै क्रममा एक दिन टिफिन टाइममा क्यान्टिनमा बस्दै
गर्दा मिराको आश्चर्यसूचक स्वर सुनियो, -“आज लास्ट पिरियड नहुने रे है!”
मैले व्यंग्यात्मक पारामा हाँस्दै सोधिदिएँ, -“हो र?”
त्यो कुरा भर्खरै हामी सँगै हुँदा कसैले सुनाएको थियो। त्यसैले त्यत्ति
आश्चर्य मानेर सुनाउनुपर्ने कुरा मैले केहि देखिन। तर खास कुरो अर्कै रहेछ
भन्ने कुरा अर्को पटक मुख खुलेपछि मात्रै थाहा लाग्यो। केहि बेरपछी मिराको
प्रस्ताव आएको थियो, -“बडीगार्ड हेर्न जाम् न।“
असहमति जनाउनका लागि को नै थियौँ र हामी! बाहिर निस्कन अनि बंक गर्न
साह्रै मन गर्ने पवन, फिल्म हेर्न मन गर्ने म, अनि मिराले बोलेपछि नाइँ
नभन्ने पल्पसा, यत्ति त थियौं। अब कसले पारित गरिरहनु पर्यो र! भर्खरै
रिलिज भएको सलमान खानको फिल्म, भिड छिचोल्दै लिइयो टिकट अनि पसियो हलमा।
फेरी मुड न हो, मैले बिचमै मोबाइल झिकेर फेसबुक चलाउन थालेँ। न्युजफिडमा
देखियो, -‘काठमांडूका हलहरुमा छापा, कलेज बंक गर्नेहरु निसानामा!’ झस्किएँ म
त। र,तुरुन्तै देखाएँ उनीहरुलाई। अब के गर्ने भन्नेर अलमल्लमा परेपछि मैले
भनेँ, -“आए आउँछ पुलिस। फिल्म सकियोस् अनि जे पर्छ, परोस्।“ सबैले अर्को
विकल्प नभएकैले त्यहि विकल्पमा सहि थापे। पल्पसा र मिराको अनुहार हेर्नलायक
भएको थियो त्यसबेला। पवन र म पनि चिने-जानेका सजिला मान्छे कोहि प्रहरीमा
छन्/छैनन् अनि उनीहरुसँग सम्पर्क सम्भव छ/छैन भन्नेतिर सोच्दैमा कुस्ती
खेल्दै संघर्षरत सलमान खानको आँखामा लागेको हिलोलाई पानीले पखालिदिइसकेछ!
कारण थाहा नभए पनि बाहिर निस्किँदा भने त्यस्तो केहि देखिएन, धन्न बचियो
भन्दै लाग्यौं घरतिर। अर्को हप्तादेखि भने नेपाल प्रहरीले राम्रै छापा
मार्न लागेको थाहा भयो। हामी चाहिँ त्यसपछि कहिल्यै गएनौँ। अँ… यसो भनौं न,
त्यसपछी बंक गर्ने हिम्मत नै जुटेन।
प्लस टु पनि सकियो। म नेपालमै बसेर पढाई अगाडी बढाउने सोचमा थिएँ। उनको तरखर भने  विदेशी शिक्षातिर…..अब भने मलाई ‘अभी नहीं तो कभी नहीं’ भने झैँ महसुस हुन लाग्यो। केहि समय
बेचैनीमै बितिसकेपछि एकदिन साँझ अलिकति हिम्मत जुटाएर रिचार्ज कार्ड किनेर
ल्याएँ।  घरमा एक्लै नै थिएँ, छतमा गएँ। र, छ/सात सय मिटरको दुरीमा रहेको
उनको घरतर्फ हेर्दै एकछिन सोचमग्न भएँ। अनि धड्कन बढ्न थाल्यो मोबाइलको
किप्याड टोन सँग –सँगै, नौ-आठ-चार-नौ… 
त्यसपछिका दिन राम्रै मिहिनेत गरियो। स्नातकपछी एउटा एनजीओमा काम सुरु
गरेँ। अहिले एउटा शाखाको उपप्रमुख बन्ने सुरमा छु। मैले जे गरेँ, त्यसमा
पछुतो मान्नुपर्ने कुनै कारण म देख्दिनँ। बेला-बेलामा साथीहरु अलि फुटकर
सुझाव दिन तम्सिन्छन्। हुन त अरुलाई त पत्तो नै कहाँ छ र! पवन र ब्रजेशलाइ
मात्रै हो। उनीहरुलाई पनि उसैले थाहा दिएकि हो, मलाई त थाहा दिने मन थिएन, न
त अहिले नै त्यस विषयमा बोल्न कुनै दिलचिस्पी छ। ति दुईमध्ये कुनै भेट भेट
भए भने सोध्न कमै छुटाउँछन्। म भने यसो-उसो कुरामा टारिदिन्छु। ब्रजेश खुब
बुज्रुक बन्छ बेला- बेलामा, तैंले मलाई पनि भनिनस् है! म फिस्स
हाँसिदिन्छु, मनमनै सोच्छु- “तेरो पालो आएछ भने भन्लास्!”
ऊ पनि विदेशबाट स्नातक सकेर आएकी छ। फेरी फर्कन्छे होली। राम्रै सुनिन्छ
हालखबर, बेला-मौकामा। फेसबुकमा कहिलेकाहीं ‘सि फ्रेन्डसिप’ हेर्न मन लाग्छ
अनायासै। केहीबेर कुराएर सर्भरले निकै पुराना, कागजी चलन हुँदो हो त
धमिराले खाइसक्नेजस्ता ‘वाल पोस्ट’ हरु देखाइदिन्छ।
आज त्यो दिनको पाँचौं वर्ष नाघ्दैछ र म त्यहि बाटो हिंडिरहेको छु, जुन
बाटो हामी दुई-जना हजारौं पटक सँग-सँगै हिंडेका थियौं। पवनको इन्गेजमेन्टको
पार्टीबाट सँगै निस्किएका थियौं हामी। तर मलाई थाहा छैन, उसलाई कुन बाटो
सहज लाग्दैछ यहि बेला। र त,ऊ अहिले यो साँझको बेलामा सबभन्दा छोटो बाटो
रोजेर हिंडिरहेको वर्षौंदेखिको चिनजानको साथिसँग हिँडीरहेकी छैन।
पार्टीमा सँगै देखादेख भयो, तर न ऊ बोल्न खोजेकी जस्तो पाएँ, न म आँफै
बोल्न सकें। दृष्टि-रेखा अकस्मात जुध्दा दुवैले आँखा झुकाईयो। मानौं कुनै
ठुलै अपराध गरिएको छ, भर्खरै। लाग्दैन मलाई कि मैले त्यो दिन प्रेम
-प्रस्ताव राखेर केहि अपराध गरेको छु। न त मलाई अब उसँगै जीवन जिउने कुनै
रहर बाँकी छ! सामान्य बोलीचाली पनि बन्द गरेकोमा गुनासो पनि अब त मेरो मनमा
कहीं- कतै बाँकी छैन। बाँकी छ त केवल सोध्न नसकेको एउटा प्रश्न छ, ‘के
प्रेम-प्रस्ताव सुनामी हो?’
(सिए विधार्थी भेषराज देवकोटाको कथा) 

प्रतिक्रिया दिनुहोस्